धरानमा समुदायस्तरमा फैलिँदै कोरोना

धरान — कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिएसँगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा पीसीआर परीक्षण गर्न आएकामा पोजिटिभ देखिनेहरू ह्वात्तै बढेका छन् । 

धरानमा समुदायस्तरमा फैलिँदै कोरोना

प्रतिष्ठानमा अरू नै रोगव्याधिको उपचार गर्न आएका र शल्यक्रिया गर्नुपर्ने बिरामी, वैदेशिक प्रयोजनका लागि र स्वेच्छाले पीसीआर टेस्ट गर्न आएकामध्ये पोजिटिभ रिपोर्ट देखिनेको संख्या एकसातामा आक्रामक रूपमा बढेको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार पुस २५ मा ९४ जनाको परीक्षण गर्दा शून्य रिपोर्ट आएकोमा २६ गते ७० जनामा ६ जनालाई र २७ गते ८२ जनाको परीक्षण गर्दा १९ जनामा पोजिटिभ देखिएको छ ।

पोखरेलले भने, ‘पोजिटिभ देखिनेको संख्या एक्कासि बढे पनि प्रतिष्ठानको कोभिड अस्पतालका आईसीयू र भेन्टिलेटरमा २ जनामात्र उपचाररत छन् । गम्भीर बिरामी कमै भर्ना भएकाले कोभिड अस्पताल खाली नै छ । यद्यपि, सबै तयारी अवस्थामा भने छौं ।’

धरान उपमहानगरपालिका र वडा कर्मचारी, स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि वडा १४ र २० बुधबारदेखि एक सातालाई सेवा बन्द गरिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।

उनका अनुसार बिहीबारदेखि अन्य वडाहरू पनि बन्द गर्न समन्वय भइरहेको छ । वडा १३, १४, १९, ७, ११ र २० का वडा सचिव र अन्य कर्मचारी संक्रमितपछि एक साताका लागि वडा कार्यालय बन्द गर्ने समन्वय भइरहेको छ । लक्षण देखिएपछि १८ कर्मचारीको परीक्षण गरिएकामा १५ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । संक्रमित भएकामध्ये ८ जनालाई धरान–१९ स्थित हरियाली सामुदायिक वनस्थित आइसोलेसन सेन्टरमा राखिएको मेहताले बताए ।

धरानमा तीन सातायता विभिन्न सांगीतिक/सांस्कृतिक कार्यक्रम, धरान मेलामा खेलकुद कार्यक्रम भइरहेका छन् । मेलामा स्वास्थ्य मापदण्ड पालना नगरी विभिन्न जातीय झाँकीसहित नगर परिक्रमा र भेला गरिाएको थियो । ओमिक्रोन भेरिएन्ट फैलिएसँगै सुनसरीको डीसीसीएमसी बैठकले बुधबारदेखि लागू हुने गरी कुनै पनि किसिमको कार्यक्रम, खेलकुद, मिटिङ, गोष्ठी नगर्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलेओमिक्रमको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन र भौतिक दूरी कायम गर्न, माघ १ देखि सार्वजनिक सेवा, होटल, रेस्टुराँ, सिनेमा हल, रंगशाला प्रवेशमा खोप कार्ड देखाउन निर्देशन दिएका छन् ।

प्रकाशित : पुस २९, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?