अन्तर्वार्ता लिएर पत्रकार निरौलाले राखे विश्व रेकर्ड

सोलुखुम्बु — १० वर्षअघि अस्ट्रेलियामा कायम भएको विश्वकै लामो रेडियो अन्तर्वार्ताको रेकर्ड नेपालका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले तोडेका छन् ।

अन्तर्वार्ता लिएर पत्रकार निरौलाले राखे विश्व रेकर्ड

नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताको विधाबाट सोलुखुम्बुलाई आधार बनाएर पत्रकारिता क्षेत्रमा क्रियाशील निरौला र पर्यटनविद् शेर्पाले विश्व किर्तिमान कायाम गरेका हुन् ।

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुमा सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तर्वार्ता लिएर यसअघि अस्ट्रेलियामा भएको २४ घण्टाको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन् । ‘पर्यटन र जलवायु परिर्वतनका असर’ विषयमा विश्वकै लामो रेडियो अन्तर्वार्ता गत कात्तिक २२ गते सोमबार बिहान ७:३५ मा सुरु भई कात्तिक २३ गते मंगलबार बिहान ९:१ सम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाडौंबाट प्रसारण गरिएको थियो ।

निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले सोमबार मान्यता दिँदै आफ्नो वेभसाईटमा अस्ट्रेलियाको अभिलेख हटाएर नेपालको राखेको छ ।

आधिकारिक मान्यता पाएपछि पत्रकार निरौलाले यो कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्व राख्ने भन्दै देशकै लागि एउटा कीर्तिमान थप्न सकेकोमा गौरव महसुस भएको बताए । पर्यटनविद् आङफिन्जो शेर्पाले आफ्नो कोसिसले सार्थकता पाएकोमा खुसी व्यक्त गरे ।

यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अस्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेलविज्ञ पिटर फिट्ज्मिन्ससँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड थियो । निरौला कान्तिपुर दैनिक तथा कान्तिपुर टेलिभिजनको सोलुखुम्बु संवाददाता हुन् ।

प्रकाशित : पुस २७, २०७८ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?