'राष्ट्रिय सभा पछिका निर्वाचनमा गठबन्धन सँगै जानेबारे त्यसैबेला टुंगो लाग्छ'

विनोद भण्डारी

विराटनगर — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन सरकार आगामी राष्ट्रिय सभा निर्वाचनसम्म सँगै जाने र त्यसपछिका निर्वाचनमा त्यसैबेला टुंगो लाग्ने बताएका छन् ।

'राष्ट्रिय सभा पछिका निर्वाचनमा गठबन्धन सँगै जानेबारे त्यसैबेला टुंगो लाग्छ'

महामन्त्री शर्माले गठबन्धन सरकार आगामी तीन तहको निर्वाचन सम्मसँगै हिँड्ने प्रसंगलाई विवाहको निम्तो मान्न पुग्दा पुन: पास्नीको निम्तो स्वीकारे जस्तै भएको बताए । कहिलेकाहीँ विवाहको निम्तो मान्न पुग्दा त्यही घरमा पास्नीको निम्तो पनि आउने गरेको उल्लेख गर्दै शर्माले मंगलबार विराटनगरमा संवाददाताहरुसँग भने, 'वर्तमान गठबन्धन सरकार आगामी तीन तहको निर्वाचनसम्म एक भएर जाने भन्ने प्रसंग पनि त्यही हो ।'

'पहिला विवाहको निम्तो मानि सकौँ,' उनले थपे, 'त्यसपछि पास्नीमा जाने नजाने त्यसैबेला निश्चित हुन्छ ।' वर्तमान गठबन्धन राष्ट्रिय सभा निर्वाचनसम्म सामूहिक रुपमा अगाडि बढेको उल्लेख गर्दै त्यसपछिका निर्वाचनको सवालमा त्यसैबेला टुंगो लाग्ने उनको भनाइ थियो ।

पार्टीभित्र देखिएको हालको मर्यादाको प्रसंगमा उनले नेता नेताकै ठाउँमा रहने उल्लेख गर्दै कसैले जिम्मेवारी पाउने बित्तिकै नेता भन्दामाथि नहुने बताए । 'नेता नेताकै ठाउँमा रहन्छन् । म महामन्त्रीको जिम्मेवारीमा छु,' उनले भने, 'म मेरै ठाउँमा रहन्छु ।'

पार्टीको हालै सम्पन्न महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धामा को जित्यो र को हार्‍यो भन्ने विषय 'पास्ट टेन्स भइसकेको' उल्लेख गर्दै शर्माले वर्तमानमा कांग्रेस एक रहेको दाबी गरे ।

आन्तरिक प्रतिस्पर्धामा भएको कटुता बिर्सिएर कांग्रेस एक भएर आगामी तीन तहको निर्वाचनमा होमिनुको विकल्प नरहेको शर्माको तर्क थियो । 'नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिस्ट पढेर केन्द्रीय समिति गठन गरे जस्तो कांग्रेसको केन्द्रीय समिति होइन । कांग्रेसको केन्द्रीय समिति आन्तरिक प्रतिस्पर्धाबाट गठन भएको हो,' उनले भने, 'यस्तोमा एक आपसमा कटुता बढ्नु स्वाभाविक हो । तर, त्यसलाई कांग्रेसजनले बिर्सिसकेका छन् ।'

वर्तमान गठबन्ध सरकारको सफलता र असफलता दुई विषय खोप र भोटमा केन्द्रित रहने शर्माको भनाई थियो । 'सरकारको सफलता र असफलता मापन गर्ने अरु विषय पनि होलान्,' उनले भने, 'तर खोप र भोट सरकारका मुख्य सूचक हो ।' महामारीमा सरकारले सर्वसाधारणलाई आवश्यकता अनुसार खोपको व्यवस्था गरेर सफलता हात पारेको शर्माको दाबी थियो ।

प्रकाशित : पुस २०, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?