कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नोबेल मेडिकल कलेजमा विद्यार्थी र प्रशासनबीच झडप

देवनारायण साह

मोरङ — नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क लिएपछि त्यसको विरोधमा उत्रिएका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच झडप भएको छ । नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएपछि विभिन्न राजनीतिक संगठनसहित विद्यार्थीहरूले आन्दोलन गर्दैआएका छन् ।

नोबेल मेडिकल कलेजमा विद्यार्थी र प्रशासनबीच झडप

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङको सहयोगमा पीडित विद्यार्थीहरूले स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्दै सोमबार सिटी जुलुस प्रदर्शन गरेका थिए ।

जुलुस प्रदर्शन गर्ने क्रममा आन्दोलनरत विद्यार्थीहरूले तालाबन्दी गरेको कलेज प्रशासनमा कर्मचारीहरूले काम गरिरहेको र भारतीय विद्यार्थी, छात्रवृत्ति र अतिरिक्त शुल्क तिरेका विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गरिरहेको देखेपछि विरोव जनाउँदा झडप भएको हो ।

आन्दोलनरत विद्यार्थीहरूले कलेज प्रशासनमा लगाइएको तालाबन्दीको अवस्था हेर्न जाने क्रममा कलेजका सुरक्षा गार्डले भाटा हिर्काएपछि १० जना विद्यार्थी नेताहरू घाइते भएका छन् । समाजवादी विद्यार्थी यूनियनका साहिल झा, अखिल क्रान्तिकारीका टेकेन क्षेत्री, उमेश सेन्चुरीलगायतका विद्यार्थी नेताहरू घाइते भएको अनेरास्ववियुका नवीन पहाडीले बताए ।

सुरक्षा गार्डहरूले विद्यार्थीहरूलाई भाटाले प्रहार गर्दा टाउको फुटेको, आँखा, हातखुट्टामा चोट लागेको पीडित विद्यार्थीहरूले गुनासो गरेका छन्। सुरक्षा गार्डको आक्रमणबाट जोगिँदै कलेज प्रशासन कार्यालय पुगेका विद्यार्थीहरूले भित्र कर्मचारीले नर्सिङ डिपार्टमेन्टबाट पसेर काम गरिरहेको देखेपछि तोडफोड गरेका छन् ।

विद्यार्थीहरूले प्रशासन फाँटको दुई वटा कम्प्युटर, प्रिन्टर, झ्याल, ढोकाको सिसा फुटाएको कलेज प्रशासनले आरोप लगाएको छ । विद्यार्थी र सुरक्षा गार्टबीच भएको झडपको क्रममा नोबेल अस्पतालको औषधि पसलमा समेत तोडफोड भएको छ ।

विद्यार्थीहरूमाथि सुरक्षा गार्डले आक्रमण गरिरहँदा सुरक्षाकर्मीहरू भने मुकदर्शक बनेका थिए । सुरक्षाकर्मीको व्यवहारले स्थानीय प्रशासनले नोबेल मेडिकल कलेजलाई संरक्षण गरिरहेको अनुभूति भएको आन्दोलनरत विद्यार्थीहरूले गुनासो गरेका छन् ।

‘एकातिर कलेज प्रशासनले विद्यार्थीहरूका अभिभावकलाई डर, त्रास देखाएर अतिरिक्त शुल्क असुली गरी विद्यार्थी भर्ना गरिरहेको र अर्कोतिर स्थानीय प्रशासन लगायत सरकार वार्ता, छलफलका साथै कारबाहीका लागि एक अर्को निकायलाई पत्राचार गरेको देखाइरहेको छ,’ विद्यार्थी नेता पहाडीले भने, ‘चिकित्सा शिक्षा आयोगले गरेको निर्णय विपरीत नोबेलले अतिरिक्त शुल्क असुली गरिरहँदा पनि राज्य मौन रहेकाले अब शान्तिपूर्ण आन्दोलनको औचित्य समाप्त भएको छ ।’ उनले अब नोबेलविरुद्ध तोडफोडमा उत्रिनुको विकल्प नभएको चेतावनी दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले नोबेल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनलाई आन्दोलन स्थगित गर्न आइतबार निर्देशन दिएका थिए ।

प्रजिअ दाहालले पठाएको पत्रमा नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्कको विषयमा अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिसकेकोले पनि आन्दोलनको औचित्य नभएको भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले एक साताभित्र अनुसन्धान गरेर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको पाइए कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन अनुसन्धान सुरु गरेको छ ।

कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर मंसिर १९ गतेदेखि न्यायका लागि संघर्ष गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । पठन पाठनमा रोक लगाएपछि विद्यार्थी संगठनको सहयोगमा पीडित विद्यार्थीहरूले कलेज प्रशासनमा पुस २१ गते तालाबन्दी गरेर रिले अनसन बस्दैआएका छन् ।

चिकित्सा शिक्षा आयोगले भने एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

प्रकाशित : माघ १०, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?