कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

६ वर्षदेखि युवती खोरमा

पाँचथर — मानसिक समस्या भएकी एक युवती ६ वर्षदेखि खोरमा थुनिएर बसेकी छन् । समयमै उपचार नहुँदा फाल्गुनन्द–४ चिलिङदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङ खोरमा थुनिएकी हुन् । 

उनकी आमा पृथ्वीमायाका अनुसार नन्दकुमारी ७ वर्षअघि बिरामी परेकी थिइन् । धामी झाँक्रीलाई देखाउँदा ‘महारानी उत्रन लागेको’ भन्दै झारफुक गरिएको थियो । झारफुकपछि समस्या झन् बल्झिएको परिवारले जनाएको छ । उनलाई घर अगाडि छाप्रामा खोर बनाएर राखिएको छ ।

‘देवारीले देउता बिग्रेको भनेका छन्, महारानी उतार्न धामीझाँक्री लगाउँदा धेरै खर्च भयो, उनका बुबा तीन वर्षअघि बिते, छोराहरू एकपछि अर्को गर्दै घर छोडेर हिँडे, म बूढीलाई तलमाथि भयो भने यसलाई कस्ले स्याहार्ला ?’ पृथ्वीमायाले भनिन् । नन्दकुमारी पृथ्वीमाया र स्वर्गीय हर्कवीरकी जन्तरी छोरी हुन् । जन्माएका १२ जनामध्ये ३ छोरा र ४ छोरीको सानैमा मृत्यु भएको थियो । अहिले उनीबाहेक जीवित रहेका २ छोरी र २ छोरा साथमा छैनन् ।

बहिनीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बिदेश गएका दाजु परिवारको सम्पर्कमा छैनन् र अर्का भाइ श्रीमती र छोराछोरीसहित घरै छोडेर हिँडेका छन् । एक्लिएकी पृथ्वीमाया खेती गर्न सक्दिनन् । छोरीको भविष्यप्रति चिन्ता गरिरहन्छिन् । उनको स्वास्थ्य अवस्था पनि कमजोर बनेको स्थानीय जनप्रतिनिधि कविन्द्र लावती बताउँछन् । स्थानीय जनप्रतिनिधिका अनुसार आमा छोरीको दिनचर्या वडा कार्यालयबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबाट चलेको छ ।

आर्थिक अवस्था कमजोर रहनुका साथै आफन्त र परिवारका सदस्यले साथ नदिँदा उनको उपचार र उद्धार हुन नसकेको हो । नन्दकुमारीलाई गाउँपालिकाले अपांगता परिचयपत्र दिएको छ ।

एक पटक गाउँपालिकाबाट पुगेका जनप्रतिनिधिले उनी र आमालाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका थिए । ‘त्यसपछि कहींकतैबाट सहयोग नपाएको आमाछोरीको अवस्थाप्रति कसैले वास्ता गरेको छैन,’ छिमेकी आशा बेघाले भनिन् ।

प्रकाशित : पुस २०, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?