१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सात महिनासम्म खुलेन महेन्द्र मोरङ क्याम्पस

रकम खर्च र भागबन्डा नमिल्दा प्राध्यापकहरुबीच मतान्तर भई क्याम्पसमा तालाबन्दी
विनोद भण्डारी

विराटनगर — शिक्षण सस्थामा विभिन्न विद्यार्थी संगठनले आ–आफ्ना माग पूरा गर्न दबाब दिन तालाबन्दी गर्दै आएको उदाहरण छन् । तर यहाँको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा भने स्वयं प्राध्यापकहरू आफ्नो ‘जुँगाको लडाइँ’ मा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर सात महिनादेखि प्रशासनिक कार्य ठप्प गर्दै आएका छन् ।

सात महिनासम्म खुलेन महेन्द्र मोरङ क्याम्पस

राष्ट्रपति विद्यादेवी भण्डारीले गतवर्ष क्याम्पसको निरीक्षण गरेपछि उनकै पहलमा आफू अध्ययन गरेको क्याम्पसको आधुनिक भवन निार्माणका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यही रकम खर्च गर्ने नाममा क्याम्पस प्रमुख बाबुराम तिम्सिना, प्राध्यापक संघका सभापति विमल कण्ठसहितका प्राध्यापकहरूबीच मतान्तर हुँदा प्राध्यापकहरूले संघको अगुवाइमा सात महिना पहिला प्रमुखको कार्यकक्षमा तालाको बताउँदै आएका छन् ।

तर क्याम्पस प्रशासनले भवन निर्माण कार्यमा मतान्तर नभई सहायक क्याम्पस प्रमुख नियुक्तमा भागबन्डा नमिल्दा र प्राध्यापकहरूबीचको जुँगाको लडाइँका कारण भवन निर्माणका नाममा तालाबन्दी गरेको दाबी गरेको छ । गत असारमा लगाइएको ताला अझै खुेलेको छैन । ताला नखुल्दा क्याम्पसको प्रशासनिक कार्य र भवन निर्माण कार्य सात महिनादेखि प्रभावित हुँदै आएको छ ।

गुरुयोजनामा उल्लेख भएको स्थानमा नभई अर्को स्थानमा भवन निर्माण कार्य प्रारम्भ गरिएको र क्याम्पस प्रमुखले आर्थिक स्वयत पत्र सार्वजनिक नगरेका कारण प्राध्यापकहरूले प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको प्राध्यापक संघका अध्यक्ष विमल कण्ठको भनाइ छ । गुरुयोजनामा क्याम्पसको भवन फ्रन्ट साइडमा बनाउने उल्लेख भए पनि क्याम्पस प्रमुखले हालको पुस्तकालय पछाडि बनाउने तयारी गरेको र संघलगायत विभिन्न संघ/संगठनमा आबद्ध प्राध्यापकहरूले आर्थिक श्वेतपत्र माग गर्दा पनि प्रमुखले उपलब्ध नगरेपछि तालाबन्दी गरिएको कण्ठको भनाइ छ । तोकिएको स्थानमा भवन निर्माण हुनुपर्ने, प्रमुखले आर्थिक श्वेतपत्र जारी गर्नुपर्ने, क्याम्पसमा हेल्थपोस्टको व्यवस्था हुनुपर्ने र स्वच्छ खानेपानीको व्यवस्था गरिनुपर्नेबाहेक प्राध्यापकहरूको अरू माग नभएको सभापति कण्ठले बताए ।

क्याम्पस प्रशासनले गुरुयोजना नै नबनाएको र प्राध्यापकहरूका हातहातमा आर्थिक श्वेतपत्र थमाइसकेको क्याम्पस प्रमुख तिम्सिनाको दाबी छ । भवन निर्माणका लागि क्याम्पसले गुरुयोजना नै बनाएको छैन । पुस्तकालय पछाडि भवन निर्माण गर्न क्याम्पस प्रशासन, प्राध्यापक संघ र विभिन्न वैचारिक संघ/संगठनका अध्यक्षहरूले आठ पटकसम्म सहमति गरेर हस्ताक्षर गरेपछि स्थानको टुंगो लगाइएको थियो ।

प्रमुख तिम्सिनाले भने तर पछिल्लो समय प्राध्यापकहरूले जुँगाको लडाइँमा भवन निर्माणको नाममा आफ्नो कार्यकक्षमा तालाबन्दी गरेको बुझिएको छ । उनका अनुसार क्याम्पस प्रशासनले हरेक प्राध्यापकहरूको हातहातमा आर्थिक श्वेतपत्र थमाइसके पनि तालाबन्दी कायमै छ । उनले भने ताला खुला गर्न अनेक प्रयास गर्दा प्राध्यापक संघ र अरू प्राध्यापकहरू सहमत नभएपछि आफू पनि चुप लागेर बसेको हुँ ।

क्याम्पस प्रशासन स्रोतका अनुसार क्याम्पसमा विभिन्न पाँच संकायमा विश्वदेव दास, वासुदेव मेहता, शिवनारायण चौधरी, सुशील अधिकारी र डिल्ली पोखरेल सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका छन् । त्यसमा यादव थरका व्यक्ति नपरेको भन्दै भवन निर्माणका नाममा प्राध्यापकहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको क्याम्पस स्रोतको दाबी छ ।

त्यसैगरी यहाँको स्नातकोत्तर क्याम्पसमा क्याम्पस प्रमुख महेश खत्रीविरुद्ध प्राध्यापक संघले सात महिना कार्यकक्षमा तालाबन्दी गरेर सर्वदलीय सहमतिपछि ताला खुला गरेको थियो । त्रिभुवन विश्वविद्यालय मातहतका विराटनगरका तीनवटा क्याम्पसमा प्रमुख नियुक्ति गर्दा सधैं भागबन्डा हुँदै आएको छ । त्यसैअनुरूप महेन्द्र मोरङमा कांग्रेसनिकट, स्नातकोत्तरमा माओवादीनिकट र नर्सिङ क्याम्पसमा एमालेनिकट क्याम्पस प्रमुख छन् ।

प्रकाशित : माघ ११, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?