३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ताप्लेजुङमा बैंकका कर्मचारीले रक्तदानका लागि बुझाए विवरण

आनन्द गौतम

ताप्लेजुङ — जिल्लाका बैंकमा कार्यरत ७५ जना कर्मचारीको रक्त समूह नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखालाई बुझाइएको छ ।

रगत संकलन केन्द्र (ब्लड बैंक) नभएको ताप्लेजुङमा बिरामीलाई रगत आवश्यक पर्दा सहयोग पुर्‍याउने उद्देश्यले रक्त समूह र फोन नम्बरसहितको विवरण बुझाइएको हो । यसका लागि बैंकर्स क्लब ताप्लेजुङले समन्वय गरेको थियो ।

क्लबका अध्यक्ष अनील श्रेष्ठले रेडक्रस शाखाका सभापति इन्द्र गुरुङलाई विवरणको लिस्ट हस्तान्तरण गरेका हुन् । उनले आवश्यक पर्दा सबै कर्मचारी रगत दिन इच्छुक भएको र प्रयोग गर्न मिल्ने अवस्थामा रत्तदानका लागि जुनसुकै बेला उपस्थित हुने बताए ।

जिल्लामा बिरामीलाई रगत आवश्यक पर्दा रेडक्रसले समन्वय गर्दैआएको छ । समन्वयको जिम्मा रेडक्रस मन्त्री विकास गौतमलाई दिइएको छ । अहिलेसम्म सामूहिक रुपमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रगत खोज्ने प्रचलन रहेको छ ।

बैंकका ठूलो संख्यामा कर्मचारीले पनि विवरण दिएपछि बिरामीहरूलाई सहयोग पुग्ने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताइन । यो विवरण सहितको नामावली अस्पतालमा पनि राख्ने र अस्पताल आफैंले पनि समन्वय गर्ने राईले बताइन् ।

ब्लड बैंक नभएकाले यस अघिदेखि नै आवश्यक पर्दा व्यक्ति व्यक्तिमा खोज्ने प्रचलन रहेको छ । भर्खरै स्थापना भएको बैंकका कर्मचारी सम्मिलित क्लबले कुनै न कुनै योगदान गर्नु पर्छ भन्ने उद्देश्यले नामावली तयार पारिएको र कर्मचारीहरू रक्तदानका लागि इच्छुक रहेको क्लबका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

कार्यक्रममा बैंकका शाखा प्रबन्धक तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । ७५ जनामा एक जनाको ओ नेगेटिभ र बाँकी सबैको सबै प्रकारको रगत समूह रहेको उल्लेख छ । जिल्लामा रहेका सनराईज, सानिमा, प्राइम, सिद्धार्थ, ग्लोबल, लक्ष्मी, एनआइसी एसिया, एनएमबी, माछापुछ्रे, सेञ्चुरी, प्रभु, मेगा, कृषि विकास र नेपाल बैंकका कर्मचारीको विवरण बुझाइएको हो ।

प्रकाशित : माघ १४, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?