प्रदेशभर स्वास्थ्यकर्मी अभाव,सेवा प्रभावित हुने चिन्ता

यहाँका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको ५५ प्रतिशत दरबन्दी रिक्त, सरकार भने १५२ शय्याको अस्पताल सञ्चालनको तयारीमा
देवनारायण साह

मोरङ — प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेका बेला चिकित्सक र स्वास्थ्यकर्मीको अभाव देखिएको छ । प्रदेशका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी ५५ प्रतिशतसम्म रिक्त छ ।

प्रदेशभर स्वास्थ्यकर्मी अभाव,सेवा प्रभावित हुने चिन्ता

प्रदेशमा मोरङबाहेकका १३ वटा जिल्ला अस्पतालमा रहेका ५ सय ७९ चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा ३ सय १९ जनामात्रै कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त अस्पतालहरूमा कुल २ सय ६० चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको हो ।

यस्तै, प्रदेशका सबै जिल्लास्थित स्वास्थ्य कार्यालयमा कुल १ सय ७३ दरबन्दीमध्ये ३१ प्रतिशत अर्थात् ५४ दरबन्दी रिक्त छ । प्रदेशस्थित ६४ आयुर्वेद अस्पताल तथा औषधालयमा कुल ९५ दरबन्दीमध्ये ३२ वटा दरबन्दी रिक्त रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले विराटनगरस्थित साल्ट ट्रेडिङको भवनमा सञ्चालन गरेको ९६ शय्याको कोसी कोभिड १९ उपचार केन्द्रमा समेत आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था हुन सकेको छैन । उपचार केन्द्रमा नियमित सेवा प्रवाहका लागि १४ चिकित्सक, २३ नर्सिङ स्टाफ, हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निसियन २, रेडियाग्राफर गरी कुल ४५ जना आवश्यक रहेको छ ।

आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन नहुँदै उपचार केन्द्रमा प्रदेश सरकारले थप १ सय ५२ शय्याको अस्पताल सञ्चालनको तयारी गरेको छ । उक्त थप शय्या सञ्चालनका लागि पनि सोही अनुसारको जनशक्ति व्यवस्थापन गर्नुपर्ने निर्देशनालयले जनाएको छ । संघीय सरकार मातहतको विराटनगरस्थित कोसी अस्पतालमा पनि दरबन्दी अनुसार चिकित्सक नहुँदा सेवा प्रभावित हुँदै आएको छ ।

अस्पतालमा प्रमुख कन्सल्टेन्ट चिकित्सकका १८ वटा दरबन्दीमध्ये १ जना मात्रै मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास कार्यरत छन् । दरबन्दीमा भएका दुई जना प्रमुख कन्सल्टेन्ट चिकित्सकमध्ये एक जना वीर अस्पताल र अर्का भरतपुर अस्पतालमा काजमा रहेको अस्पतालको तथ्यांकले जनाएको छ । वरिष्ठ कन्सल्टेन्ट ४० जनामा १६ जना मात्रै कार्यरत छन् । प्रमुख कन्सल्टेन्ट मेडिकल ल्याब टेक्नोलोजिस्ट जयवेन्द्र यादव प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशक भएर काजमा खटिएका छन् भने सह–प्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्टको दरबन्दी रिक्त रहेको छ । मेडिकल अधिकृत २३ जनाको दरबन्दीमा करारमा भर्ना गरेर र अस्पताल विकास समितिबाट २५ जना मेडिकल अधिकृत भर्ना गरेर जसोतसो अस्पताल सञ्चालन गरिरहेको मेडिकल सुपरिन्टेन्डेन्ट दासले बताए । ६१ जना स्टाफ नर्सको दरबन्दीमा ४६ जना मात्रै कार्यरत रहेको उनले सुनाए ।

अस्पतालमा कार्यरत चिकित्सकहरू पनि पछिल्लो समय धमाधम संक्रमित हुन थालेपछि सेवा प्रवाह कठिन भएको दासको भनाइ छ । अस्पतालमा कार्यरत ८ जना चिकित्सक, १७ जना नर्सिङ स्टाफ र २२ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी कुल ४७ जना संक्रमित भएको उनले बताए । ‘संक्रमितमध्ये ४ जना चिकित्सक पुनः काममा फर्केकाले सेवा प्रवाहमा केही राहत भएको छ,’ उनले भने, ‘चिकित्सकमा संक्रमण दर यस्तै रहयो र सरकारले दरबन्दीअनुसारको चिकित्सक तथा स्वास्थ्यकर्मी नपठाए सेवा ठप्प हुने अवस्था आउने देखिन्छ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्या भएको गुनासो पोखे । ‘पहिलो स्वास्थ्य रणनीति आएको २०५०/५१ सालतिरको जनसंख्यालाई लक्षित गरेर निर्धारण गरेको दरबन्दीको पनि ५५ प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएपछि वार्षिक वृद्धि हुँदै आएको जनसंख्यालाई स्वास्थ्य सेवा प्रवाह गर्नै नसक्ने अवस्था छ,’ उनले भने, ‘हाल दरबन्दीमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मी पनि सहर केन्द्रित भएकाले दूरदराजका ग्रामीण क्षेत्रका साथै दुर्गम क्षेत्र चिकित्सक तथा स्वास्थ्यकर्मी अभाव भएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, लोक सेवा आयोगलगायत माग्नुपर्ने हरेक ठाउँमा दरबन्दीअनुसारको चिकित्सक तथा स्वास्थ्यकर्मी पठाइदिन माग गर्दै आए पनि कहींबाट सुनुवाइ हुन नसकेको निर्देशक बस्नेतले गुनासो पोखे । प्रदेशवासीलाई महामारीबाट जोगाउन प्रदेश सरकारले नियमित छलफल, गोष्ठी गर्दै आए पनि हालसम्म आफै जनशक्ति व्यवस्थापन गर्न सकेको छैन । प्रदेशमा कोरोना संक्रमण द्रुत गतिमा फैलिन थालेपछि बल्ल प्रदेश सरकारले करारमा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्नाका लागि निर्देशिका तयार गर्न थालेको हो । कहिलेसम्म निर्देशिका बन्ने पनि यकिन नभएकाले कोरोना संक्रमित होम आइसोलेसनमा बस्ने गरेको र स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि निजी अस्पताल जान बाध्य छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार मंगलबारसम्ममा ३ हजार ११ जना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् । सिकिस्त ५६ संक्रमितमध्ये विराट शिक्षण अस्पतालमा १९, कोसी कोभिड १९ उपचार केन्द्रमा १३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११, जिल्ला अस्पताल सोलुखुम्बुमा ३, मेची अस्पताल भद्रपुर र बी एन्ड सी अस्पताल, बिर्तासिटी अस्पताल बिर्तामोड र आम्दा अस्पताल दमकमा २/२ र जिल्ला अस्पताल ओखलढुंगा र उदयपुरमा १/१ जना संक्रमितको उपचार भइरहेको छ । प्रदेश १ मा मंगलबारसम्ममा सक्रिय संक्रमितको संख्या ३ हजार ६७ पुगेको छ ।

संक्रमित दैनिक दोब्बर

सुनसरी– धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित चिकित्सक, नर्स र कर्मचारीको संख्या दिनदिनै बढेको छ । मंगलबार मात्र एकै पटक ६ जना चिकित्सकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

प्रतिष्ठानमा उपचारका लागि आएका ३ सय ७६ जनाको पीसीआर गरिँदा २ सय ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । त्यसैमा प्रतिष्ठानकै चिकित्सकहरू पनि परेका हुन् । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार प्रतिष्ठानमा कोरोना संक्रमणको अवस्था भयावह रहेको छ । उनले भने, ‘प्रतिष्ठानमा प्रदेश १ र २ का बिरामी उपचारका लागि आउने भएकाले तिनै बिरामी उपचारका क्रममा चिकित्सक र नर्सहरू संक्रमति भएका छन् ।’

एक सातायता कति जना चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थी संक्रमित भए त्यसको यकिन तथ्यांक भने निकाल्न बाँकी रहेको पोखरेलले बताए । संक्रमति चिकित्सक, नर्स र कर्मचारी होम आइसोलेसनमा बसेको पनि बताए । बिरामी उपचारमा संलग्न चिकित्सक, नर्स र कर्मचारीहरू संक्रमित भएपछि ओपीडी, वार्ड, शल्यक्रिया, शिक्षण, अनुसन्धान र दैनिक गतिविधिमा असर परेको सहप्रवक्ता डा. पोखरेलले बताए ।

प्रकाशित : माघ ५, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?