नोबेल मेडिकल कलेजका विद्यार्थी मंगलबार पनि प्रदर्शनमा- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नोबेल मेडिकल कलेजका विद्यार्थी मंगलबार पनि प्रदर्शनमा

देवनारायण साह

मोरङ — अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् । पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा आन्दोलनरत विद्यार्थीहरुले आइतबारदेखि कलेजमा रिले अनशन बस्दै आएका हुन् ।

रिले अनशन बस्ने क्रममा आइतबार सुरक्षा गार्डको आक्रमणले नेकपा (एकिकृत समाजवादी)का भातृ संगठन अनेरास्ववियूका सचिव किसन भगतको टाउको फुटेर घाइते भएका थिए ।

पीडित विद्यार्थीहरुले ५ विद्यार्थी संगठनको सहयोगमा कलेज प्रशासनमा पुस २१ गते नै तालाबन्दी गर्दा समेत समस्या समाधान गर्नेतर्फ राज्य र कलेज प्रशासनको ध्यान नपुगेको भन्दै गुनासो पोखे ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विद्यार्थीहरूलाई कलेजले अतिरिक्त शुल्क मागेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिन आग्रह गरेका छन् । तर‚ एमबीबीएस अध्ययनका क्रममा कलेजले आन्तरिक मूल्यांकन गरेर परीक्षामा अंक दिने भएकाले कलेजविरुद्ध उजुरी दिन नसकेको बताएका छन् ।

अनेरास्ववियू मोरङका नविन पहाडीले कलेज प्रशासनले परीक्षामा आन्तरिक मूल्यांकनको अंक नदिई अनुत्तीर्ण गराउने भएकाले कलेजविरुद्ध उजुरी गर्नु विद्यार्थी र अभिभावकका लागि चुनौतीपूर्ण रहेको बताए । राज्यले विद्यार्थीको समस्या समाधानका लागि अघि बढ्नुपर्ने पीडित विद्यार्थीहरुले माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ ।

कलेजमा रहेको एक सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको तर आफूहरूलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाएकाले पीडित विद्यार्थीहरुले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

कलेजले आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि अपील गरेका थिए । तर‚ हालसम्म सो विषयमा कतै सुनुवाइ हुन सकेको छैन ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर‚ कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौता पत्रमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् ।

प्रकाशित : पुस २७, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमणपछि लता मंगेशकर अस्पताल भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय विख्यात गायिका लता मंगेशकरलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगेशकरलाई सामान्य लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ । 

तस्बिर स्रोत : डीएनए इण्डिया

मंगेशकरलाई आईसीयूमा राखिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी छन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी छन् ।

प्रकाशित : पुस २७, २०७८ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×