प्रदेशका कारागारको दुरवस्था : खान, शौच गर्न जहिल्यै लाम- प्रदेश १ - कान्तिपुर समाचार

प्रदेशका कारागारको दुरवस्था : खान, शौच गर्न जहिल्यै लाम

प्रदेशस्थित १४ वटै जिल्लास्थित कारागारमा ३ हजार ४९ जना बस्ने क्षमतामा हाल ५ हजार ६२० जना
देवनारायण साह

मोरङ — सानो जस्ताको छाप्रोभित्र एउटा चुल्हो । त्यसको उत्तर, दक्षिणपट्टी लहरै मिलाएर राखेको दाउराको घेराबेरा । पश्चिमपट्टि रहेको ट्युबवेलसँगै भरिएको अव्यवस्थित रछ्यान । पूर्वपट्टि ५/७ जना बस्ने खाली ठाउँ र बीचमा कुकर, भात पकाएको भाँडो, तरकारीको कराहीजस्ता भाँडो खुट्टासमेत टेक्न नसक्ने गरी असरल्ल राखिएको थियो । यी दृश्य जिल्ला कारागार झापाको पुरुष बन्दी गृहको हो । 

झापा जिल्ला कारागारस्थित पुरुष बन्दीगृहमा साँघुरो जस्ताको छाप्रोभित्र दैनिक १ हजार २ सय १७ कैदीबन्दीले जसोतसो खाना पकाएर खान बाध्य छन् । उनीहरू त्यही छाप्रोको पूर्वी छेउको सानो ठाउँमा उभिएरै दैनिक पालैपालो खानासमेत खाने गरेका हुन् । व्यवस्थित, फराकिलो भान्छा र खाने ठाउँ नभएकाले दैनिक ८/१० जना भोकै बस्नुपर्ने अवस्था रहेको कैदीबन्दीले गुनासो पोखे ।

झापा जिल्ला कारागारका चौकिदार शेरबहादुर थेबेले बन्दीगृहभित्र भान्सा कोठाको ठूलो समस्या रहेको गुनासो पोखे । ‘एकातिर सानो छाप्रोमा खाना पकाएर खानुपर्ने र अर्कोतिर दैनिक कैदीबन्दीको संख्या बढ्दै जानुले समस्या थपिँदै गएको छ,’ उनले भने, ‘कारागारभित्र ५५० जना बस्ने क्षमता रहेकोमा १ हजार २१७ जना बस्नुपर्दा समस्या नै समस्या छ ।’ उनले शौचालयमा, हातमुख धुन, खाना खानलगायत हरेक कर्म गर्न लाइन बस्नुको विकल्प नभएको गुनासो पोखे । कारागारमा सेफ्टी ट्यांकीको पनि समस्या विकराल रहेको थेबेले सुनाए ।

‘कैदीबन्दीले उचित औषधि उपचारको सेवासमेत पाउन नसक्दा पछिल्लो महिना २ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘मेची अस्पतालले रेफर गरेपछि कैदीबन्दीले आफ्नो खर्चमा उपचार गराउन बाध्य छन् ।’

कैदीबन्दीको मुद्दाको फैसलाको समेत समयमा जानकारी नहुँदा अनाहकमा बढी समय कैद बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो पोखे । झापा कारागारमा महिला बन्दीगृहको ५० जना बस्ने क्षमता रहेकामा ३ जना आश्रित नाबालकसहित ५३ जना छन् ।

कारागार प्रमुख जेलर सावित्री बस्नेत कार्कीले भान्सा र सेफ्टी ट्यांकीको समस्या रहेको स्विकारिन् । उनले आफू भर्खरै सरुवा भएर आएकाले कारागारभित्रको समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताइन् । यस्तै, मोरङ कारागारमा पुरुषतर्फ २५० र महिलातर्फ ५० गरी कुल ३०० जना बस्ने क्षमता रहेकोमा अहिले पुरुषतर्फ ८८९ र महिलातर्फ ३ जना आश्रित बालबालिकासहित ७३ जना बस्न बाध्य छन् ।

सनसरीको झुम्का कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी बस्न बाध्य छन् । उक्त कारागारमा १ हजार ६ सय जना बस्ने क्षमता भएकोमा अहिले १ हजार ७९९ जना बसिरहेका छन् ।

यस्तै, ओखलढुंगा कारागारमा २० जना पुरुष र ५ जना महिला गरी कुल २५ जना कैदीबन्दी बस्ने क्षमता रहेकोमा ८५ जना पुरुष र एक जना आश्रित बालकसहित ११ जना गरी कुल ९६ जना बस्न बाध्य छन् । ओखलढुंगा कारागारका जेलर सुरेन्द्रबहादुर मुखियाले पुरानो जीर्ण भौतिक संरचनाभित्र दुई तल्ले खाट बनाएर साँघुरो ठाउँमा कैदीबन्दी सुत्न बाध्य रहेको गुनासो पोखे । इलाम र सोलुखुम्बुमा कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्यमा समस्या देखिए तत्काल अस्पताल लगेर उपचार गराउनुपर्ने समस्या रहेको जेलरहरूले बताए ।

खेटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायतको कारागार भवन चर्केको जीर्ण भवनभित्र क्षमताभन्दा बढी कैदीबन्दी बस्न बाध्य छन् । यी कारागारहरूमा खानेपानीको समेत समस्या रहेको कारागार प्रमुखहरूले सुनाए । इलाम कारागार प्रमुख प्रदिप श्रेष्ठले कारगार भवनको पुरानो जस्ता नफेरिँदा वर्षायाममा पानी चुहिँदा कैदीबन्दीहरू भिजेर समय बिताउन बाध्य हुने गरेको बताए । प्रदेशस्थित १४ वटै जिल्लास्थित कारागारमा पुरुष २ हजार ८२१ र महिला २२८ गरी कुल ३ हजार ४९ जना बस्ने क्षमतामा हाल ५ हजार ५५८ पुरुष र १२ जना आश्रित बालबालिकासहित २६२ महिला गरी कुल ५ हजार ६२० जना बसिरहेका छन् ।

हिमाली र पहाडी क्षेत्रका कारागारको पुरानो जीर्ण संरचनाभित्र साँघुरो ठाउँमा कैदीबन्दी बस्न बाध्य रहेको जेलरहरूले गुनासो पोखे । कारागारहरूभित्र भान्सा कोठा, शौचालय, खानेपानी, स्वास्थ्यकर्मी, कर्मचारी अभाव जस्ता समस्या रहेको छ । अधिकांश कारागारभित्र थप संरचना निर्माण भएको तर सरकारले क्षमता विस्तार नगरेको पाइयो । कारागार प्रमुखहरूका अनुसार जिल्लामा एक जना न्यायाधीश बसिरहेको समयमा निर्माण भएको कारागार जस्ताको त्यस्तै छ तर मुद्दाको चाप बढेकाले जिल्लामा अहिले तीन जनाभन्दा बढी न्यायाधीशहरू बस्न थालेका छन् ।

जनसंख्या वृद्धि भएर त्यहीअनुसार आपराधिक घटनामा पनि वृद्धि भएकाले कैदीबन्दीको संख्या बढेको तर कारागारको क्षमता नबढ्दा समस्या भएको कारागार प्रमुखहरूले सुनाए । कैदीबन्दीहरूलाई स्वास्थ्योपचारका लागि अस्पतालसम्म वा अदालतसम्म लग्नका लागि कारागारहरूमा सवारी साधनको समेत अभाव रहेको जेलरहरूले बताए ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले सुनसरीको झुम्का र झापा कारागार विस्तारका लागि संघीय सरकारले काम अघि बढाएको बताए । झापा कारागारका लागि १० बिघा जग्गासमेत खोजी भइसकेकाले प्रदेशस्तरको नयाँ कारागार निर्माण भएपछि क्षमताभन्दा बढी कैदीबन्दी बस्ने समस्या केही हदसम्म समाधान हुने उनले बताए ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कारागार कार्यालयहरूको अनुगमन गर्दा यी यस्ता समस्या पाइएको स्विकारेका छन् । ‘संघीय सरकारसँग समन्वय गरेर भौतिक संरचनाको विस्तारलगायत संरचनाको समस्या समाधानका लागि पहल थालेका छौं,’ उनले भने ।’

प्रकाशित : माघ ३, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

घोर्थली–कालिञ्चोक ३० किमि सडक निर्माण

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ को घोर्थली हुँदै दोलखाको प्रसिद्ध तीर्थस्थल कालिञ्चोक मन्दिर जोड्ने गरी ३० किलोमिटर सडक निर्माण भएको छ । प्रदेश सरकारको ४० लाख बजेटमा दुर्गम घोर्थली गाउँबाट कुरी बजार छेउसम्म सडक निर्माण भएको हो ।

पुस पहिलो साता सडकको ट्र्याक दोलखा र त्रिपुरासुन्दरीको सीमाभेगमा पुर्‍याइएको भए पनि कुरी बजारका केही स्थानीयको विरोधपछि काम रोकिएको थियो । आइतबार सडक निर्माण सकिएको हो ।

पर्यटकीय सडक जोडिएपछि त्रिपुरासुन्दरी र बाह्रबिसे नगरपालिकाका स्थानीयमा खुसी छाएको छ । घोर्थलीका ३० जना स्थानीय यही सडक हुँदै कालिञ्चोक दर्शन गर्न कुरी बजार पुगेका त्रिपुरासुन्दरी–१ का ८५ वर्षीय वडाध्यक्ष कर्णबहादुर खड्काले बताए । ‘सडकले पर्यटकीय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ,’ उनले भने ।

त्रिपुरासुन्दरी–३ का अध्यक्ष र गाउँपालिकाका भौतिक पूर्वाधार अनुगमन समितिका संयोजक सुकदेव रिसालका अनुसार महिना दिनदेखि रोकिएको सडकको काम सुरु गर्न कुरीका स्थानीय प्रतिनिधि, होटल व्यवसायी, प्रहरीलगायतबीच छलफलपछि सहमति भएको थियो । उनले विवाद नहोस् भन्न दुवै जिल्लाको सीमासाँध स्पष्ट गर्न जिल्ला मालपोत र अन्य निकायमा अनुरोध गर्दै कागजी प्रक्रिया गरिएको उल्लेख गरे ।

जिल्लाकै चर्चित मन्दिर लट्टेश्वर महादेव, पिस्कर गाउँ, सहिद इलेविरे थामीको सालिकस्थल, थामी संग्रहालयजस्ता महत्त्वपूर्ण स्थानसँग कालिञ्चोक जोड्ने योजना रहेको त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ । ‘यो बाटो खाडीचौर हुँदै भन्दा धेरै कम दूरीमा छ । त्यसका साथै अनेक तीर्थस्थल र पर्यटकीय स्थान हुँदै कालिञ्चोक मन्दिर पुग्न सकिन्छ,’ उनले भने ।

प्रकाशित : माघ ३, २०७८ १२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×