१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बाक्लो हिमपातका कारण सोलुखुम्बु–ओखलढुंगा सडक अवरुद्ध

भानुभक्त निरौला

सोलुखुम्बु — बुधबार बिहानदेखि लगातार परेको हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुमा सवारी आवागमन प्रभावित बनेको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पत्ताले डाँडामा बाक्लो हिउँ जमेका कारण सडक यातायात ठप्प बनेको हो ।

बाक्लो हिमपातका कारण सोलुखुम्बु–ओखलढुंगा सडक अवरुद्ध

पत्ताले बजारको सडकमा एक फिट भन्दा बढी बाक्लो हिउँ जमेपछि सवारीसाधन आहोरदोहोरमा समस्या उत्पन्न भएको हो ।

सोलुदुधकुण्ड नगरपालिका ८ मा पर्ने पत्ताले क्षेत्रको पत्ताले बजारदेखि ठाडेसम्म ७ किलोमिटर भन्दा बढी सडकमा हिउँ जमेकोले सवारी आवागमनमा समस्या भएको हो । ‘बिहानदेखि फाट्टफुट्ट बाहेक नियमित सवारीसाधानहरु कठमाडौं जान सकेका छैनन्,' जिल्ला ट्राफिक इन्चार्ज कृष्ण कटुवालले कान्तिपुरसँग भने, ‘यात्रु बोक्ने जिप एउटै पनि पत्तालेबाट पास हुन सकेका छैनन् ।’

सोलुखुम्बुबाट राजधानी र अन्य क्षेत्रका लागि न्युनतम दैनिक ३० वटाको संख्यामा जिप छुट्ने गरेका छन् । ‘आज एउटै पनि गाडी पत्ताले क्रस गर्न सकेनन्’ दुधकुण्ड यातायात समितिका काउण्टर इन्चार्ज छिरिङ तामाङले भने, ‘गन्तब्य तय गरेका सैयौं यात्रुहरु अलपत्र छन् ।’

पत्ताले क्षेत्रको सडक अवरुद्ध भएसँगै जिल्ला भित्रिने तथा बाहिरिने सवारीसाधनको लागि वैकल्पिक मार्ग नहुँदा जिल्लासँग सडक सम्बन्ध नै विच्छेद हुन पुगेको छ । जसका कारण यात्रुबाहक सवारीसाधनका अलावा खाद्यान्न ढुवानी र निर्माण सामाग्री बोक्ने मालबहाक गाडी पनि सीमामै अलपत्र परेका छन् । जिल्ला निर्माणाधिन आधा दर्जन भन्दा बढी ठूला जलविद्युत आयोजनालाई यसको प्रत्यक्ष असर परेको छ ।

अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ । ‘सडकको हिउँ हटाउनका लागि सडक विभागबाट सानो स्काभेटर झिकाएर काम सुरु गरिएको छ,’ सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले भने । समुन्द्री सतहबाट ३ हजार मिटरको उचाइमा पर्ने उक्त सडक खण्डमा बर्सेनि हिमपातका कारण सडक अवरुद्ध हुने गर्दछ ।

प्रकाशित : पुस १५, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?