१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जनसम्पर्क हुने कार्यालयका बढी संक्रमित

मालपोतका कर्मचारीदेखि प्रहरी–प्रशासन प्रमुखसम्म संक्रमित, नियमित सेवा प्रभावित

विराटनगर —  जनसम्पर्क बढी हुने कार्यालयका कर्मचारी बढी संक्रमित हुन थालेका छन् । सेवाकै क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मालपोतका कर्मचारी एवं सेवा दिने क्रममा कोसी अस्पताल, न्युरो र नोबेल अस्पताल लगायतका चिकित्सकसहितका ठूलो संख्यामा कर्मचारी संक्रमित भएका छन् । 

जनसम्पर्क हुने कार्यालयका बढी संक्रमित

प्रजिअ काशीराज दाहाल र मोरङ प्रहरी प्रमुख जनार्दन जीसी तीन दिनदेखि आइसोलेसनमा छन् । ‘लक्षण देखिएलगत्तै कार्यालयको दैनिक कार्य सम्पादनमा असर नपर्ने गरी व्यवस्थापन मिलाइ आइसोलेसनमा बसेको छु,’ दाहालले भने । नागरिककता लिन आउनेको घुइँचोलाई कम गर्न उक्त कार्यालयले माघसम्मका लागि दिन तोकेर सेवा दिन थालेको छ । हरेकले मास्क लगाई सामाजिक दूरीको पालन गर्दै दैनिक व्यवहार गर्नुपर्ने संक्रमित एसपी जीसीले बताए ।

सर्वसाधारणले आधारभूत सावधानीमा ध्यान नदिँदा दैनिक सेवामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भइरहेको कोसी अस्पतालका मेसु डा.चुमनलाल दासले बताए । ‘जति अनुनयविनय गर्दा पनि सेवाग्राही मास्क नलगाई जबर्जस्ती चिकित्सकको कोठामा छिर्छन, मास्क लगाउनभन्दा घरमा छुटेको भन्दै रुमाल र पछ्यौरीले मुख छोप्छन्,’ उनले भने ।

तेस्रो चरणको कोरोना कहर सुरु भएयता कोसी अस्पतालका १० चिकित्सकसहित ७५ कर्मचारी संक्रमित भइसकेका छन् । संक्रमित हुनेमा २२ नर्स र बाँकी कार्यालय सहयोगी, सफाइ कर्मचारी र पारामेडिक्स भएको अस्पतालका डा. दासले बताए । उनले मंगलबारको पीसीआर रिपोर्टमा दुई वरिष्ठ चिकित्सकसहित ५ संक्रमित थपिएको बताए । अन्य ३ मा स्वास्थ्यकर्मी र कार्यालय सहयोगी छन् । यसअघि सोमबारसम्म अस्पतालका ७ चिकित्सकसहित ४१ कर्मचारीमा संक्रमणको पुष्टि भइसकेको उनले जनाए । डा.दासका अनुसार संक्रमितमध्ये २ प्रयोगशालाकर्मीसहित ४ सहयोगी कर्मचारी निको भएका छन् । अन्यले होम आइसोलेसनमा उपचार गरिरहेको डा. दासले बताए ।

स्थिति नसुध्रिएमा विभागहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना देखिएको उनले बताए । ‘कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भएका थुप्रै कर्मचारी अहिले होम आइसोलेसनमा छन्, कतिपयले पीसीआर परीक्षण गराउन बाँकी छ भने कतिको रिपोर्ट आइसकेको छैन,’ उनले भने । तेस्रो चरणको लहरको क्रममा सबैभन्दा पहिले ५ पुसमा कोसी अस्पतालको एक कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो । १५ पुस यतादेखि अहिलेसम्म थप ४५ कर्मचारीमा संक्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ । प्रदेशभरका ३१ अस्पतालमा २७३ स्वास्थ्यकर्मी संक्रमित छन् ।

विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका थप दुई कर्मचारीमा मंगलबार संक्रमणको पुष्टि भएको छ । ६ कर्मचारीमा संक्रमणको पुष्टि र बाँकी केहीमा मिल्दाजुल्दा लक्षण देखिएपछि आइतबारदेखि उक्त कार्यालयले दैनिक सेवा बन्द गरिसकेको छ । मालपोत कार्यालयका ८ कर्मचारी संक्रमित भएको उक्त कार्यालयका सूचना अधिकारी मिलन दाहालले बताए । मुख्यद्वारमै सुरक्षागार्ड राखेर मास्क लगाउनभन्दा पनि सेवाग्राहीहरूले नटेर्दा कर्मचारीहरू संक्रमित भएको कार्यालयका सूचना अधिकारी दाहालले बताए । ‘औपचारिकताका लागि सुरक्षागार्डको अगाडि देखाउनलाई मास्क लगाउने र भित्र प्रवेश गरेपछि खोल्ने गरेको देखियो,’ उनले भने ।

उक्त कार्यालयमा ५० कर्मचारी कार्यरत छन् । ‘संक्रमण पुष्टि भएका र लक्षण देखिएकालाई होमआइसोलेसनमा पठाएर अनिश्चिकालका लागि कार्यालय बन्द गरेको सूचना टाँस गर्यौं,’ दाहालले भने, ‘थप केही कर्मचारीको रिपोर्ट कुर्दैछौं, अवस्था हेरी आइतबारदेखि नियमित तवरले कार्यालय सञ्चालन हुन्छ ।’

संक्रमणपछि स्वास्थ्य समस्या निम्त्याउने हुनाले हरेक नागरिकले लाग्न नदिने उपायमा ध्यान दिनुपर्ने मोरंग स्वास्थ्य कार्यालयका प्रमुख डा.सुरेश मेहताले बताए । ‘छिटो सर्छ, छिटो निको हुन्छ भनेर मख्ख नपरौं, भएपछि औषधि खानैपर्छ, आइसोलेसनमा बस्नै पर्छ,’ उनले भने । ‘मास्क लगाउँदा, दुरी पालन गर्दा र सफाइमा विचार पुर्‍याउँदा सबैभन्दा पहिले आफू जोगिन्छौं भनेर बुझौं,’ डा. मेहताले भने, ‘नागरिकले यो सत्यलाई नस्विकार्दा अहिले नागरिककै सेवाका लागि खटिएका चिकित्सक, प्रहरी र कर्मचारी संक्रमित हुँदैछन् ।’

प्रकाशित : माघ ६, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?