१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश १ मा कोरोना संक्रमणको ‘हटस्पट’ बन्यो विराटनगर

देवनारायण साह

मोरङ — प्रदेश १ मा विराटनगर महानगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । महानगरमा मात्रै दैनिक संक्रमितको संख्या थपिने क्रम बढ्दै जाँदा बिहीबारसम्ममा प्रदेशकै कूल संक्रमितको ४१ प्रतिशत संक्रमित पुग्दा पनि बजार क्षेत्रको भिड नियन्त्रण नहुँदा कोरोना संक्रमण अनियन्त्रित हुने जोखिम बढेको हो ।

प्रदेश १ मा कोरोना संक्रमणको ‘हटस्पट’ बन्यो विराटनगर

कोरोना संक्रमणको लक्षण देखिएका सबै व्यक्तिले एन्टिजेन तथा पीसीआर परीक्षण नगराउने भएकाले पनि संक्रमणदर बढिरहेको छ ।

प्रदेशभरि कूल सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ रहेकोमध्ये विराटनगर महानगरमा मात्रै त्यसको ४१ दशमलव १३ प्रतिशत अर्थात् १ हजार ८ सय ५७ संक्रमित रहेका छन् । कोरोना संक्रमण बढ्दै गएकाले विराटनगरस्थित कोशी अस्पतालका ८३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कर्मचारीहरूमा संक्रमण देखिएपछि मालपोत तथा भूमि सुधार कार्यालयको सेवा ठप्प पारिएको छ । यहाँका अधिकांश सरकारी कार्यालय, प्रदेश सरकारका विभिन्न मन्त्रालयका कर्मचारी संक्रमित भएका छन् ।

सुनसरी-मोरङ औद्योगिक करिडोरमा कच्चा पदार्थ तथा मालवस्तु लिएर भारतबाट दैनिक १ हजारभन्दा बढी सवारी साधन विराटनगर भित्रिने गरेका छन् । मालबाहक सवारी लिएर आउने चालक र दुई जनासम्म सहचालक गरी दैनिक ३ हजारभन्दा बढी व्यक्तिले यहाँका चिया, नास्तालगायतका पसलमा स्वास्थ्य सुरक्षा मापदण्ड नै नअपनाई जाने गरेकाले संक्रमणदर बढेको हो ।

दैनिक संक्रमितको संख्या बढ्दै गए पनि यहाँका उद्योग, कलकारखाना, पसल, व्यवसाय र बजारमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरिरहेको देखिँदैन ।

जिल्ला प्रशासन कार्यालय मोरङले मास्क नलगाउनेलाई १ सय र उद्योग, व्यवसायमा स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउने उद्योगीलाई ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ । तर त्यसको कार्यान्वयन नहुँदा यहाँ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अटेरी हुने गरेको पाइएको हो ।

कोरोनाको तेस्रो भेरिएन्टले संक्रमितको स्वास्थ्यमा कम असर पार्ने हल्लाले पनि लक्षण देखिएका व्यक्तिहरू मौसमी रुघाखोकी भन्दै परीक्षण गराउन नजाने गरेको देखिन्छ ।

कोशी अस्पतालका प्रमुख डा. चुमनलाल दासले स्वास्थ्य सुरक्षा मापदण्डको पालनासँगै खोप सेवा प्रभावकारी बनाउनुको विकल्प नभएको बताए । ‘सर्वसाधारण सबैलाई कोरोनाबाट बच्ने उपायबारे जानकारी भइसकेकाले सबैले आफैं सचेतता अपनाउनुको विकल्प छैन,’ उनले भने, ‘सर्वसाधारणले अनावश्यक घर बाहिर ननिस्किने र लक्षण देखिए पीसीआर वा एन्टिजेन परीक्षण गराएर होमआइसोलनमा बस्नु अपरिहार्य छ ।’

उनले कोशी अस्पतालमा हालसम्ममा चिकित्सक तथा स्वास्थ्यकर्मी नै ८३ जना संक्रमित भइसकेकाले बिरामीलाई सेवा दिन पनि कठिनाइ भइसकेको विषय सबैले बुझ्नु आवश्यक भएको बताए ।

कोरोना संक्रमणको लक्षण देखिएका सबै व्यक्तिले एन्टिजेन र पीसीआर परीक्षण नगराएकाले पनि महानगरमा संक्रमणदर बढ्दै गएको छ । विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले कोरोनाको तेस्रो भेरिएन्टमा संक्रमितको स्वास्थ्यमा कम असर पार्ने गरेकाले परीक्षण गराउन नआउने गरेको बताए । जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने विषय कार्यान्वयनमा नआउँदा पनि बजार क्षेत्रको भिड नियन्त्रणमा समस्या भएको उनले बताए ।

महानगर प्रमुख भीम पराजुलीले ज्येष्ठ नागरिक, अपांग, अशक्तमा कोरोना संक्रमणको लक्षण देखिए घर-घरमा मोबाइल भ्यानमा गएर स्वाब संकलन गर्ने व्यवस्था गरेको तर त्यसका लागि सम्पर्क गर्न मानिसहरू हिच्किचाउने गरेको बताए । ‘अतिथि सदनमा रहेको स्वाब संकलन केन्द्रमा पनि कोरोना संक्रमणको लक्षण देखिएका कमै व्यक्तिहरू स्वाब दिन आउन गरेकाले पनि संक्रमणदर बढिरहेको छ,’ उनले भने, ‘त्यसैले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि शुक्रबारबाट महानगरको १९ वटै वडाबाट खोप अभियान सुरु गर्न लागेका छौं ।’

उनले वडा नम्बर ३, ५ र १५ मा डेडिकेटेड खोप केन्द्र राखेर खोप सेवा प्रवाह गर्ने तयारी गरिएको सुनाए । पराजुलीले स्थानीय बजार, उद्योग, पसल, कलकारखानामा सुरक्षाकर्मीसहितको टोली परिचालन गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेको बताए ।

प्रकाशित : माघ ६, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?