भरुवा बन्दुक र गोलीबारुदसहित एक पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार

भरुवा बन्दुक र गोलीबारुदसहित एक पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — तीनवटा भरुवा बन्दुक एवं ठूलो परिमाणमा गोलीबारुद सहित पक्राउ परेका मोरङको मिक्लाजुङ गाउँपालिका–५ का ६० वर्षीय ईन्द्र बहादुर राईलाई प्रहरीले आइतबार मोरङ अदालतमा उपस्थित गराएको छ ।

उनीविरुद्ध अदालतबाट हातहतियार खरखजाना कसूरमा ५ दिनको अनुसन्धान म्याद पाएको मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङले बताए ।

लेटाङ–९ स्थित बसन्त हरियाली सामुदायिक वनमा शिकार खेल्दै गर्दा ३० पुसको बिहान प्रहरीले उनलाई ३ नाल भरुवा बन्दुक, १८ वटा गोली, २ डब्बा बारुद, ५ पोका छर्रा र एक खुकुरीसहित पक्राउ गरेको थियो ।

मुकारुङका अनुसार उनले पुर्ख्यौली हतियार र गोलीबारुदलाई जिल्ला प्रशासनमा नबुझाई सिकार खेल्न प्रयोग गरिरहेका थिए । राईले स्थानीय जंगलमा चित्तल, बँदेल र चराचुरुङगीको सिकार गर्दैआएको प्रहरीको भनाइ छ ।

प्रकाशित : माघ २, २०७८ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्

त्यो पहिलो नमुना जनगणना

जंगबहादुरले गराएको १६८ वर्षअघिको जनगणनामाथि रेग्मी र टण्डनले ल्याए पुस्तक
कान्तिपुर संवाददाता

काठमाडौँ — ‘नेपालको पहिलो नमुना जनगणना : ऐतिहासिकता, महत्व र उपादेयता’ (वि.सं.१९१०–१९१३) पुस्तक सार्वजनिक भएको छ । इतिहासविद् प्रा.डा. जगदीशचन्द्र रेग्मी र संस्कृतिविद् डा. गोविन्द टण्डनले ऐतिहासिक सामग्री प्रकाशनमा ल्याएका हुन् ।

ग्रन्थरत्न प्रकाशनले प्रकाशित गरेको पुस्तक राजधानीमा आयोजित कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना र वरिष्ठ पत्रकार भैरव रिसालले सार्वजनिक गरेका हुन् ।

पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले विसं.१९१० देखि १९१३ सम्म भक्तपुर, ललितपुर र काठमाडौंको जनगणना गराएका थिए । तर त्यसले निरन्तरता पाएको थिएन । नेपालमा १९६८ सालमा औपचारिक राष्ट्रिय जनगणना सुरु भएको हो । त्यसपछि हरेक १० वर्षको अन्तरालमा हुँदै आएको जनगणनाको १२ औं श्रृंखला यही २०७८ मंसिर ९ मा सम्पन्न भएको छ ।

रेग्मीका अनुसार प्राप्त ऐतिहासिक सामग्रीले जंगबहादुरको समयमा भएको जनगणनालाई नेपालको पहिलो नमुना जनगणना पुष्टि गरे पनि सरकारले भने त्यसलाई मान्यता दिएको छैन । ‘वि.स.१९१० को अभिलेखलाई आधार मानेर त्यस मितिलाई नेपालमा जगणना तथ्यांक प्राप्त पहिलो भन्ने हाम्रो दाबी छ,’ ४० वर्षअघि अभिलेख प्राप्त गरेको उल्लेख गर्दै इतिहाविद् रेग्मीले भने, ‘पहिलो जनगणना १९६८ सालमात्र भनियो तर जंगबहादुरले गराएपछि बीचमा खाली रहेको समयले इतिहास रच्न सकेन । तर जनगणनाको इतिहासमा यसले स्थान पाउनु पर्छ ।’

पहिलो जनगणनाले निरन्तरता नपाएकाले बेवास्ता गरिएको हुनसक्ने रेग्मीको अनुमान छ । ‘पहिलो जनगणनालाई सामाजिक अभिलेखका रूपमा महत्वपूर्ण छ,’ रेग्मीले भने, ‘समाजमा जे पनि चाहिन्छ । अस्तित्वमा रहेका अभिलेखलाई हाम्रो बचाएर राख्ने काम हो ।’ प्राप्त अभिलेख प्रकाशनका निम्ति केन्द्रीय तथ्यांक विभागलगायत सरकारको विभिन्न निकायलाई गुहारेको तर बेवास्ता गरिएको रेग्मीले गुनासो पोखे ।

संस्कृतिविद् टण्डनका अनुसार तीनवटा ठेलीमा प्राप्त अभिलेखको तयारी जंगबहादुरका विश्वासिला व्यक्ति कप्तान सिताराम खत्री र सुवेदार जगतबहादुर खत्रीले गरेका थिए । १९१० सालमा भक्तपुरमा लिइएको जनगणनालाई ‘सहर भादगाउँका घरजहान्को किताप’ भनिएको छ । त्यसमा भक्तपुरका टोलहरूको नाम, टोलभरिका देवीदेवता, देवलको नाम तथा संख्या, व्यक्तिको घर तथा घरको प्रकार, महिला पुरुष, जग्गाजमिन उल्लेख छ । जसमा २४ टोल, ५ हजार २ सय ४१ घर र जनसंख्या ३० हजार ३४ उल्लेख छ ।

त्यसैगरी १९११ मा ललितपुरमा गरिएको जनगणना ‘सहर पाटनका घर–जाहानको किताप्’ उल्लेख छ । त्यसमा पाटन सहरको २५ टोलमा ५ हजार ६ सय ३७ घर रहेको उल्लेख छ । त्यसमा बसोबास गर्ने जनसंख्या २८ हजार ७ सय १४ थिए । देवीदेवता (मन्दिर), सत्तल, पाटी, धारा, इनार र पोखरीको समेत संख्या तथा पाटन सहरभरिका पसलहरू, तिनका मालिकको नाम/थर, पसलको प्रकारसमेत उल्लेख छ । यसैगरी पाटन सहरको बाहिरको समेत २ सय ३३ घर, १ हजार २ सय ५० जनसंख्या लगायत विवरण उल्लेख छ ।

यस्तै, ‘काठमाडौं पाटन पूर्वपश्चिम स्मेत्को जिल्लाबाट घरजाहान्को किताप्’ अभिलेखमा घर, जनसंख्या, देवीदेवता आदिको संख्या उल्लेख छ । ‘चावहिल र पशुपति भेकको विस्तृत विवरण तथा देवीदेवता, पाटीहरूको विवरण प्रस्तुत गरिएको छ,’ इतिहासविद् रेग्मीले भने, ‘१९१३ मा देउपाटन भेकमा हैजाले मृत्यु हुनेहरूको परिचय र संख्या दिइएको छ ।’ यसैमा विभिन्न ३२ जिल्लाको नामसमेत उल्लेख छ ।

‘नेपालको पहिलो नमुना जनगणनाले उन्नाइसौं शताब्दिको नेपाली जनजीवनसँग सम्बन्धित धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक पक्षहरूको विषयमा अध्ययन गर्न सघाउ पुग्नेछ,’ टण्डनको दावी छ, ‘नेपालको भूगोल, त्यहाँका बासिन्दाहरूको विस्तार र अवस्थाबारेमा खोजीमेली गर्नका लागि उन्नाइसौं शताब्दीको परिस्थितिबारे केही जानकारी दिन सक्छ, जुन १ सय ६५ वर्षअघिको कुरो हो ।’ जम्मा ७ सय ६० पृष्ठको पुस्तकबारे शताब्दी पुरुष सत्यमोहन जोशी, पत्रकार भैरव रिसाल र तेजेश्वरबाबु ग्वङ्गले शुभेच्छा व्यक्त गरे ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा ‘नेपालको पहिलो नमुना जनगणना’ पुस्तक सार्वजनिक गर्दै पूर्वसभामुख दमननाथ ढुंगाना र वरिष्ठ पत्रकार भैरव रिसाल । तस्बिर सौजन्य : वसन्त खड्का

प्रकाशित : माघ २, २०७८ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×