उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई शव फेला

मोरङ — धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । स्थानीय बजरंगी सिंह र गंगाप्रसाद सिंहको छुट्टाछुट्टै उखुबारीमा पुरिएको अवस्थामा फेला परेका दुई शवमध्ये एक जनाको भने पहिचान खुलेको छ । 

बजरंगीको उखुबारीमा ७ फिट गहिरो खाल्डो उत्खनन गरेपछि बिहीबार फेला परेको शव सुनसरीको धरान उपमहानगर ३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जर्नादन जीसीले बताए । श्रेष्ठको साथमा भेटिएको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्रको माध्यमबाट पहिचान खुलेको जीसीले बताए ।

श्रेष्ठको शव फेला परेको ठाउँभन्दा ३० मिटरपूर्वमा रहेको गंगाप्रसादको उखुबारीमा अर्का पहाडी मूलका ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको थियो । उनको पहिचान खुल्न नसकेको प्रहरी उपरीक्षक जीसीले बताए ।

‘श्रेष्ठको घाटीमा डोरीले बाधेको निलडाम देखिएकोले दुवै जनालाई अर्कै ठाउँमा हत्या गरेर उखुबारीमा गाडेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘दुवै शव खाडलमा एकै प्रकृतिले गाडिएकाले दुवै जनाको हत्या एकै ठाउमा भएको हुन सक्छ ।’

प्रहरी उपरीक्षक जीसीले दुवै शवको पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान भएपछि मात्रै घटनाको रहस्य खुल्ने बताए । उनी आफैं अनुसन्धानमा खटिएका छन् ।

उखु काट्न गएका मजदुरले उखुबारीको बीचमा खाल्डो खनेर केहि पुरिएको देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित : माघ १३, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?