बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीलाई कोरोना

अस्पतालले दिने सेवा प्रभावित, रुटिङ ओटी पोस्टपोन्ड

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मीलाई कोरोना भएको छ ।

बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीलाई कोरोना

यति धेरै संख्यामा चिकित्सक र नर्सलाई कोरोना भएपछि जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ । नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको हो ।

संक्रमित हुने चिकित्सक, नर्स र हेल्परको संख्या क्लिनिकल क्षेत्रका मात्र हुन् ।

एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोकेमेस्ट्री, फर्माकोलोजी, फरेन्सिक र कम्यूनिटि हेल्थ विभागका कार्यरत संक्रमित स्वास्थ्यकर्मीहरुको तथ्यांक भने आएको छैन ।

प्रतिष्ठानका डेपुटी डाइरेक्टर डा विकास साहका अनुसार संक्रमित चिकित्सक मध्ये सबैभन्दा बढी एनेस्थेसिया विभागका ११ जना र ५ जना प्राविधिक संक्रमित भएका छन् ।

यसैगरी सर्जरी (शल्यक्रिया) विभाग, आँखा विभाग, हाडजोर्नीमा ९/९ जना चिकित्सक रहेका छन् । जनरल मेडिसिन विभाग, प्याथोलोजी र स्त्री तथा प्रसुती विभागका ८/८ जना, नाक, कान घाँटी (इएनटी) विभागका ७ जना, बालरोग र मानसिक रोग विभागका २/२ जना, आकस्मिक विभाग र डर्मा (चर्म रोग विभाग)का १/१ जना चिकित्सक संक्रमित छन् । ६ सय दरबन्दी भएपनि ४ सय जनामात्र रहेको नर्सहरुमा १ सय १४ जना संक्रमित भएका छन् ।

चिकित्सक, नर्स र प्राविधिकहरु संक्रमित भएपछि उनीहरु सबै हाल होम क्वारेन्टिनमा छन् । स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि अधिकांश सेवा प्रभावित भएको छ ।

डा विकासले भने, ‘चिकित्सक र नर्सहरु संक्रमित भएपनि हामीले कुनै पनि सेवा भने पुरै बन्द गरेका छैनौं । संक्रमित नभएका चिकित्सक र नर्सहरुबाट भ्याएसम्म सेवा दिइरहेका छौं ।’

उनकाअनुसार प्रतिष्ठानले गर्दै आएको नियमित शल्यक्रिया भने केही दिनलाई सारिएको छ । शल्यक्रियाका गर्ने सर्जरी विभागका चिकित्सकहरु मध्ये नौ जना र शल्यक्रिया गर्नु अघि गर्नुपर्ने बेहोसीको जाँच गर्ने चिकित्सक ११ जना र प्राविधिकहरु ५ जना एकैपटक संक्रमित भएपछि सेवा प्रभावित भएको हो ।

प्रतिष्ठानमा ८ सय बढी विरामी विभिन्न वार्डमा उपचाररत छन् । कोरोना संक्रमित चिकित्सक र नर्सको संख्या बढेसँगै नियमित राउण्डमा पनि असर परेको छ । प्रतिष्ठानले अति गम्भीर प्रकृतिका विरामीमात्र ओपिडी वा इमर्जेन्सीमा ल्याउन अनुरोध गरेको छ । सामान्य भए टेलिफोन, म्यासेन्जर, व्हाट्सएप मार्फत भिडियो वा फोटो पठाएर आवश्यक परामर्श लिने सकिने जनाएको छ ।

प्रकाशित : माघ १०, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?