‘डरत्रास देखाएर मात्र नियन्त्रण हुँदैन संक्रमण’

स्वास्थ्य जनचेतना जगाएरभन्दा पनि लौरो देखाएर वा तर्साएर कोरोना नियन्त्रण गर्ने प्रयास
जितेन्द्र साह

विराटनगर — कोभिड–१९ संक्रमण सुरक्षाको कि स्वास्थ्यको समस्या ? पक्कै पनि यो स्वास्थ्यको समस्या हो । तर सुरुदेखि यसलाई सीमा र सुरक्षासँग बढी जोड्ने प्रयास गरियो । डरत्रास देखाएर नियन्त्रण गर्ने प्रयास भए । नागरिकले पनि यो स्वास्थ्य संकटमा आफ्नोभन्दा सुरक्षा संयन्त्रको जिम्मेवारी बढी देख्यो । 

‘डरत्रास देखाएर मात्र नियन्त्रण हुँदैन संक्रमण’

‘लौरो देखाएर वा तर्साएर कोरोना नियन्त्रण गर्ने प्रयास भइरह्यो, यसले स्वास्थ्य र जनचेतनाको पक्षलाई गौण बनायो,’ समाजशास्त्री मुकेश सिंह भन्छन्, ‘पहिलो र दोस्रो चरणमा मोरङलगायत मुलुकका विभिन्न ठाउँमा लाठी जुलुस प्रदर्शन भयो, घरबाट निस्केकालाई बीच सडकमा घण्टौं बसाइयो, कान समाएर उठबस गर्न लगाइयो ।’ केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा रहेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र/समितिहरूमा स्वास्थ्य विज्ञभन्दा सुरक्षा अधिकारीलाई बढी महत्त्व दिएको देखिन्छ ।

दोस्रो दर्जामा वा प्राथमिकतामा नराखिँदा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल खस्कियो । उनीहरूको भूमिकालाई थप फराकिलो बनाउनुपर्नेमा खुम्चाइयो । ‘छिमेकी मुलुकहरूमा समेत कोभिड सम्बद्ध समितिहरूको नेतृत्व स्वास्थ्य विज्ञहरूले गरिरहेका छन्,’ जनस्वास्थ्य विज्ञ डा. सुरेश मेहता भन्छन्, ‘यो सुरक्षाको नभएर निःसन्देह स्वास्थ्यको समस्या हो भन्ने सन्देश पनि यसबाट जान्छ, त्यहीअनुरूप योसँग लड्न नागरिकस्तरमा तयारी हुनुपर्छ भन्ने प्रभावकारी कार्यक्रम छिमेकीहरूले अगाडि बढाएको देखिन्छ ।’

स्वास्थ्य सावधानी नै कोरोनासँग लड्ने अन्तिम हतियार भएको नागरिकलाई बुझाउन नसक्दा वा उनीहरूले बुझ पचाउँदा समस्या उत्पन्न भइरहेको मेहता बताउँछन् । सार्वजनिक यातायात, अस्पताल र बजारमा सर्वसाधारणले अझै हेलचेक्य्राइँ गरिरहेका देखिन्छन् । यो कुनै देशको नभएर विश्वको समस्या हो भनेर बुझ्न नसक्दा पूर्वतयारी व्यवस्थापनमा स्थानीय निकायदेखि केन्द्रसम्म चुकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत बताउँछन् । ‘तीन तहकै सरकारले सचेतनाका पक्ष र आन्तरिक तयारीलाई भन्दा सीमाको आवागमनलाई बढी महत्त्व दियो, नागरिकले पनि यसलाई उल्टो रूपमा बुझे,’ उनी भन्छन्, ‘प्रशासनले कडाइ गर्दा मास्क लगाउने, नभए नलगाउने देखियो, नागरिकले आफ्ना लागि भन्दा पनि प्रहरी–प्रशासनलाई देखाउनलाई स्वास्थ्य मापदण्डको पालना गर्न खोजेको देखियो ।’

सुरुदेखि टोल र वडास्तरमै पालना गराइनुपर्ने पूर्वसावधानीका स्वास्थ्य मापदण्डको अभ्यास नगरिँदा हरेक पटक कोभिडले विकराल रूप लिएको वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादव बताउँछन् । ‘बुझ्ने र बुझाइने तरिका गलत भयो,’ उनी भन्छन्, ‘अझै पनि अधिकांशले सही तरिकाले मास्क लगाउँदैनन् वा लगाउनै चाहँदैनन् ।’ मोरङको जहदा गाउँपालिकाका सामाजिक अभियन्ता शंकर गामीले वडास्तरसम्म संयन्त्र भएको पालिकाहरूले कोरोना सर्ने कारणबारे गम्भीर ढंगले नागरिकलाई बुझाउन नसकेको बताउँछन् ।

‘मास्क बाँड्दा पनि खोप लगाएको छु भन्दै स्थानीयले लगाइदिँदैनन्, प्रहरी–प्रशासनको सामु पर्दा डरले लगाउँछन्,’ उनी भन्छन्, ‘अरूबाट मलाई र मबाट धेरैलाई सर्न सक्छ भन्ने धेरैजसो नागरिकले बुझ्न चाहेका छैनन्, मलाई संक्रमण हुँदैन भन्ने मूर्ख बुझाइले कोरोनालाई फैलन निकै बल पुगेको छ ।’ गाउँदेखि सहरसम्म मास्क नलगाउनेको जमात बढी रहेको गामी बताउँछन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेल व्यवस्थापन मिलाउनलाई कोरोना सम्बद्ध समितिहरूमा सेना, प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइए पनि यो मुख्यतः स्वास्थ्य समस्या हो भनेर सबैले बुझ्नुपर्ने बताउँछन् । ‘सीमाको आवागमन र स्थानीयको हिँडडुललाई रोक्न सकिन्न, यो मानवअधिकारसँग जोडिएको विषय पनि हो तर संक्रमण दरलाई कम गर्ने प्रयास गर्‍यौं भने समस्या बढ्दैन,’ उनी भन्छन्, ‘आवागमनलाई नियन्त्रण गर्न खोज्दा राज्यलाई नै आर्थिक रूपले असर पर्छ, अर्कोतिर आवागमन नरोकौं भने रोग बढ्छ ।’

प्रकाशित : माघ १४, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?