कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
चिसो बढ्यो

याक खर्कतिर, चौंरी गुफामा

चौंरी र याकलाई यसरी छुट्याउनुको कारण याकले गर्मी सहँदैन, चौंरी हिमालमा बस्न सक्दैन । याकलाई हिउँदमा भारी बोकाउन मिल्दैन, चौंरीलाई मिल्छ ।
आनन्द गौतम

ताप्लेजुङ — आफ्ना २ सय याकलाई मिक्वाखोला–५ पापुङका मिलन दोर्ची शेर्पाले हालै संखुवासभा पुर्‍याए । ती याक ताप्लेजुङको तोक्पेगोला हुँदै संखुवासभाको भोटखोला–२, खर्कमा ल्याएर छाडिए । बेलाबेला चौंरी हेरिदिन स्थानीयलाई जिम्मा दिएका उनले त्यसबापत पछि गोठ फर्काउने बेलामा एउटा चौंरीको बाच्छो वा आपसी समझदारीमा पैसा दिने गर्छन् । 

याक खर्कतिर, चौंरी गुफामा

हेरालुले याकलाई १५–२० दिनमा एक पटक नुन खुवाइदिनुपर्छ । हेरिदिनेका लागि एक बोरा चामल र तरकारी पनि पुर्‍याएका छन् । हेरालोले हिउँ परेका बेला अप्ठेरो भीरतिर गए फर्काइदिनुपर्छ । याक आफ्नै समूहमा रहेर चर्छन् । जब चिसो कम हुन्छ तब गएर आफ्नै जिल्लाको खर्कमा फर्काउँछन् । यहाँका ताम्ला शेर्पाले पनि सय वटा याक भोटखोलै पुर्‍याइदिए । तर मिलन र उनका याकको चरन झन्डै एकदिनको फरकमा छ ।

सात दिनको फरकमा पुर्‍याएका उनले करिब ३ हजार २ सय मिटर उचाइँको लोदेन खर्कमा छोडिदिएका छन । उनी आफैं भने चौंरी लिएर गुफातिर लागेका छन । सयको हाराहारीमा चौंरी र बाछाबाछी लिएर झरेका हुन् । ताप्लेजुङ, तेहृथुम र संखुवासभा जिल्लाको संगमस्थल गुफापोखरी क्षेत्र पारिलो र न्यानो भएकाले त्यहाँ झरेका हुन ।

यहाँ भने मिलन र ताम्लाको गोठ सँगसँगै जस्तो छ । भारी बोकाउन मिल्ने भएकाले दोबाटोलाई पनि हेरेर गुफा ल्याउने गरेको मिलन बताउँछन । हिउँ परेर बाटो बन्द हुँदा वा सडकदेखि भित्री बजारसम्म चौंरीलाई बोकाएर गन्तव्यमा भारी पुर्‍याउँछन र आम्दानी गर्छन् । चौंरी र याकलाई यसरी छुट्याउनुको कारण याकले गर्मी पटक्कै सहँदैन । चौंरी हिमालमा रहन सक्दैन । याकलाई हिउँदमा भारी बोकाउन मिल्दैन । भारी बोकाएको खण्डमा शरिरको भुत्ला झर्छ र शरिरमा घाउ भएर रोगाउँछ । चाँडो मर्छन् । चौंरीलाई यो वेला भारी बोकाउन सकिन्छ । त्यसैले गुफापोखरीको बाघखोला बस्ति माथीको खर्कमा चौंरीका गोठ भेला हुन थालेका छन ।

याककालागि बस्ती रहने, कम हिउँ पर्ने र सजिलो खर्कको खोजिमा संखुवासभा पुर्‍याउने गरेको पापुङका धार्कला शेर्पा वताउँछन । यिनीहरू यति सम्वेदनसिल हुन्छन् की भैंसीले खाएको आहालको पानी खाए पनि रोगाउँछन् । भारी हिउँ पर्ने भएमा उनीहरूले पहिल्यै थाहा पाउँछन । आफ्नो समुहका याक वरिपरि गोलो घेरा लगाएर बस्छन । जव हिउँ पर्न रोकिन्छ, सिङले उदिनेर हिउँ फाल्दै वाहिर निस्कन्छन । उनीहरूले योबेला नुनको धेरै अपेक्षा गर्ने ओलाङचुङगोलाका नुपु शेर्पा बताउँछन ।

हिउँ नपरेको तर अधिक चिसो भएको बेला ठुलो रुख, ढुंगा र ओडारको आड लागेर बस्छन । हिउँमा पुरिएर निस्किएपछि घाँसको खोजीमा निस्कन्छन । योवेला हिउँले नुहाएको मालिङगोको घाँस उनीहरूलाई सहज हुन्छ । त्यो घाँस खोज्ने क्रममा अप्ठेरो भिर तिर जाने र लड्ने जोखिम पनि तेत्तिकै हुने नुपुको अनुभव छ । उनले भने, ‘त्यस्ता गौंडाहरू सम्भव भएसम्म हिउँ नपर्दै अग्लो घोचा, किला गाडेर बार्ने गरिन्छ ।’

हेरालोलाई योबेला चनाखो भइदिन अनुरोध गर्ने गरेको पनि नुपु बताउँछन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला, याङमाका बासिन्दाले पनि यो बेला चौंरी र याकलाई फरक खर्कमा पुर्याउँछन । दुहुना र कमजोरलाई घरको तलामा ल्याएर बाँधिन्छ । चिसोले खाएपछि वस्तुलाई उठ्न कठिन हुने भएकाले विशेष निगरानी गर्ने गरेको नुपु बताउँछन् । ‘हिमाली क्षेत्रको मुख्य आयस्रोत र व्यवसाय पशुपालन भएकाले रेखदेखमा ध्यान पुर्‍याउनुपर्छ,’ पापुङका धार्कलाले भने ।

हिउँद र वर्षा दुवै सिजनमा भारी बोकाउने, दूध र मोहीबाट छुर्पी बनाउने, चमरका रूपमा चौंरीको पुच्छर बेच्ने र बाछाबाछी बिक्री गरेर आम्दानी गर्ने हिमाली क्षेत्रका बासिन्दाले बर्खायाममा भने ५२ सय मिटर उचाइसम्म चौंरी चराउन लैजाने गरेका छन् । त्यही बेला पर्यटक र स्थानीयको भारी बोकाउँछन् । औलमा भने हिउँदको सिजनमा लेकबाट अलैंची, धुपीलगायत सामान औल झार्ने र औलबाट चामल, नुनलगायत खाद्य सामग्री गाउँमा लैजाने गर्छन् ।

प्रकाशित : पुस १२, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?