खोप सेवा प्रभावकारी बनाउन गाउँ-गाउँमा अभियान चलाइने

देवनारायण साह

मोरङ — स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप सेवा प्रभावकारी बनाउन तिथि-मिति तोकेर कार्यसूची बनाई गाउँ-गाउँमा अभियान चलाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

खोप सेवा प्रभावकारी बनाउन गाउँ-गाउँमा अभियान चलाइने

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उनले प्रदेश १ को कुन जिल्लाको कुन/कुन स्थानीय तहमा सबभन्दा कम १८ वर्षमाथिका व्यक्तिले खोप लगाएका छन् त्यहाँबाट खोप अभियान सञ्चालन गर्न आग्रह गरेका हुन् ।

कोरोना महामारीले आर्थिक गतिविधि र सक्रिय जीवनशैलीमा असर पर्न नदिनका लागि सम्पूर्ण तयारी गर्न उनले प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे । ‘आर्थिक गतिविधि र सक्रिय जीवनशैलीलाई ठप्प पारेर पूर्ण लकडाउनमा नजाने सरकारको रणनीति रहेकाले सोही अनुसार कोरोना नियन्त्रण र रोकथामको व्यवस्थापनमा जुटौं,’ उनले भने, ‘यसका लागि खोप सेवा १८ वर्षमाथिका प्रत्येक नागरिक लगाउनुको विकल्प छैन त्यसैले खोपको दुई मात्रा पूरा भएकालाई बुस्टर डोज खोप लगाउने अभियानसमेत सुरु गरिसकेका छौं ।’

कोरोनाको तेस्रो लहरमा विद्यालय पनि पूर्ण रुपमा बन्द नगर्ने सरकारको रणनीति रहेको खतिवडाको भनाइ थियो । उनले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भएकाले १५-२० दिन विद्यालय बन्द गरेर अवस्थाको अध्ययन गर्ने र त्यसपछि भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने योजना सार्वजनिक गर्ने बताए ।

उनले १ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन विश्व स्वास्थ्य संगठनले अनुमति दिनासाथ खोप लगाउन सुरु गर्ने सम्पूर्ण तयारी भइसकेको उनले बताए । यसका लागि मोडर्ना र फाइजर खोपका लागि पहिलो भुक्तानीसमेत गरिसकेको खतिवडाले बताए ।

प्रकाशित : माघ २, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?