२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बजेट नआउँदा विमानस्थलको काम प्रभावित

विनोद भण्डारी

विराटनगर — तीन तहका सरकारको संयुक्त लगानीमा विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा स्तरोन्नति गर्ने सहमति भए पनि संघीय सरकारले बजेट नदिँदा काम प्रभावित भएको छ । यो विमानस्थललाई क्षेत्रीयस्तरमा परिणत गर्न आवश्यक जग्गाको मुआब्जा संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत व्यर्होने सहमति भएको थियो ।

बजेट नआउँदा विमानस्थलको काम प्रभावित

सहमतिमा तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राई र महानगर प्रमुख भीम पराजुलीले हस्ताक्षर गरेका थिए । संघीय सरकारको स्वीकृतिमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि ३ सय ५० घरसहित अन्य जग्गाधनीको १ हजार ४ सय कित्ताको १ सय २६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्ने भनेको थियो । त्यसका लागि डेढ वर्षदेखि रोक्का गरेर मुआब्जा तिर्न नसक्दा सम्बन्धित घर र जग्गाधनी आन्दोलन गर्दै आएका छन् ।

प्राधिकरणले मुआब्जाका लागि १६ अर्ब रुपैयाँ माग गरेको छ । संघीय सरकारले बजेट नदिँदा स्तरोन्नति प्रभावित भएको प्रदेश सरकार र महानगरपालिका प्रमुखको गुनासो छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले बजेट नआउँदा विमानस्थल विस्तार गर्ने सम्झौताअनुसार काम हुन नसकेको बताए । महानगर प्रमुख भीम पराजुलीले संघीय सरकारले सहमतिअनुसार बजेट उपलब्ध नगर्दा स्थानीयको घरजग्गा रोक्का गरेर मुअब्जाका लागि सूचना जारी गरिसक्दा पनि मुअब्जा उपलब्ध गराउन नसकिएको गुनासो गरे ।

सहमति अनुसार १६ अर्ब मुअब्जामध्ये संघीय सरकारले ८ अर्ब, प्रदेशले करिब ७ अर्ब र विराटनगर महानगरपालिकाले डेढ अर्ब रकमको व्यवस्था गर्नुपर्छ । हाल एक हजार ५ मिटर धावन मार्ग रहेको विराटनगर विमानस्थलको धावन मार्ग ३ हजार मिटर पुर्‍याउन संघीय सरकारले दुई वर्षअघि १ सय २६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्न प्राधिकरणलाई अनुमति दिएको थियो । त्यसकै आधारमा प्राधिकरणले ३ सय ५० घरसहित अन्य जग्गाधनीको १ हजार ४ सय कित्ता जग्गा डेढ वर्षदेखि रोक्का गरेको थियो । विमानस्थलको धावन मार्गको लम्बाइ ३ हजार मिटर चौडाई ३० मिटरका बनाउने गुरुयोजना छ ।

विमानस्थलले डेढ वर्षअघि स्थानीय ३ सय ५० घरपरिवारसहित अन्य जग्गाधनीको १ हजार ४ सय कित्ता जमिन रोक्का गरेर आर्थिक कारोबार नै बन्द गरेको पीडित संघर्ष समितिका संयोजक वेदराज पौडेलको भनाइ छ । जुन प्रयोजनका लागि घरजग्गा रोक्का गरिएको हो त्यो प्रयोजन पूरा नभएसम्म फुकुवा गर्न नमिल्ने विमानस्थल प्रमुख उत्सव खरेलले बताए । यस विमानस्थलबाट हाल काठमाडौंका लागि दैनिक ४४ उडान र अवतरण गर्दै आएको र दैनिक दुई हजार यात्रुले सेवा लिँदै आएको खरेलले बताए । यसबाहेक सौर्य एयरलाइन्सले भैरहवा उडान गर्दै आएको र अन्य प्रदेशमा पनि उडान गर्ने प्रयास भइरहेको खरेलले बताए ।

यसअघि विराटनगरबाट केही समयका लागि भारतको पटनामा पनि उडन भएको थियो । विराटनगर विमान स्थललाई क्षेत्रीय अन्तराष्ट्रियस्तरमा स्तरोन्नति गरेपछि यहाँबाट भारत, बंगलादेश, चीन, भुटान, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड र मलेसिया उडान गर्ने योजना छ ।

प्रकाशित : पुस १७, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?