राजवंशी समुदायले मनाए ‘तिला सुकराती’ पर्व

मोरङ — विराट राजवंशी समुदायले शनिबार तिला सुकराती पर्व मनाएका छन् । पर्वको अवसरमा विराट राजवंशी उत्थान समितिले आयोजना गरेको कार्यक्रममा तिल खिचडी, भुजा, च्युरा, तिलको लड्डु सामूहिक भोजन गरेर शुभकामना आदान प्रदान गरेका हुन् ।

राजवंशी समुदायले मनाए ‘तिला सुकराती’ पर्व

कार्यक्रममा राजवंशी समुदायका अगुवा तथा अवकाश प्राप्त शिक्षक बन्दीलाल राजवंशीले तिला सुकरात पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वका बारेमा जानकारी गराएका थिए । ‘माघ १ बाट एउटा तिल बराबर प्रत्येक दिन लामो हुने र जाडो घट्दै जाने भएकाले पर्वका रूपमा तिला सुकरात मनाउँदै आएका छौं,’ उनले भने, ‘यो पर्वको अवसरमा हिन्दु धर्मावलम्बीले बिहानै स्नान गरेर कुलदेवतालाई पूजा गरी दूधमा मुछेको तिल, सक्खर र चामलको प्रसाद ग्रहण गरेर भोजन गर्ने परम्परा छ ।’

पुसभरिको जाडोमा स्नान नगर्नेले पनि यस दिन स्नान गरेर भोजन गर्ने परम्पराले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको उत्थान समितिका अध्यक्ष भुनेश्वर मण्डल राजवंशीले बताए । उनले अहिलेको सूचना प्रविधिको युगमा सांस्कृतिक महत्त्वका पर्वहरूको बारेमा नयाँ पुस्तामा सचेतना जगाएर पुस्तान्तर गर्नु आवश्यक भएको बताए । कार्यक्रममा उत्थान समितिका मोरङ अध्यक्ष प्रदीप विश्वास राजवंशीले विराट राजवंशी समुदायको

सांस्कृतिक उत्थानको दायित्व युवाको काँधमा आएको बताए ।

विराट राजवंशी समुदायका युवा नेता दिवस राजवंशीले अल्पसंख्यक विराट राजवंशीको उत्थान फुटेर नभई सबैले जुटेर गर्नु आवश्यक भएको बताए । ‘मुलुकमा आएको संघीयताले सबै जात, धर्म, समुदायलाई आ–आफ्नो विकासका लागि अवसर प्रदान गरेको छ,’ उनले भने, ‘त्यसैले प्राप्त राजनीतिक अधिकारलाई उपयोग गरी विराट राजवंशी समुदायको उत्थानमा लाग्नुको विकल्प छैन ।’

प्रकाशित : माघ २, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?