कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनजंगलमा डढेलो महिनौंसम्म

आनन्द गौतम

ताप्लेजुङ — गत फागुन २६ को बिहानदेखि कञ्चनजंघा संरक्षण क्षेत्रको अम्जिलेसामा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । फक्ताङलुङ–६ लेलेपको बस्तीमा चार घर मात्रै थिए । तीमध्येको एउटा जलिसकेको छ । तीन वटा घर भने जोगिएका छन् । स्थानीय फुपु शेर्पाका अनुसार बिहीबार सुरु भएको डढेलो जंगलतिर फैलिएको छ । 

वनजंगलमा डढेलो महिनौंसम्म

‘कहिलेकाहीँ मत्थर हुन्छ, फेरि फैलिइहाल्छ,’ उनले भनिन्, ‘पानी नपरी निभ्ने सम्भावना पनि देख्तिन म ।’ स्थानीयले सेउलाले निभाएको आगो फेरि जाग्ने गरेको उनले सुनाइन् । ‘हावा चलेपछि फैलिइहाल्दोरहेछ,’ उनले टेलिफोनमा भनिन्, ‘एक ठाउँको आगो अर्को ठाउँ पुगेर पनि बलेको पाइयो ।’

मिक्वाखोला–१ खोक्लिङ कात्तिके सातपाखा सामुदायिक वनमा फागुन २९ देखि लागेको आगो पनि निभेको छैन । राति टाढाबाट पनि देखिने डढेलो दिउँसो जमिन तात्तिँदा ह्वारह्वारी दन्किने गर्छ । सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेका अनुसार मानवीय बस्तीबाट अग्निरेखा कोरेर जंगलतिर केन्द्रित गर्ने र निभाउने प्रयास भइरहेको छ । तलबाट माथितिर दन्किँदा नियन्त्रणमा लिन पनि कठिन भएको उनले सुनाए ।

अम्जिलेसा र सातपाखा मात्रै नभएर जिल्लाभरि नै डढेलो लागेको छ । जताततै लागेको डढेलोले आकाश पनि धूवाँमय देखिन्छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ललितकुमार यादव खोक्लिङबाहेकको डढेलोबारे कार्यालयमा जानकारी नआएको बताउँछन् । ‘कञ्चनजंघा संरक्षण क्षेत्रमा लागेको डढेलोको जानकारी हामीकहाँ आउँदैन,’ उनले भने, ‘त्यो बाहिरको जानकारी खासै आएको छैन ।’ कार्यालयको तथ्यांकअनुसार गत वर्ष पाथीभरा क्षेत्रको सिम्बु र सुनपाती सामुदायिक वनमा १ सय १६ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । योबाहेक पाथीभरा याङवरकको त्रिवेणी र खैरेनी सामुदायिक वनमा ४४ हेक्टरमा आगलागी भएको थियो ।

जानीजानी ६० र अञ्जानमा ४० प्रतिशतले आगो लगाउने गरेको यादव बताउँछन् । ‘घाँसका लागि पनि लगाउँछन्,’ उनले भने, ‘सिकार खेल्ने, चोरी निकासी गर्ने र कसैले केही अपराध गरेको भए यसलाई लुकाउनका लागि पनि डढेलो लगाउने गरेको पाइयो ।’ गत वर्ष पाथीभरामा भएको आगलागीको पनि खास कारण अहिलेसम्म नखुलेको उनले बताए । बाली लगाउने यो समयमा खेतबारी खनजोत गर्नुअघि झ्यास जलाउने क्रममा पनि आगलागी हुन्छ ।

प्रकाशित : चैत्र ३, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?