पाँचथरमा सबैखाले कार्यक्रम गर्न प्रतिबन्ध


काठमाडौँ — जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समिति (डिसिएमसी) पाँचथरले सार्वजनिक स्थलमा राजनैतिक, प्रशासनिक र सामाजिक कार्यक्रम गर्न रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले आजैबाट यस्ता कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो । बैठकले नियमित र अत्यावश्यक कार्यक्रम गर्नुपर्ने भए स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्यका सबैखाले मापदण्ड पालना गरेरमात्रै सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी सार्वजनिक स्थलमा मेला महोत्सव र भेला नगर्न तथा जुनसुकै कार्यक्रममा २५ जनाभन्दा धेरै मानिस भेला नगर्न/नगराउन पनि रोक लगाइएको प्रजिअ न्यौपानेले बताए ।
बैठकले कोरोना विरुद्वको खोप उमेर पुगेका सबै नागरिकको पहुँचमा पुर्याउन अभियान चलाउनका साथै माघ ७ गतेदेखि खोप लगाएको कार्ड नदेखाइ प्रवेश गर्न नदिने निर्णयसमेत भएको छ । विद्यालयहरुमा जारी परीक्षा स्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
