कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नयाँ पर्व ‘भाक्का दिवस’

अर्जुन राजवंशी

बिर्तामोड — पाँच वर्षअघि पुस २९ गते राजवंशी समाजका केही अगुवाहरु बिर्तामोडमा भेला भएर परम्परागत खाना ‘भाक्का’ को संरक्षण र प्रवर्द्धन गर्नेगरी भाक्का दिवस मनाउने निर्णय गरे । दोस्रो वर्ष घैलाडुब्बाको एउटा गाउँमा कोचिला गाभुर फ्रन्टका पदाधिकारी र स्थानीयहरु मिलेर भाक्का दिवस मनाए ।

नयाँ पर्व ‘भाक्का दिवस’

तेस्रो वर्ष राजवंशी गाउँभन्दा बाहिर बिर्तामोडको मुख्य चोकमा भाक्का दिवस मनाइयो । कोचिला गाभुर फ्रन्टको अगुवाईमा चौथो र पाँचौं भाक्का दिवस पनि बिर्तामोडमा मनाइयो । बिहीबार पाँचौं राष्ट्रिय भाक्का दिवस मनाइरहँदा झापामा एउटा नयाँ पर्व स्थापित भएको छ । पुस २९ को दिन जिल्लाका आदिवासी गाउँहरुमा भाक्का दिवस मनाउने लहर चलेको छ । बिहीबार, जिल्लाको बिर्तामोड, शिवगञ्ज, लख्रिगद्दी, राजगढलगायतका स्थानमा भाक्का दिवस कार्यक्रम आयोजना भए ।

‘भाक्का प्राय: सबैलाई मनपर्ने खान्की हो । पाँच वर्षदेखि मात्रै त भाक्का दिवस मनाउन थालेका हौं । अहिले गाउँ गाउँमा भाक्का दिवस मनाउन थालिएको छ,’ राजवंशी समाज विकास समितिका पूर्व जिल्ला अध्यक्ष टोमलाल राजवंशीले भने । भाक्का दिवस कुनै जाति वा समुदाय विशेषमा मात्र सीमित नरहेको कांग्रेस प्रदेश १ सभापति उद्धव थापा बताउँछन् । ‘भाक्का पूर्वको सबैभन्दा लोकप्रिय खाना हो । यसको संरक्षण र प्रवर्द्धनमा मनाइने भाक्का दिवस कुनै जाति विशेषको मात्र हुन सक्दैन । भाक्का दिवस हामी सबैको साझा पर्वको रुपमा अघि बढेको छ, ’ उनले भने ।

भाक्का पूर्वी तराईमा बसोबास गर्ने राजवंशी जातिको परम्परागत खाना हो । जाडो सिजनमा पूर्वका अधिकांस चोक बजारमा भाक्का खान पाइन्छ । बिना मिसावट विशुद्ध चामलको पिठोलाई पानीको बाफमा उमालेर भाक्का बनाइन्छ । अर्गानिक र मिसावटरहित हुने भएकाले भाक्का सबैको रोजाइमा पर्दै आएको छ ।

राजवंशी समुदायले जाडो सिजनमा छोरी–चेली बोलाएर कुनै एक दिन विशेष रुपमा परिवारका सबै भेला भई भाक्का खाने चलन छ । राजवंशी समुदायमा माछा, हाँसको मासु, आलु–कोपी–भान्टाको तरकारी, अचार र चियासंग भाक्का परिकार खाने परम्परागत चलन रहेको इतिहासविद फूलसिंह राजवंशीले बताए ।

‘राजवंशीइतर जाति समुदायमा भाक्का भनेको जाडो सिजनमा चोक बजारमा विपन्न महिलाले गर्ने एउटा व्यापार हो । र, भाक्का सामान्य अचारसँग खाइन्छ भन्ने मात्र बुझाइ छ,’ भाक्का दिवस मनाउन सुरुवात गर्ने कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले भने,‘त्यो बुझाइ पर्याप्त थिएन । भाक्का हाम्रो समुदायको एउटा विशेष र महत्वपूर्ण खाना हो । यो खानालाई कसरी खानुपर्छ । भाक्का खानुको महत्व के के छ भनेर सबैलाई जानकारी दिनका लागि भाक्का दिवस मनाउने थालनी गरेका हौं ।’

प्रकाशित : पुस २९, २०७८ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?