मोरङ कारागारमा बढे छालारोगी

विनोद भण्डारीे

विराटनगर — अशुद्ध पानीले मोरङ कारागारका कैदी छालासम्बन्धी रोगले ग्रस्त छन् । कारागारभित्रका ९ सय ६९ मध्ये २ सयभन्दा बढीमा छालाको समस्या देखिएको छ ।

शुद्ध खानेपानी व्यवस्थापनका लागि कारागार प्रशासनसँग पटकपटक आग्रह गर्दा सुनुवाइ नभएको कैदीबन्दीको गुनासो छ । पानी जाँच गर्न सम्बन्धित निकायसमक्ष माग गरिएको कारागार प्रशासनको भनाइ छ ।

शरीरभर घाउ हुँदा चिलाएर हैरान भएको कैदी सूर्य विकले बताए । अरूमा पनि यस्तै समस्या छ । यहाँका अधिकांश कैदी मधुमेह, उच्च रक्तचाप र दीर्घरोगी रहेको कारागार प्रशासनले जनाएको छ । मोरङ कारागारका चौकीदार अभिषेक गिरीका अनुसार छालाको समस्या देखिएकामा लुतो र दागको समस्या बढी छ । उनले स्वच्छ खानेपानी र फिल्टरको व्यवस्थाका लागि कारागार प्रशासनसमक्ष माग गरिएको बताए ।

तीन सय अटाउने क्षमताको कारागारभित्र तीन गुणा बढी छन् । सबैलाई धाराको पानीले नपुग्ने हुनाले तीन चापाकलको व्यवस्था गरिएको छ । चौकीदार गिरीका अनुसार चापाकलबाट आउने पानी दूषित छ । उपचारमा संलग्न कोसी अस्पतालका छाला रोग विशेषज्ञ डा. असित घिमिरेले दूषित पानी र क्षमताभन्दा बढी कैदीले गर्दा कैदीमा छालासम्बन्धी समस्या बढिरहेको बताए । साँघुरो ठाउँ भएकाले उनीहरू शौचालय जानसमेत लाइनमा बस्नुपर्ने बाध्यता छ । राति सुत्न पनि पालो पर्खनुपर्ने बाध्यता रहेको चौकीदार गिरीले बताए ।

प्रकाशित : फाल्गुन २२, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?