प्रदेश १ मा ३ सयभन्दा बढी स्वाथ्यकर्मी संक्रमित- प्रदेश १ - कान्तिपुर समाचार

प्रदेश १ मा ३ सयभन्दा बढी स्वाथ्यकर्मी संक्रमित

कान्तिपुर संवाददाता

विराटनगर — तेस्रो चरणको कोरोना कहरमा प्रदेश एकभर संक्रमित स्वास्थ्यकर्मीको संख्या ३ सय नाघेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार प्रदेशभर ७१ चिकित्सक, १ सय ४३ नर्स, ५१ कार्यालय सहयोगी र बाँकी प्रयोगशाला, रेडियोलोजी, पारामेडिक्स, प्रशिक्षार्थी स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीलगायतका छन् । प्रदेशका ३१ अस्पतालमा सबैभन्दा बढी संक्रमण कोसी अस्पताल, विराट मेडिकल कलेज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्यूरो अस्पतालका स्वास्थ्यकर्मीमा देखिएको छ ।

‘चिकित्सकीय सुविधाका कारण सेवाग्राहीको चाप हुने अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित हुँदैछन्,’ निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले भने, ‘सेवाग्राहीबाटै स्वास्थ्यकर्मी संक्रमित भइरहेको देखिएको छ; यसबाट समुदाय स्तरमा तीव्रताका साथ संक्रमण फैलिरहेको प्रष्ट हुन्छ ।’ ती अस्पतालका पीसीआर प्रयोगशालाबाट दैनिक सार्वजनिक हुने रिपोर्टले संक्रमण भयावह बनेको देखाउँछ । पीसीआर परीक्षण र उपचारका लागि दिनहुँ ठूलो संख्यामा संक्रमितहरू ती अस्पतालमा पुगिरहेका हुन्छन् ।

सेवाग्राहीले ‘राम्ररी मास्क लगाउने, सामाजिक दूरीको पालना, स्यानिटाइजरको सही प्रयोग र हातको सफाइजस्ता प्रोटोकलको उपेक्षा गरेमा अस्पतालका सबै चिकित्सक संक्रमित भएर सेवा नदिने अवस्थामा पुग्न सक्छौं,’ कोसीका वरिष्ठ फिजिसियन डा.लक्ष्मी नारायण यादवले भने ।

उनीलगायत कोसीका १२ वरिष्ठ चिकित्सकसहित ८३ स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेसनमा छन् । कोसीमा बिहीबार थप २ चिकित्सक, १ नर्स, १ पारामेडिक्स र ४ कार्यालय सहयोगी संक्रमित भएको मेसु डा. चुमनलाल दासले बताए ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा कोसीको कोरोना प्रयोगशालामा १ सय ८ जनाले परीक्षण गराएकोमा ७६ (७०.३७ प्रतिशत) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ४१ को परीक्षण हुँदा १ सय ८० (७४.६९ प्रतिशत) संक्रमित देखिएका छन् ।

विराट मेडिकल कलेजमा १ सय १० मध्ये ६२ (५६.३६ प्रतिशत), प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २ सय ६९ मध्ये १ सय ८८ (६९.८९ प्रतिशत) र न्यूरो अस्पताल प्रयोगशालामा १ सय ८७ मध्ये ७३ (३९.०४ प्रतिशत) संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।

डराएर उपचारका लागि सेवाग्राही नआइदिएमा व्यवसायमा नराम्ररी असर पर्नसक्ने हुनाले निजी अस्पतालहरुले यथार्थ विवरण दिन आनाकानी गर्दा संक्रमित स्वास्थ्यकर्मीहरूको यकीन तथ्यांक पाउन नसकिएको निर्देशक बस्नेतले बताए । उनले निर्देशनालयलाई प्राप्त जानकारीअनुसार संक्रमित स्वास्थ्यकर्मीको संख्या ३ सय नाँघेको देखिएको बताए ।

अहिलेको विषम स्थितिमा सेवा प्रवाहलाई अवरुद्ध हुन नदिन अस्पतालहरूले संक्रमित स्वाथ्यकर्मीलाई साताभरि आराम गरेर सेवामा फर्कन निर्देशन दिएका छन् । ‘नेगेटिभ रिपोर्ट आउने उसै पनि ड्यूटीमा फर्किहाल्छन्,’ मेसु दासले भने,‘अन्य संक्रमित स्वास्थ्यकर्मीलाई पनि सातापछि काममा फर्कन भनेका छौं ।’

कोसी अस्पतालका संक्रमितमध्ये १० कर्मचारी निको भएपछि काममा फर्किएका छन् । ‘पहिलो र दोस्रो चरणको कोरोना लहरमा १० देखि १४ दिनको प्रोटोकल थियो, अहिले ३ देखि ५ दिनमा निको भइरहेको हुनाले अस्पतालहरूले ७ दिनको प्रोटोकल बनाएका होलान्,’ निर्देशक बस्नेतले भने ।

प्रकाशित : माघ ६, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

रासस

काठमाडौँ — उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।

प्रकाशित : माघ ६, २०७८ १९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×