प्रदेश १ मा सातामै ६५ सय संक्रमित थपिए

आइतबारसम्म ८ हजार ५ सय १० ले पीसीआर परीक्षण गराउँदा ५८.५९ प्रतिशत र ४ हजार २ सय २६ को एन्टिजेन जाँच हुँदा ३५.७३ प्रतिशत संक्रमित

विराटनगर — प्रदेश १ मा माघको ८ दिनमा ६ हजार ४ सय ९६ संक्रमित थपिएका छन् । यो पुसको अन्तिम साताको समान अवधिको तुलनामा पाँच गुणाभन्दा बढी हो । गत साता प्रदेशमा १ हजार २ सय ८० संक्रमित थपिएका थिए ।

प्रदेश १ मा सातामै ६५ सय संक्रमित थपिए

सामाजिक विकास मन्त्रालयको अनुसार माघको पहिलो साता गत आइतबारदेखि आइतबारसम्म ८ हजार ५ सय १० ले पीसीआर परीक्षण गराउँदा ४ हजार ९ सय ८६ (५८.५९ प्रतिशत) र ४ हजार २ सय २६ को एन्टिजेन जाँच हुँदा १ हजार ५ सय १० (३५.७३ प्रतिशत) संक्रमित देखिएका हुन । गत साताको समान अवधिमा ३ हजार ४ सय ३२ को पीसीआर परीक्षण गर्दा १ हजार ६० जना (३०.८९ प्रतिशत) र १ हजार ६ सय ८५ को एन्टिजेन परीक्षण हुँदा २ सय २० जना (१३.०६ प्रतिशत) मा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयको अनुसार माघको पहिलो साता १५ संक्रमितको मृत्यु भएको छ । यीमध्ये ३ जना यहाँ उपचार गराउन आएका बाहिर जिल्लाका हुन् । गत साता केवल ३ संक्रमितको मृत्यु भएको थियो । संक्रमितको तुलनामा संक्रमणमुक्तको संख्या अझै कम छ । यो साता ५ सय १ जना संक्रमणमुक्त भएका छन् । गत साता मात्र सय जनाको हाराहारीमा संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा देखिन्छ । प्रदेशमा ३ हजार ९८ पुरुषसहित सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ५४ पुगेको छ । मन्त्रालयका अनुसार होम आइसोलेसनमा ५ हजार ७ सय ७१ जना छन् । सक्रिय संक्रमित र आइसोलसनमा रहेकाको संख्या गत साताको तुलनामा ४ गुणाले बढी हो ।

यो साताको पीसीआर परीक्षणमा संक्रमितमध्ये मोरङका २ हजार २ सय ६९, सुनसरीका १ हजार ४ सय ९७, झापाका ८ सय ९ र प्रदेश बाहिरका जिल्लाका २ सय ६६ छन् । एन्टिजेन परीक्षणमा संक्रमितमध्ये ५ सय २० मोरङका, १ सय ९३ सुनसरीका र ४ सय १४ झापाका छन् । संक्रमितको ठूलो संख्या मोरङ, सुनसरी र झापाका सहरी क्षेत्र विराटनगर, धरान, बिर्तामोड एवं भद्रपुरका छन् ।

प्रदेशको ३१ अस्पतालको जेनरल बेडमा २४, आईसीयूमा ३१, भेन्टिलेटरमा ७, एचडीयूमा २७ र आइसोलेसनमा १ गरी ९० को उपचार भइरहेको छ । गत साताको तुलनामा अस्पताल भर्ना हुनेको संख्या ३ गुणाले बढेको मन्त्रालयले जनाएको छ । अस्पतालहरूमा संक्रमितका लागि २ सय ९८ जेनरल बेड, १ सय १८ आईसीयू, १ सय ७ भेन्टिलेटर, २ सय ४४ आइसोलेसन बेड र ३ सय ९ एचडीयू गरी १ हजार ७६ बेडको प्रबन्ध छ ।


प्रकाशित : माघ ९, २०७८ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?