२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भेडेटारमा परिकार महोत्सव, भारतीय पर्यटक आकर्षित

धनकुटा — अंग्रेजी नयाँ वर्षको अवसर पारेर पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा सुक्रबारदेखि तीनदिने परिकार महोत्सव सुरु गरिएको छ । महोत्सवमा पूर्वका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य रुपमा पर्यटक भेडेटारमा आइपुगेका छन् ।

भेडेटारमा परिकार महोत्सव, भारतीय पर्यटक आकर्षित

होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा आगामी १८ गतेसम्म महोत्सव आयोजना हुनेछ । प्रदेश नं.१ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले शुक्रबार महोत्सवको उद्घाटन गरेका थिए ।

यस अवसरमा मन्त्री कार्कीले पर्यटनको महत्वपूर्ण गन्तव्य भेडेटारलाई पर्यटनको थप पूर्वाधार विकासमा प्रदेश सरकारको उच्च चासो जाने बताए । उनले प्रदेश नं.१ कृषि र पर्यटनको प्रसस्त सम्भावना भएकोले यसतर्फ प्रदेश सरकारको प्राथमिकता रहने जानकारी दिए ।

होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा भएको महोत्सवमा स्थानीयस्तरका परिकार र घरेलु उत्पादन समावेश गरिएको आयोजक समितिका संयोजक जितेन्द्र रुम्दाली राईले जानकारी दिए । नयाँ वर्षमा भारतीय नागरिकको बिदा हुने भएकाले उनीहरूलाई पूर्वी नेपाल र भेडेटारमा आकर्षित गर्न परिकार महोत्सवले मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

२०६९ सालदेखि हरेक वर्ष आयोजना हुँदैआएको महोत्सव कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन। यसपटक गरिएको नवौं महोत्सव हो । धरान र धनकुटाको पर्यटन प्रर्वद्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि महोत्सव आयोजना गर्ने तयारी गरिएको होटल एसोसिएसन अफ भेडेटारका सल्लाहकार नरबहादुर चेम्जोङले बताए ।

महोत्सवमा विभिन्न जाति परिकारका स्टल, अर्गानिक खानाका दुई दर्जन स्टल समावेश छन् । यस्तै, राई जातिको साकेला, लिम्बूको केलाङ, याम्फुको गेलाङ् लगायत जातिको जातीय संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको छ।

यस्तै स्थानीय कृषि उत्पादनका स्टल पनि राखिएको आयोजक होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ। महोत्सवको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय अवलोकन, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ।

यस्तै डाँडाबजारमा रहेको विशाल रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसम्बन्धी उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जनाएको छ।

महोत्सवमा भेडेटार बजारका होटल, घरेलु उद्योग मार्फत् बाँसबाट बनेका सामग्री, खुकुरी, ढाका कपडा, जातीय परिकार गरी १५ विविध प्रकारका स्टल समावेश गरिने छ । महोत्सवमा करिब ३० हजार पर्यटक सहभागी हुने आयोजकको आकलन छ। करिब १९ लाख खर्च हुने अनुमान गरिएको महोत्सवको अवधिमा भेडेटारमा करिब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ।

प्रकाशित : पुस १६, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?