कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितको तथ्यांक अनुमानमा आधारित

एकीकृत जानकारी दिने संयन्त्रको विकास हुन सकेको छैन

विराटनगर — नागरिकमा कोभिड–१९ को असरसम्बन्धी दैनिक तथ्यांक अनुमानमा आधारित भएको देखिएको छ । प्रदेश १ का ९ भन्दा बढी प्रयोगशालाबाट जारी हुने पीसीआर परीक्षण रिपोर्ट र सरकारी निकायले गर्ने एन्टिजेन परीक्षणमा देखिने संक्रमितको मात्र तथ्यांक सार्वजनिक गरिन्छ ।

संक्रमितको तथ्यांक अनुमानमा आधारित

यही तथ्यांकका आधारमा दैनिक देखिने कुल संक्रमितमध्ये अस्पतालमा भर्ना भएकालाई घटाएर होम आइसोलेसनमा रहेकाको तथ्यांक निकालिन्छ । सहजै उपलब्ध आरडीटी र एन्टिजेन किट्सबाट घरमै परीक्षण गर्नेको संख्या अहिले निकै बढे पनि यसको तथ्यांक कुनै पनि निकायसँग छैन । कोरोना कहरको तेस्रो चरणमा आइपुग्दासम्म स्थानीयस्तरमा यस सम्बन्धमा एकीकृत जानकारी दिने संयन्त्रको विकास हुन सकेको छैन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले सरकारीस्तरबाट उपलब्ध दैनिक संक्रमितको संख्यामा अस्पतालमा भर्ना भएकालाई घटाएर होम आइसोलेसनमा रहेका निकाल्ने गरिएको बताए ।

‘होम आइसोलेसनमा रहेकामध्ये कति निको भए भन्ने आधिकारिक जानकारी हुँदैन, साता/ दस दिन पछि यति निको भएका होलान् भन्ने अनुमान गरेर तथ्यांक निकालिन्छ,’ उनले भने, ‘ओमिक्रोन भेरिएन्टबाट संक्रमित साताभित्र निको हुने वा काममा फर्कन सक्ने भनिएकाले संक्रमुक्तको संख्या धेरै ठूलो हुन सक्छ ।’

निर्देशक बस्नेतका अनुसार व्यक्तिगत परीक्षणमा संक्रमण देखिए पछि चिकित्सकको परामर्शमा औषधि सेवन गर्दै घरमै आराम गर्नेको संख्या ठूलो हुन सक्छ । होम आइसोलेसनमा बस्नेको यकिन तथ्यांक कुनै निकायसँग नभएको उनले बताए । भेरिएन्ट नयाँ भए पनि तथ्यांक अपडेट गर्ने प्रणाली परम्परागत नै भएको जनस्वास्थ्य विज्ञ डा.सुरेश मेहताले बताए । उनको अनुसार चौध दिनपछि अन्दाजले यति जना संक्रमणमुक्त भएका होलान् भन्दै तथ्यांक निकालिन्छ ।

‘पोजिटिभ रिपोर्ट आएको दिनदेखि गणना गरिने हुनाले संक्रमणमुक्त कम देखिन्छ,’ उनले भने, ‘मापदण्ड पुरानै छ तर कोभिड–१९ को ओमिक्रोन भाइरस संक्रमित ३ दिनदेखि सात दिनमै निको भइरहेका छन् ।’ अबको सातापछि संक्रमणमुक्तको संख्या बढ्कोे देखिने उनले बताए ।

‘अस्पतालमा भन्दा होम आइसोलेसनको संख्या धेरै भएको हुनाले यकिन जानकारीका लागि स्थानीय तहमा वडा स्तरमै संयन्त्र निर्माण गरिनुपर्छ,’डा. मेहताले भने, ‘यतातिर कसैको ध्यान गएको देखिन्न ।’ सामाजिक विकास मन्त्रालयको अनुसार १ माघदेखि ११ गतेसम्म ९ हजार ८५ संक्रमित भएको देखिन्छ । १ माघमा १ हजार ३ सय ९७ सक्रिय संक्रमित रहेकोमा ११ माघसम्म ६ हजार ८ सय २१ पुगेको छ ।

मन्त्रालयको अनुसार उक्त अवधिमा ५ हजार ४ सय २४ सक्रिय संक्रमित थपिएको देखिन्छ । उक्त अवधिमा केवल १ हजार ९१ जना संक्रमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार १ माघमा होम आइसोलेसनमा रहेकाको तथ्यांक १ हजार ३ सय ७५ देखिन्छ भने ११ माघसम्म आइपुग्दा ६ हजार ७ सय ३३ पुगेको छ । उक्त अवधिमा ५ हजार ३ सय ५८ जना होम आइसोलेसनमा थपिएका छन् । निर्देशक बस्नेतको अनुसार अधिकांशमा छिटो निको हुने ट्रेन्डको आधारमा भन्दा होम आइसोलसनमा रहेकामध्ये ४० प्रतिशत अर्थात् २ हजार बढी निको भइसकेको हुनुपर्ने देखिन्छ ।


प्रकाशित : माघ ११, २०७८ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?