१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

उदयपुरगढीमा पुग्यो बिजुली

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरगढी गाउँपालिका–५ केउरेनीकी ७३ वर्षीया मनमाया सार्कीलाई गाउँमा बिजुली बल्दा औधी खुसी लागेको छ । सहरतिर जाँदा झलमल बलेको देखेकी उनलाई गाउँको अँध्यारोले छटपटी हुन्थ्यो । 

उदयपुरगढीमा पुग्यो बिजुली

‘मेरो जीवनकालमा केउरेनीमा बिजुली बल्छ होला भन्ने सोचेको पनि थिइनँ,’ मनमायाले सुनाइन् । यतिबेला ३२ हजारभन्दा बढी पालिकावासीले बिजुली बाल्न पाएपछि खुसी छन् । उदयपुरगढी गाउँपालिका जनसंख्याका आधारमा जिल्लाकै सबैभन्दा ठूलो पालिका हो । करिब ६ हजार ५ सय घरधुरी रहेको यहाँका ९८ प्रतिशत घरमा अहिले बिजुली बलिसकेको गाउँपालिका प्रमुख मनबहादुर केप्छाकी मगरले बताए । ‘बाँकी २ प्रतिशत घरधुरीमा पनि चाँडै नै विद्युत् विस्तारको योजना छ,’ उनले भने ।

खानेपानी र विद्युत्का हिसाबले उदयपुरगढी धेरै पछाडि परेको स्थानीय तह हो । धेरै वर्षदेखिको लामो प्रयासपछि विगत ६ महिनायता यहाँ विद्युत् विस्तार गरिएको छ । करिब ८८ करोड रुपैयाँ खर्चमा पालिकाभरि नै विद्युत् विस्तार गरिएको मगरले बताए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनअघिसम्म उदयपुरगढी गाउँपालिकामा बिजुली, सडक, खानेपानी, सञ्चार, स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा खासै काम हुन नसकेको स्थानीयले बताए । तर पछिल्लो करिब ५ वर्षमा विकासका पूर्वाधारका क्षेत्रमा यो गाउँपालिकाले नयाँ फड्को मारेको उनीहरू बताउँछन् । ‘विकास पूर्वाधार क्रमशः पूरा गर्दै लैजाने लक्ष्य राखिएको थियो,’ प्रमुख मगरले भने, त्यसैअनुरूप पहिलो प्राथमिकता विद्युत्लाई राखेर काम गरियो ।’

सामुदायिक विद्युतीकरण कार्यक्रममार्फत उदयपुरगढी गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने योजना राखिएको प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताए । भने, ‘बिजुलीको योजना सफल भएपछि अब खानेपानीको पनि समस्या क्रमशः समाधान हुन्छ ।’

यो गाउँपालिकामा भएको विद्युत् विस्तारको कार्य अन्य पहाडी गाउँपालिकाहरूका लागि समेत उदाहरणीय बन्ने देखिन्छ । विभिन्न योजनामा अपुरो बजेट विनियोजन गर्नुभन्दा पूरा र सम्पन्न हुने योजनामा बजेट विनियोजन गरी खर्च गरे यसबाट सर्वसाधारणले बढी लाभ लिन सक्ने निश्चित छ ।

प्रकाशित : चैत्र ५, २०७८ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?