१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चिया बगान मासेर सडक खनेकामा विरोध

इलाम — निजी जग्गामा जाने सडक बनाउँदा इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया विकास निगमको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीय युवाले विरोध जनाएका छन् । सूर्योदय–७ को कन्याममा केही दिनअघि सडक खन्दा निगमको केही जमिन अतिक्रमण भएको भन्दै विरोध जनाएका हुन् । 

कन्यामस्थित निगमको जमिन क्षेत्रबाट गुप्ती गाउँ जाने सडक निर्माण गरिएको उनीहरूको भनाइ छ । युवाहरूले पर्यटकीय क्षेत्रको चिया बगान मासेर सडक निर्माण गरी सम्पदा नष्ट गर्न नपाइने भन्दै विरोध जनाएका छन् ।

उनीहरूले सडकको १५ मिटर कटाउँदासमेत करिब १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको बताएका छन् । स्थानीय नेपाल परिवारको नाममा रहेको जग्गामा बाटो पुर्‍याउन निगमको जग्गा प्रयोग गरिएको आरोप उनीहरूको छ ।

सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिवकुमार बस्नेतको संलग्नतामा बाटो खनाएको आरोप लागे पनि बस्नेतले आफ्नो कुनै भूमिका नरहेको दाबी गरे ।

जमिन वडा ७ मा परे पनि वडा ६ ले पेलेर बाटो खनाएको स्थानीय युवा युवराज बस्नेतको भनाइ छ । जग्गा धनी जीवन नेपालले तल्लो गाउँ गुप्ती जाने सडकको समेत माग भएकाले सडक निर्माण गरिएको बताए । उनीहरूले बगान व्यवस्थापन पक्षसँगको सहमतिमा बाटो खोलिएको दाबी गरे पनि कन्याम चिया बगान प्रशासनले भने

आफूहरूलाई केही जानकारी नआएको जनाएको छ । सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले यस विषयमा यथार्थ जानकारी लिने जनाए । यसअघि समेत कन्याम क्षेत्रमा केही संरचना बगानको जमिनमा निर्माण गरिएको र सरोकारवाला बेखबर बन्ने गरेकाले आफूहरू सरकारी सम्पत्ति जोगाउन अग्रसर हुनुपरेको युवाहरूको भनाइ छ ।

२०५४ सालमा तत्कालीन सरकारले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका ७ वटा चिया बगान संघाई त्रिवेणी ग्रुपलाई लिजमा दिएको थियो । संघाईले सरकारलाई तिर्नुपर्ने करसमेत नतिरेको भन्दै स्थानीय पालिकाले सम्झौता भंग गरी स्थानीय सरकारको मातहतमा चिया बगान ल्याउन माग गर्दै आएका छन् । कर असुल्न स्थानीय पालिकाले पहलसमेत गर्दै आएका छन् । बगान पक्षले भने जिल्लाका विभिन्न स्थानमा बगान अतिक्रमण हुने गरेको जनाउँदै आएको छ ।

प्रकाशित : माघ १४, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?