कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एन्टिबडी बनेकालाई पनि बुस्टर डोज आवश्यक’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोभिड संक्रमणपछि गरेको अध्ययनमा ९० प्रतिशतमा रोग प्रतिरोधी क्षमता

विराटनगर — प्रदेशवासीको रगतको नमुना परीक्षण गर्दा अधिकांशमा एन्टिबडी बनेको देखिए पनि बुस्टर डोज लिन जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोभिड–१९ संक्रमणपछि गरेको एक अध्ययनमा ९० प्रतिशतमा रोग प्रतिरोधी क्षमता (एन्डिबडी) बनेको देखिएको छ ।

‘एन्टिबडी बनेकालाई पनि बुस्टर डोज आवश्यक’

झन्डै चार महिना लगाएर तयार पारिएको यो अध्ययन–प्रतिवेदनका लागि उदयपुर, सुनसरी, मोरङ र झापाका १ हजार १ सय ५३ जनामा परीक्षण गरिएको थियो ।

‘पोजिटिभ देखिएर एक महिना कटेकाको रगतको परीक्षणलाई पहिलो प्राथमिकतामा राख्यौं,’ प्रयोगशालाका वरिष्ठ निरीक्षक शेखर मिश्रले भने । संक्रमण भएको एकदेखि तीन महिना वितेका धेरैमा एन्टिबडी बनेको देखिएको उनले बताए । ‘यो सोधले स्थानीयबासीको शरीरले बनाउन सक्ने रोग प्रतिरोधक क्षमता र संक्रमणपछि शरीरको प्रतिक्रियाबारे थाहा हुन्छ,’ उनले भने । प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले परीक्षणमा सहभागीमध्ये ९६ प्रतिशत संक्रमित र यीमध्ये पनि ७२ प्रतिशत लक्षणयुक्त रहेको बताए । एन्टिबडी बनेका ४६ प्रतिशत खोप लगाएका र ग्रामीण भेकका बढी भएको उनले बताए ।

‘एन्टिबडी देखिएका ८८ प्रतिशत संक्रमित भएकाले वा खोप लगाएका कारण हुनसक्छ,’ यादवले भने, ‘संक्रमणपछि निको हुने क्रममा शरीरमा पनि स्वतः एन्टिबडी बन्छ ।’ उनको अनुसार संक्रमितमध्ये ९० प्रतिशतमा र कोभिड नभएका ३२ प्रतिशतमा समेत एन्टिबडी बनेको देखिन्छ ।

उक्त अध्ययनमा सहभागी जनस्वास्थ्य विज्ञ डा.सुरेश मेहताले रोग प्रतिरोधात्मक क्षमता बनिसकेकाले पनि ‘बुस्टर डोज’ लिन जरुरी रहेको बताएका छन् । उनले भने, ‘रोग प्रतिरोधक क्षमता बनेको केही दिन पछि घट्न थाल्ने हुनाले बढाउनलाई बुस्टर डोज दिनैपर्छ ।’ तेस्रो लहरको संक्रमण तीव्र बन्दै गएको सन्दर्भमा यसको महत्व झनै बढेको डा.मेहताले बताए । पूर्ण मात्राको खोप लगाएको कम्तिमा तीन महिना र बढीमा छ महिनाभित्र बुस्टर डोज लगाउनु पर्ने उनले जनाए ।

‘संक्रमित भएको केही महिनापछि एन्टिबडी बनेकाले पनि पूर्ण खोप र बुस्टर डोज लिनैपर्छ, रोग प्रतिरोधक क्षमतालाई कायम राख्नलाई यो जरुरी छ,’ डा.मेहताले भने, ‘पहिले लिएकै खोप लिनुपर्छ, चिकित्सकसँग परामर्श गर्न सकिन्छ ।’ तर सर्वसाधारणले सहज ढंगले बुस्टर डोज कहिलेसम्म लगाउन पाउने भन्ने बारेमा भने सरोकारवाला प्रस्ट छैनन् । प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले सरकारले माघदेखि बुस्टर डोज दिने भने पनि हाललाई त्यो कार्यक्रम स्थगित गरिएको बताए ।

पूर्ण खोप लिनेको संख्या बढाएर मात्र अगाडि बढ्ने माथिबाट निर्देशन आएको उनले जनाए । निर्देशक बस्नेतका अनुसार एकै पटक सबैखाले खोप कार्यक्रम अगाडि बढाउँदा जनशक्ति र साधनस्रोत लगायतको व्यवस्थापनमा समस्या आउन सक्छ । ‘प्रदेश १ मा पूर्ण खोप लगाएकाले कहिलेसम्म बुस्टर डोज लगाउन पाउँछन् भन्ने सम्बन्धमा यकिन भन्न सकिन्न,’ उनले भने ।

प्रकाशित : पुस २९, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?