१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खोप आयो, लगाउने आएनन्

सुनसरी, मोरङ र झापामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रदेश सरकारले खोप अभियान सुरू गर्न सकेको छैन
देवनारायण साह

मोरङ — जनस्तरमा खोप सेवा पुर्‍याउन प्रदेश १ सरकारले सकेको छैन । प्रदेशमा खोप पर्याप्त हुँदा पनि लक्ष्य अनुसार लगाउन सकेको छैन । प्रदेशमा जनघनत्व बढी भएको सुनसरी, मोरङ र झापामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउने अभियानसमेत अहिलेसम्म सञ्चालन गर्न सकेको छैन । जनस्तरमा खोप सेवा पुर्‍याउन नसक्दा सर्वसाधारण ओमिक्रोन भेरिएन्टको जोखिममा पर्ने देखिएको छ । 

खोप आयो, लगाउने आएनन्

प्रदेश १ मा शुक्रबारसम्ममा ५० लाख ९२ हजार १ सय ४६ डोज खोप आइसकेको छ । जसमध्ये यस प्रदेशस्थित १४ जिल्लामा ४६ लाख ४६ हजार ६ सय ८६ डोज वितरण भएको र ४ लाख ४५ हजार ४ सय ६० डोज प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका खोप संयोजक उदेश्य श्रेष्ठका अनुसार १८ वर्ष माथि उमेरका २२ लाख ९६ हजार ४ सय ३ जनाले पहिलो डोज र १६ लाख ६ हजार ७ सय ३९ जनाले दुवै डोज खोप लगाइसकेका छन् । प्रदेशमा १८ वर्ष माथिका ३७ लाख जनालाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य छ ।

यस्तै, सुनसरी, मोरङ र झापाबाहेक ११ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २ लाख २ सय ४८ बालबालिकालाई मोडर्ना खोप लगाइसकिएको श्रेष्ठले बताए । उनका अनुसार यस समूहका ५ लाख ६३ हजार २ सय ५२ जनालाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य छ । विदेश जानेका लागि जोन्सन एन्ड जोन्सन खोप लगाउने प्रदेश सरकारले व्यवस्था गरेको उनले बताए । प्रदेश सरकारले सुनसरी, मोरङ र झापामा हालसम्म १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु गर्न सकेको छैन । संघीय सरकारले माघ १५ सम्मका लागि विद्यालय बन्द गर्ने निर्णयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा नै गएर खोप सेवा दिने प्रदेश सरकारको योजना तत्काल पूरा नहुने देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले यसअघि संघीय सरकारले सुनसरी, मोरङ र झापाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि समयमा माडर्ना खोप नपठाइदिएकाले खोप लगाउन ढिलाइ भएको बताए । उनले यी तीन जिल्लास्थित विद्यालयहरूमा केन्द्र राखेर खोप लगाउने तयारी गरिरहेकै बेला संघीय सरकारले माघ १५ सम्मका लागि विद्यालय बन्द गर्न गरेको निर्णयले अप्ठयारो भएको स्विकारे । अब छलफल गरेर यी तीन जिल्लाका बालबालिकालाई खोप लगाउने उपाय खोज्ने बस्नेतले बताए । यस प्रदेशका ११ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यक्रम चलिरहेको उनले सुनाए ।

‘प्रदेशमा खोप पर्याप्त भए पनि लगाउने व्यक्तिको संख्या कम देखिएकै हो,’ निर्देशक बस्नेतले भने, ‘खोप लगाउनेको संख्या बढाउनका लागि स्वास्थ्य कार्यालय, स्थानीय तहलगायतका पार्टनर संस्थाहरूसँग पटक पटक समन्वय, छलफल गर्दै आएको तर पनि खोप लगाउनेको संख्यामा खासै वृद्धि हुन सकिरहेको छैन ।’ उनले पुस मसान्तसम्ममा ६६ प्रतिशतमा र चैतसम्ममा शतप्रतिशतमा खोप सेवा पुर्‍याउने लक्ष्य रहेको बताए ।

अहिले सञ्चालन भइरहेको खोप सेवाले सरकारी लक्ष्य पुर्‍याउन कठिन देखिन्छ । अहिले प्रदेश सरकारले स्वास्थ्य संस्थाबाट खोप सेवा सञ्चालन गर्दै आएको छ । आफैले खोप लगाउनुपर्छ भनेर बुझेका व्यक्तिहरू मात्रै स्वास्थ्य संस्थामा गएर खोप लगाइरहेका छन् । तर निमुखा, गरिब, विपन्न, श्रमिक वर्ग जसले स्वास्थ्य सुरक्षा मापदण्डसमेत पालना गर्ने तरिका जान्दैनन् र कोरोना संक्रमणको सबभन्दा बढी जोखिममा छन्, त्यही वर्ग खोप सेवाबाट वञ्चित रहेको प्रदेश सरकारको नै तथ्यांकले जनाएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका निमित सचिव फडीन्द्र खत्रीले पछिल्लो समय भइरहेको हरेक बैठक र छलफलमा खोप पर्याप्त भए पनि लगाउनेको संख्या नबढेको सवाल उठ्दै आएको बताए । ‘प्रदेशमा अहिले खोपको समस्या छैन तर खोप लगाउन व्यक्ति नआइदिँदा समस्या भएको हो,’ उनले भने, ‘सचेत वर्ग, जान्ने, बुझ्ने, शिक्षित वर्ग नै स्वास्थ्य संस्थामा गएर खोप नलगाइदिने गरेकाले तल्लो वर्गको विषयमा कुरा गरेर के हुन्छ ?’ केन्द्रमा खोप लगाउन नजाने र खोप नागरिकको घरदैलोमा पुर्‍याउन जनशक्ति नभएको अवस्थामा खोप लगाउनेको संख्या वृद्धि गर्न चुनौतीपूर्ण देखिएको खत्रीको भनाइ छ ।

‘अहिले आइरहेको ओमिक्रोन भेरिएन्टको संक्रमण दर आक्रामक रहेकाले सम्पूर्ण लक्षित समूहलाई खोप सेवा प्रदान गर्नुको विकल्प छैन,’ उनले भने, ‘त्यसैले सम्पूर्ण प्रदेशवासी आ–आफ्ना जिम्मेवारी बोध गरेर नजिकको खोप केन्द्रमा गई खोप लगाइदिन आग्रह छ ।’ खोप लगाउनका लागि सर्वसाधारणलाई प्रोत्साहित गर्न स्थानीय नागरिक समाज, बुद्धिजीवी, सामाजिक संघ, संस्था, स्थानीय तहले आ–आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्नुको विकल्प नभएको खत्रीको भनाइ छ ।

अवकाश प्राप्त चिकित्सक डा. शीतल यादवले कोरोना महामारीको जोखिम न्यूनीकरणको एकमात्र साधन खोप भएकाले जुनसुकै मूल्यमा पनि सर्वसाधारणसम्म खोप सेवा पुर्‍याउन सरकारलाई सुझाव दिएका छन् । ‘मान्छे भोकले भन्दा रोगले मर्न सहज ठानेरै खोप नलगाएको बुझ्नु आवश्यक छ,’ उनले भने, ‘गरिब, निमुखा, विपन्न, श्रमिक वर्गले दैनिक ज्याला मजदुरी छोडेर खोप लगाउन नगएकाले नै खोप लगाउनेको संख्या कम देखिएकाले सरकारले आफ्नो अनुकूल खोप केन्द्रबाट नभई सर्वसाधारणको अनुकूल समयमा घरघरमा गएर खोप लगाउनु पर्छ ।’ घर घरमा गएर खोप अभियान सञ्चालनका लागि सरकारले अहिलेको महामारीको बेला बेरोजगार जनशक्तिलाई स्वयंसेवकका रूपमा भए पनि उपयोग गरेर खोप सेवा सर्वसाधारणसम्म पुर्‍याउने यादवको सुझाव छ ।

सामाजिक विकासमन्त्री जयराम यादवले जनघनत्व कम भएको हिमाली र पहाडी जिल्लामा ७०/८० प्रतिशतले खोप लगाएको तर जनघनत्व अत्यधिक भएको सुनसरी, मोरङ, झापा, उदयपुरलगायतका जिल्लामा खोप लगाउनेको संख्या अत्यन्तै कम हुनु चिन्ताको विषय भएको स्विकारे । ‘सचेत नागरिकले बुस्टर डोज लगाउन माग गरिरहेका छन् तर निमुखा, गरिब, विपन्न, श्रमिक वर्गले खोपको पहिलो मात्रा पनि लगाउन पाएका छैनन्,’ उनले भने, ‘उनीहरू खोपको अभावले नभई जनचेतनाको अभावले खोप लगाउन नआएको हुँदा स्थानीय तहका साथै सामाजिक संघ संस्थाको भूमिका आवश्यक भएको छ ।’

समाजका अगुवा, नागरिक समाज, बुद्धिजीवी, स्थानीय तहले आ–आफ्ना गाउँ, टोल, समाज, क्षेत्रमा खोप नलगाएकाहरूलाई खोप केन्द्रमा गएर खोप लगाउन भूमिका निर्वाह गरिदिन मन्त्री यादवले आग्रह गरेका छन् ।

प्रकाशित : पुस २७, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?