कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एमालेबाहेक देशमा कोही कम्युनिस्ट छैन : ओली

अर्जुन राजवंशी

बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा एमाले बाहेक अरु कम्युनिस्ट पार्टी नै नभएको जिकिर गरेका छन् । उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बामदेव गौतम र झलनाथ खनालहरू वामपन्थी नभई 'हामपन्थी' भएको आरोप लगाए ।

एमालेबाहेक देशमा कोही कम्युनिस्ट छैन : ओली

शनिबार गृहजिल्ला झापाको बिर्तामोडमा एमाले जिल्ला कमिटीले आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस क्रममा उनले मुलुकमा अहिले एमाले बाहेक वामपन्थी नै नभएको दाबी गरेका हुन् । ‘कम्युनिस्ट सरकार ढालेर । वामपन्थी सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरू वामपन्थी हुन् ? कांग्रेस वामपन्थी हो ? कांग्रेसको पछि लाग्ने वामपन्थी हुन्छन् भने माउ चाहिँ त खाँटी वामपन्थी हुन्छन् होला नि त ?’ कांग्रेसको पछि लाग्नेहरू वामपन्थी नभई हामपन्थी भएको उनको आरोप थियो।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपाल, पुष्पकमल दाहाल, बामदेव गौतम र झलनाथ खनाल एमाले नेतृत्वको सरकार ढाल्ने मुख्य आयोजक भएको पनि उनको आरोप थियो ।

पाँच दलीय गठबन्धन देशको अहिलेको मूल प्रतिक्रियावादी शक्ति भएको पनि ओलीको आरोप छ । र गठबन्धन देशका लागि हानिकारक रुपमा अघि बढेको पनि बताए ।

यस्तै फागुनमा गराउनुपर्ने स्थानीय चुनाव गठबन्धन सरकारले मंसिरमा पुर्‍याउने चलखेल गरिरहेको पनि उनले आरोप लगाए ।

‘यिनीहरू समयमा निर्वाचन गराउने नीतिमै छैनन् । यिनीहरूलाई लोकतन्त्रसँग कुनै मतलब छैन’ ओलीले भने,‘स्थानीय तहको निर्वाचन ऐन कानुन बमोजिम भन्ने हो भने फागुनमा गर्नुपर्ने हो । तर, यिनीहरूले मंसिरमा पुर्‍याउने स्थिति छ ।’

ओलीले निर्वाचन आयोगले चुनाव गराउनुपर्ने पटकपटक जानकारी गराउँदा समेत सरकार मुखमा भोटे ताल्चा लगाएर बसेको टिप्पणी गरे । ‘निर्वाचन आयोगले चुनाव गर्नुपर्छ भनिरहेको छ, सरकार चुप लागेर बसेको छ । मुखमा भोटे साँचो लाएर । कहिले गर्छ निर्वाचिन ?’ उनले सोधे । यस्तै उनले गठबन्धनमा आवद्ध दलहरूलाई ‘पञ्चरंगी’ र ‘पश्चगामी तत्व'को संज्ञा दिए ।

प्रकाशित : पुस १०, २०७८ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?