प्रदेशसँग समन्वय नगरी बुस्टर डोजको घोषणा

माघ २ बाट सुरु गर्ने भनेर मन्त्रालयबाट परिपत्र भए पनि खोप उपलब्ध नभएकोले सुरू हुन सकेन

विराटनगर — संघीय सरकारले प्रदेशका एकाइसँग समन्वय नगरी बुस्टर डोजको घोषणा गरेको खोजबिनबाट खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ माघदेखि फ्रन्टलाइनमा कार्यरतलाई बुस्टर दिने घोषणा गरे पनि प्रदेश १ मा खोप अभावमा सुरु हुन सकेको छैन । जनस्तरमा कुनै तयारी देखिएको छैन । 

प्रदेशसँग समन्वय नगरी बुस्टर डोजको घोषणा

‘पूर्ण खोपको रूपमा जसले जे लगाएको छ, बुस्टर डोजमा पनि त्यही दिनुपर्छ,’ स्वास्थ्य निर्देशनालयका एक अधिकृतले भने, ‘यसका लागि प्रदेशसँग बुस्टर डोज दिनलाई कोभिसिल्ड र भेरोसेल खोपको स्टक रहे/नरहेको समेत सोधिएन ।’

उपत्यकाको ललितपुरमा आइतबारबाट र काठमाडौंमा सोमबारबाट सुरु भएको छ । भक्तपुरमा मंगलबारबाट दिइने भनिएको छ । मुलुकले संघीयताको अभ्यास गरिरहँदा पनि उपत्यकालाई मात्र नेपाल सम्झेर कार्यक्रम घोषणा गर्ने र नीति बनाउने सोच कायमै रहेको स्वास्थ्य कार्यालय मोरङका एक अधिकारीले बताए । ‘हामीसँग दिनलाई त खोप पनि हुनुपर्‍यो, घोषणा गर्नु वा परिपत्र पठाउनु अगाडि अग्रपंक्तिको हकमा चाहिने अतिरिक्त खोप पठाएको भए वा कति आवश्यकता छ भन्ने सोधेको भए व्यावहारिक हुन्थ्यो,’ उनले भने, ‘पहिले तयारी कि घोषणा ?’

एकै पटक २ माघबाट सुरु गर्ने भनेर मन्त्रालयबाट परिपत्र भए पनि खोप उपलब्ध नभएकोले सुरु गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । ‘खोप मागिरहेका छौं, कतिपय जिल्लामा भण्डारणमा रहेकोबाट अग्रपंक्तिमा कार्यरतलाई लगाउन भनेका छौं,’ उनले भने ।

समग्र व्यवस्थापन मिलाउनुपर्ने भएकोले सबैतिर एक/दुई दिनभित्र सुरु गरिसक्ने सम्भावना रहेको निर्देशक बस्नेतले बताए । ‘कुनकुन जिल्लामा सुरु भयो वा भएनबारे जानकारी लिँदै छौं,’ उनले भने । फ्रन्टलाइनमा काम गर्ने र ६० वर्षका माथिलाई अतिरिक्त खोप दिइने सरकारले भनेको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा बुस्टर डोज लगाउनुपर्नेको संख्या करिब १२ लाख छ । ‘फ्रन्टलाइनका कतिलाई र ६० वर्षमाथिका कतिलाई भन्ने छुट्टै तथ्यांक निकाल्न बाँकी छ,’ निर्देशक बस्नेतले भने । स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेर २ माघदेखि अग्रपंक्तिमा खटिएकाहरूलाई र १४ माघदेखि ६० वर्ष एवं माथिका नागरिकलाई बुस्टर डोज दिने निर्णय सार्वजनिक गरेको थियो । पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई पहिले लगाएकै खोप बुस्टरको रूपमा दिइने विज्ञहरूले बताएका छन् ।

प्रकाशित : माघ ४, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?