धरानको होटलमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान– १८ बुद्धचौकस्थित न्यु कान्तिपुर होटल एन्ड गेष्ट हाउसमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । मृतक पाँचथरको मिक्लाजुङ–१ की ३९ वर्षीया सुमित्रा तामाङ रहेको पुष्टि भएको छ ।

धरानको होटलमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

तामाङ मंगलबार बिहान होटलमा मृत भेटिएकी थिइन् । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार मृतक महिलाको साथबाट नागरिकता पनि फेला परेपछि सोही ठेगानामा खोजी गर्दा उनका छोरा र छोरीबाट पहिचान खुलेको हो ।

प्रारम्भिक जानकारी अनुसार महिलाका श्रीमान् भारतीय सेनाका पूर्वगोर्खा सैनिक रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको पाइएको प्रहरीले जनाएको छ । तामाङ इटहरी उपमहानगरपालिका–५ तुलसा टोलमा विगत ५ वर्षदेखि बसोबास गर्दै आएको उनका छोराछोरीले बताएका छन् ।

प्रनाउ कुँवरले भने, ‘तामाङसँगै दुई दिनदेखि सोही कोठामा बस्दै आएका पुरुषको खोजी भइरहेको छ । ती पुरुष र उनीबीचको सम्बन्ध खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा पठाएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?