कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रीमान्‌द्वारा श्रीमतीको हत्या

घरभित्रै पुरिएको लाश उत्खनन

धनकुटा — करिब तीन सातादेखि बेपत्ता भएकी धनकुटा नगरपालिका- ४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको लाश सोमबार उनकै घरभित्र पुरिएको अवस्थामा फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएकी सीताको उनका पति सीतारामले हत्या गरेको प्रहरीले जनाएको छ । 

श्रीमान्‌द्वारा श्रीमतीको हत्या

घरायसी झगडापछि पत्नि बेपत्ता भएसँगै फरार रहेका सीतारामलाई ललितपुरबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरी प्रहरीले सोधपुछ गर्ने क्रममा हत्या गरी घरभित्रै गाडेको रहस्य खुलेको प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । घरको भुईं तलाको जमिनमा खाल्डो खनेर गाडेको अवस्थामा लाश फेला परेको र त्यसलाई उत्खनन गरी झिकिएको उनले बताए । डेढ फिट गहिरो र लाश अटाउने गरी खाल्डोमा माटोले पुरेर त्यसमाथि बालुवा राखिएको स्थानबाट उत्खनन गरी केहि सडेको अवस्थामा फेला परेको उनले उल्लेख गरे ।

गत पुस २१ गते भदाहा अरुण श्रेष्ठले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । खोजतलासको क्रममा घरभित्रै गाडिएको शव भने फेला पार्न प्रहरी चुकेको थियो । अनुसन्धानका लागि घटनास्थलमा परिचालन गरिएको कुकुरले समेत थाहा नपाएको प्रहरीको भनाइ छ । छरछिमेक र आफन्तजनले घटनापछि लगातार खोजतलास गर्दै आएको स्थानीय श्यामकुमार श्रेष्ठले बताए ।

लाश पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने जनाइएको छ । उत्खनन गरिएको लाशको पोस्टमार्टम गर्ने विज्ञ टोली भएकाले प्रतिष्ठान पठाइने धनकुटा जिल्ला अस्पतालका चिकित्सक रुमित झाले जानकारी दिए ।

यसअघि पनि पति-पत्निबीच बारम्बार कुटपिट हुने गरेको उनले बताए । तीन वर्ष पहिले सीतालाई पति सीतारामले कुटपिट गरी पानीको ट्यांकीमा डुबाएको अवस्थामा स्थानीयले उद्धार गरेको छिमेकी हरिकुमार श्रेष्ठले जानकारी दिए । त्यसबेला समेत उनलाई प्रहरीले एक महिना थुनामा राखेको थियो । बारम्बार कुटपिटका घटना हुने गरेपनि यसअघि माइतीपक्षलाई सीताले जानकारी नगराउने घटनास्थलमा रहेका उनका भाइ तेजकुमार श्रेष्ठले बताए ।

झापाको दमक नगरपालिका १ माइती भएकी उनले आफूमाथि हुने हिंसा लुकाउनाले यस्तो अवस्था देख्नुपरेको घटनास्थलमा पुगेकी बहिनी भगवती श्रेष्ठ बताउँछिन् । अभियुक्त श्रेष्ठलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतमा मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १०, २०७८ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?