१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नाङ्लोको व्यापार फस्टाउँदै

धनकुटा — बाँसको चोयाबाट बनाइएका नाङ्लोको व्यापार फस्टाउँदै गएको छ । धनकुटासँगै सिमाना जोडिएको भोजपुरको होम्ताङलगायत स्थानीयबासीको भरपर्दो आम्दानीको स्रोतको रुपमा नाङ्लो व्यवसाय रहेको छ ।

नाङ्लोको व्यापार फस्टाउँदै

हतुवागढी गाउँपालिकास्थित होम्ताङका अधिकांशले बाँसबाट घरेलु सामग्री बनाउने गरेको स्थानीय कान्छा राई बताउँछन् । खासगरी होम्ताङको साविकको वडा नं. ५ र ६ मा स्थानीयले व्यावसायिक रुपमा नाङ्लो बनाएर बिक्री गर्दै आएको उनको भनाइ छ । ‘यहाँका अधिकांशको मुख्य आयस्रोत नै नाङ्लो व्यवसाय हो’, उनले भने, ‘बिक्री नहोला भन्ने चिन्ता नभएपछि धेरै उत्पादन हुन्छ ।’

मोटरबाटो बन्नुअघि ढाकरमा बोकेर त्रिवेणीबाट चतारा हुँदै धरान तथा इटहरी लैजाने गरिन्थ्यो । गाउँघरमै सडक बनेपछि ढुवानी साधनबाट नजिकका शहर बजारमा ती सामग्री बिक्री गर्दै आएका छन् । अझ गाउँघरमै पुगेका व्यापारीले सयौंको संख्यामा बिक्री गरेर ढुवानी साधनबाट लैजाने गरेपछि राहत मिलेको स्थानीय दिलबहादुर राईले बताए ।

‘उतिबेला निकै कष्ट हुन्थ्यो’, विगत कोट्याउँदै उनले सुनाए, ‘अब त गाउँघरमै मोटरबाटो पुगेपछि ट्याक्टरमा राखेर सहरमा लैजाने गरिन्छ ।’

थोक मूल्य प्रतिगोटा १ सय रुपैयाँ भएको स्थानीयको भनाइ छ । व्यापारीले भने प्रतिगोटा १ सय १० रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । बजारमा प्लास्टिकका नाङ्लाहरू भित्रिए पनि बासबाट बनेका नाङ्लोको माग अत्यधिक रहेको स्थानीयको दाबी छ । होम्ताङ गाउँबाट धनकुटाको पाख्रिबास हुँदै ती सामग्री पूर्वका ठुला शहर धरान, इटहरी, विराटनगरलगायत भारततर्फ पनि ढुवानी साधनमार्फत् निर्यात गरिन्छ । अत्यधिक बाँस पाइने भएकाले नाङ्लोलगायत हस्तकलाका सीपमूलक सामग्री बनाइने चलन रहेको स्थानीयले बताए ।

प्रकाशित : माघ १०, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?