खोटाङका विकासे योजना ढिलासुस्ती गरेको भन्दै एमालेद्वारा प्रशासनको ध्यानाकर्षण

डम्बरसिं राई

खोटाङ — नेकपा एमाले खोटाङले जिल्लाका निर्माणाधीन विकासका कामलाई तीव्रता दिनुपर्ने माग राख्दै मंगलबार प्रशासनको ध्यानाकर्षण गराएको छ । निर्माण कम्पनीहरूको लापरबाहीले निर्माणाधीन विकासे काम अलपत्र परेको भन्दै तीव्र रुपमा काम सम्पन्न गर्न ध्यानाकर्षण गराएको हो ।

खोटाङका विकासे योजना ढिलासुस्ती गरेको भन्दै एमालेद्वारा प्रशासनको ध्यानाकर्षण

एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल लगायतका टोलीले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहललाई ध्यानाकार्षणपत्र बुझाएको हो । जिल्लामा निर्माणाधीन योजना ढिलासुस्ती र अनियमितता भएको औंल्याउँदै तीव्र रुपमा काम सम्पन्न र पारदर्शी हुनुपर्ने भन्दै ध्यानाकर्षण गराइएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

टोलीले मालपोत कार्यालयको सेवा प्रवाहमा समेत प्रश्न उठाएको छ । उक्त कार्यालयमा ढिलासुस्ती र अनियमितता गरेको जनगुनासो आएको र यसबारे प्रशासनलाई ध्यानाकर्षण गराएको दंगालले बताए ।

ध्यानाकर्षण पत्रमा फोक्सिङ्टारको निर्माणाधीन पुल, महुरे–फोक्सिङ्टार–गाइघाट सडक, दिक्तेल अस्पताल चोक–खानीडाँडा–आहाले सडक, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, हुर्लुङ–जालपा–बाक्सिला सडक, मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने पङखु खोला पुल, लप्से खोला पुल, मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माणाधीन सेखुवा सडक, विभिन्न पालिकाहरूमा बन्न सुरु भएका स्वास्थ्य संस्थाहरू, हलेसी बृहत खानेपानी लिफ्टिङ योजना, साप्सुखोला लिफ्टिङ खानेपानी योजना, दिक्तेल अस्पताल चोक साप्सुखोला–खोटाङबजार पाँचधारे सडक आयोजना लगायतमा ढिलासुस्ती तथा अनियमितता भएको आरोप लगाएको छ ।

एमालेले उठाएको विषयप्रति बेवास्ता गरिए आन्दोलनमा उत्रने अध्यक्ष दंगालले चेतावनी दिए । ध्यानाकर्षण पत्र बुझाउन एमाले सचिव कुमार आचार्य, सहसचिव तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजाल र अर्का सहसचिव सुरेन्द्रकुमार राई लगायत सहभागी थिए ।

प्रकाशित : माघ ४, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?