कोसी अस्पतालका मेसुसहित ९४ स्वास्थ्यकर्मी संक्रमित- प्रदेश १ - कान्तिपुर समाचार

कोसी अस्पतालका मेसुसहित ९४ स्वास्थ्यकर्मी संक्रमित

कान्तिपुर संवाददाता

विराटनगर — कोरोना संक्रमणदर बढिरहँदा पुगिरहँदा शुक्रबार विराटनगरस्थित कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दाससहित थप ११ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित हुने अन्यमा प्रसुतीका एक चिकित्सक, सहयोगी स्वास्थ्यकर्मी र कर्मचारी छन् । 

कोरोना संक्रमणको तेस्रो चरणको कहर सुरु भएदेखि यता ९४ स्वास्थ्यकर्मी संक्रमित भइसकेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार संक्रमित हुनेमा १५ चिकित्सक, ३२ नर्स, ९ पारामेडिक्स, ७ प्रशासनिक कर्मचारी, ६ ल्याब टेक्निसियन लगायत प्रयोगशालाकर्मी र २५ कार्यालय सहयोगी छन् ।

यीमध्ये ३ चिकित्सकसहित १० जना निको भएर काममा फर्किएको अस्पतालले जनाएको छ । ‘ज्वरो आएपछि एन्टिजेन परीक्षण गराउँदा पोजिटिभ देखियो, घाँटी अठ्याएकाले बोल्न कठिन भइरहेको छ, आराम गर्दैछु,’ मेसु दासले भने, ‘अहिलेसम्म अस्पतालले नियमित सेवा भने दिइरहेको छ ।’

प्रकाशित : माघ ७, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्

अखेटोपहार र बन्दुकसहित एक जना पक्राउ

कान्तिपुर संवाददाता

पोखरा — वन्यजन्तुको छाला (अखेटोपहार) र बन्दुक घरमा लुकाएर राखेको आरोपमा प्रहरीले पोखरा-२२ पुम्दीभुम्दीका २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको छ । उनको साथबाट एक थान दुईनाले कार्तुस बन्दुकसमेत बरामद भएको छ । 

कास्की प्रहरीका प्रवक्ता एवं डीएसपी सुन्दर तिवारीका अुनसार थापाको घरबाट ७ फिट लम्बाइको चितुवाको छाला, २ फिट ६ इन्च चौडाइ भएको पुच्छरसहितको टाटेपाटे खैरो रंगको एउटा छाला बरामद भएको छ ।

यसैगरी चितुवाको दाह्रासहितको दाँतको भागको एक टुक्रा, कार्तोस बन्दुकामा लाग्ने प्रयोग भएका खाली खोका ४५, सोही बन्दुकमा प्रयोग हुने धातुका छर्रा १९१ थान, ३१५ ग्राम बारुद, सानो छर्रा डेढ सय र छर्रा बनाउन प्रयोग हुने सिसाको धातु झन्डै तीन केजी बरामद भएको तिवारीले बताए ।

बुधबार पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा म्याद थपी अनुसन्धान थालिएको र वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुरसमेत गरेकाले थप अनुसन्धान र कारबाहीका लागि अखेटोपहारसहित डिभिजन वन कार्यालय कास्कीमा पठाउन लागिएको तिवारीले बताए ।

प्रकाशित : माघ ७, २०७८ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×