२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

घोषणाअनुरूप भएन अस्पताल स्तरोन्नति

धनकुटा — प्रदेश १ का तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले तीन महिनाअघि जिल्ला अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्ने घोषणा गरे । तामझामसाथ आयोजित कार्यक्रममा घोषणा गरे पनि काम भने केही भएको छैन ।

घोषणाअनुरूप भएन अस्पताल स्तरोन्नति

उद्घाटनबाहेक अन्य काम अघि नबढेको अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्माले बताए । उनका अनुसार अस्पताललाई सय शय्याको बनाउन विस्तृत परियोजना प्रतिवेदनसमेत बनाइएको छैन । अस्पताल १६ रोपनी जग्गामा छ ।

सय शय्याको अस्पताल सञ्चालन गर्न कम्तीका ५० रोपनी जग्गा आवश्यक पर्ने विश्वकर्माले बताए । उनले धनकुटा अस्पताललाई स्तरोन्नति गर्न डीपीआरका लागि १५ लाख र भवन निर्माणमा १ करोड रुपैयाँ बजेट विनियोजन भए पनि जग्गा नभएकाले परियोजना प्रतिवेदनको काम अघि नबढेको बताए ।

आन्तरिक स्रोतबाट जिल्ला अस्पताललाई ४० शय्यासम्म सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी राजन पोखरेल बताउँछन् । सरकारी मापदण्ड अनुसार १ सय शय्याको अस्पताल सञ्चालन गर्न विभिन्न ८ वटा विभाग सञ्चालन गर्नुपर्ने हुन्छ ।

अस्पतालमा बालरोग, स्त्रीरोग, मानसिक रोग, फिजिसियन, छाती रोग, हाड रोग, नाक, कान, घाँटी रोग विशेषज्ञको आवश्यकता हुने उनको भनाइ छ । तर, धनकुटा अस्पताल दुई वर्षदेखि नै निमित्तको भरमा सञ्चालन भइरहेको छ । अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने चर्चा २०७२ सालदेखि नै चल्दै आएको थियो ।

अस्पतालमा सात महिना पहिले जडान गरिएको भेन्टिलेटर र आईसीयू पनि जनशक्ति अभावका कारण सञ्चालनमा आएको छैन । २०७६ चैतमा प्रदेश सरकारले जनसुरक्षा कोषको सहयोगमा चारवटा भेन्टिलेटरसहितका १० आईसीयू बेड उपलब्ध गराएको थियो । सञ्चालन गर्ने दक्ष जनशक्ति नभएकाले सात महिनादेखि उपकरण रहेको कक्ष नै बन्द छ ।

मोरङमा पनि बनेनन

अघिल्लो सरकारले २०७७ मंसिर १५ मा प्रदेश १ मा प्रदेशस्तरीय सरुवा रोग अस्पताल र प्रदेशस्थित १४ वटा जिल्लामा ८६ वटा आधारभूत अस्पतालको एकैपटक शिलान्यास गरेको थिए । तर हालसम्म एउटा पनि अस्पताल बन्न सकेका छैनन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका ११ कर्जुनामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिलान्यास गरिए पनि हालसम्म निर्माण काम सुरु हुन सकेको छैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ बिघा जग्गामा सरुवा रोग अस्पताल शिलान्यास गरिएको हो ।

सरुवा रोग अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा ८ करोड बजेट प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा पठाएको थियो । तर अस्पताल निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले हस्तक्षेप गरेकाले बजेट खर्च हुन नसकेको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।

यस्तै, आधारभूत अस्पताल निर्माणका मोरङको बेलबारी, लेटाङ, पथरीशनिश्चरे र रतुवामाई नगरपालिका र कानेपोखरी, केराबारी, बूढीगंगा गाउँपालिकामा बजेट आएको छ । लेटाङ नगरपालिका र बूढीगंगा गाउँपालिकामा १०/१० शय्या र अन्यमा १५/१५ शय्याको अस्पताल निर्माणका लागि बजेट आएको हो ।

त्यसमध्ये रतुवामाई नगरपालिकामा जग्गाको सुनिश्चितता नभएपछि बजेट फिर्ता गएको प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालले बताए । अन्य ६ वटा पालिकामा अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भएर बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीमा मात्रै निर्माण काम सुरु भएको जनप्रतिनिधिहरूले बताए ।

यस्तै, ताप्लेजुङको ६ वटा स्थानीय तहमध्ये सिरिजङ्घा गाउँपालिकामा मात्रै टेन्डर प्रक्रिया सुरु भएको छ भने अन्य पालिकामा अस्पताल निर्माण प्रक्रिया सुरु हुन नसकेको जनप्रतिनिधिहरूले बताए । आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाले सरकारले समयमै बजेट नपठाइदिएकाले निर्माण कार्य समयमै सुरु गर्न नसकिएको गुनासो पोखे ।

प्रकाशित : माघ १३, २०७८ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?