कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरेमा रोकिएन अनधिकृत उत्खनन

ढुंगा, गिट्टी र बालुवाका लागि नेपाल–भारत दुवैतर्फबाट अनधिकृत उत्खनन 
पर्वत पाेर्तेल

बाहुनडाँगी, झापा — वातावरणीय दृष्टिकोणले उत्खनन गर्नै नमिल्ने झापाको सुदूरपूर्वी चुरे क्षेत्रमा दोहोरो उत्खनन भइरहेको पाइएको छ । यो चुरे क्षेत्रमा नेपाल र भारत दुवै देशले चरम दोहन गरिरहेका हुन् । वर्षौंदेखि ढुंगा, गिट्टी र बालुवा उत्खनन जारी रहँदा सम्बद्ध निकाय भने मौन छ ।

‘निषेधित चुरे क्षेत्रबाट दुवै देशले चरम दोहन गरिरहेको पाइयो,’ मेचीनगरका नगर प्रमुख विमल आचार्यले भने, ‘दोहोरो दोहनले चुरे तहसनहसको अवस्थामा पुगेको पाइयो ।’ नगर प्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीसहितको टोलीले सोमबार सीमा र आसपास क्षेत्रमा भइरहेका विभिन्न गतिविधि अनुगमन गरेको थियो ।

राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास बोर्डका अनुसार १ लाख ६० हजार ६ सय हेक्टर क्षेत्रमध्ये १९ हजार १ सय २४.६ हेक्टर जमिन चुरेमा पर्छ । चुरे क्षेत्रमा करिब १ लाख ६९ हजार ९ सय ९ जनाको बसोबास छ । मेचीनगर क्षेत्रमा ६ हजार ७ सय ६ दशमलव ६ हेक्टर जमिन चुरेमा पर्छ । बुद्धशान्तिमा ५ सय ५ दशमलव ३ हेक्टर, कन्काईमा २ हजार ३ सय ५७.९ हेक्टर, अर्जुनधारामा ४ हजार ८ सय २.५ र शिवसताक्षीमा १ हजार २ सय ९२.९ हेक्टर क्षेत्र चुरेमा छ ।

चुरेमा नदीजन्य पदार्थ उत्खननमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । तर यी सबै क्षेत्रमा स्थानीय तहकै मिलेमतोमा उत्खनन भइरहेको पाइएको छ । बोर्डका अनुसार वातावरणीय दृष्टिकोणले उपल्लो तटीय क्षेत्र (चुरे) क्षेत्रको विनाशले तल्लो तटीय क्षेत्र (तराई, मधेस) प्रत्यक्ष प्रभाव पार्छ । यी दुवै क्षेत्रहरू अन्तरसम्बन्धित रहेकाले एकीकृत रूपमा व्यवस्थापन गर्न जरुरी रहेको बोर्डले जनाएको छ । सरकारले २०७१ असार २ मा चुरे क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरेको थियो ।

कतिपय ठाउँमा नदीको स्थायी ‘सिभर बेड’ अर्थात् गर्भ नै खलबल्याउने गरी दोहन भएको पाइएको छ । यो वातावरणीय दृष्टिकोणबाट गलत हो । नदीमा थुप्रिएको नयाँ गिट्टी, बालुवा झिक्ने र पुराना बचाएर राख्नुपर्ने हुन्छ । तर, गहिरो खाल्डो बनाएर नदी दोहन भएको पाइएको छ । जसले बर्खामा कटान, भूक्षय र पानीको स्रोत सुक्न सक्ने अधिकतम जोखिम देखिन्छ ।

मेचीनगर १ र रोङ गाउँपालिका ६ को चुरे क्षेत्रमा भारतले समेत उत्खनन गर्ने गरेको खुलेको छ । यो क्षेत्र नेपाल र भारतको दशगजा पनि हो । दशगजामा कुनै गतिविधि गर्न मिल्दैन । तर, नेपालको कमजोर सुरक्षा उपस्थितिको फाइदा लिँदै भारतले खुलेआम नदीजन्य सामग्री उत्खनन गरिरहेको छ । नेपाली चुरे क्षेत्रका ढुंगा संकलन गरी भारतले बंगलादेश निर्यात गर्दै आएको छ ।

भारतीयहरू कहिलेकाहीं नेपाली भूभागतिरै आएर नदीजन्य सामग्री उठाउने गरेको र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आडभरोसा दिने गरेको स्थानीय शान्तप्रसाद न्यौपानेले जनाए । ‘उसको क्षेत्रमा गए पक्राउ गरेर जरिवाना गर्ने गर्छ,’ न्यौपानेले भने, ‘केही समयअघि बाहुनडाँगी क्षेत्रबाट एसएसबीले ट्र्याक्टर नियन्त्रणमा लिएको थियो । पछि जरिवाना तिराएर छाडेको थियो ।

प्रकाशित : फाल्गुन २५, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?