प्रदेश १ राष्ट्रिय सभामा अल्पसंख्यकतर्फ एमाले विजयी

देवनारायण साह

मोरङ — प्रदेश १ मा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा अल्पसंख्यक/अपांगतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले ४ हजार ७३४ मतभार ल्याएर विजयी भएका हुन् ।

प्रदेश १ राष्ट्रिय सभामा अल्पसंख्यकतर्फ एमाले विजयी

सत्तारुढ गठबन्धनतर्फ जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईले ४ हजार ३६८ मतभार प्राप्त गरेको र ४ वटा मत वदर भएको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालले बताए ।

यसअघि सत्तारुढ गठबन्धनबाट उम्मेदवार भएकी नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई विजयी भइसकेकी छन् । उनले ४ हजार ६९२ मतभार ल्याएर विजयी भएकी हुन् ।

एमालेको महिलातर्फकी उम्मेदवार सुमित्रा भण्डारीले ४ हजार ३६२ र राप्रपाकी रन्जु प्याकुरेलले १२० मतभार प्राप्त गरेको उनले बताए । तीन वटा मत वद्दर भएको लम्सालले बताए ।

बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो । लम्सालका अनुसार दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद मतदानमा अनुपस्थित थिए । स्थानीय तहतर्फ २७० र प्रदेश सभा सदस्य तर्फ ९१ मत खसेको लम्सालले बताए ।

झापाको गौरीगंज गाउँपालिका प्रमुख बाबुराज श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भएका हुन् । श्रेष्ठ छोरीको विवाहका कारण र कार्की स्वास्थ्यसम्बन्धी समस्याका कारण निर्वाचनमा मत खसाल्न नआएको बताएका थिए ।

उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार रहेकी एमाले सांसद गुलेफुन खातुन पनि मतदान गर्न आइनन् । अहिले खुल्लातर्फको मत गणना भइरहेको लम्सालले बताए । तीन सदस्यका लागि सम्पन्न निर्वाचनमा गठबन्धनबाट खुलामा कांग्रेसका गोपाल बस्नेत, एमालेबाट खुल्लामा गुरु बराल र राप्रपाबाट खुल्लातर्फ अमर बिष्ट उमेदवार छन् ।

प्रकाशित : माघ १२, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?