३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उकालो चढ्दै कालाजार, डेंगु

१५ सय मिटर उचाइमाथि पनि रोग देखिन थालेपछि सर्वसाधारणमा त्रास
कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण–१२ स्थित भैरवटोलका नेत्रबहादुर नेम्वाङलाई एक्कासि ज्वरो आयो । जचाउन ओखलढुंगा सामुदायिक अस्पताल मिसन पुगे । उनलाई डेंगु भएको पुष्टि भयो । मंसिरको जाडोमा सदरमुकाम छोडेर कतै नगएका उनी लामखुट्टेबाट सर्ने रोग लागेकोमा अचम्मित भए ।

एकरात अस्पताल बसेर उनी हाल घरमै आराम गरिरहेका छन् । सोही ठाउँका माधव मास्केलाई पनि मंसिरमा डेंगु पुष्टि भएको थियो ।

यसै वर्ष जिल्लामा पहिलो पटक देखिएको डेंगुबाट मंसिरमा ६ जना संक्रमित भए । साउनयता ८ जना डेंगुका बिरामी उपचारका लागि मिसन अस्पताल आएको अस्पतालका तथ्यांक अधिकृत फणिन्द्र दानीले बताए ।

समुद्री सतहदेखि १ हजार ५ सय मिटरको उचाइमा रहेको सदरमुकामक्षेत्रमै डेंगु देखिन थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । त्यसो त गत वर्षदेखि ओखलढुंगामा स्क्रबटाइफसका बिरामी देखिएका छन् । गर्मी ठाउँमा हुने किर्नाको टोकाइबाट सर्ने स्क्रबटाइफस सन् २०२० मा ५ जनामा देखिएको थियो । २०२१ मा संख्या तेब्बर भएर १५ जनामा पुग्यो । डेंगु देखिनुमा लामखुट्टे चिसो ठाउँमा बाँचेर बसेको वा अन्तैबाट यातायातका साधनसँगै आइपुगेको हो भन्ने यकिन छैन ।

‘यसै भन्न सकिने अवस्था रहेन । मान्छेको बाक्लो आवतजावतसँगै लामखुट्टे पनि विभिन्न सवारी साधन भएर आइपुगेको हुन सक्छ,’ ओखलढुंगा सामुदायिक अस्पतालका चिकित्सक महेश्वर गोसाईंले भने, ‘अथवा तराईबाट आएका उतैबाट संक्रमित भएर आएको पनि हुनसक्छ ।’

पाँच वर्षअघि मानेभन्ज्याङ–५ रिचुवामा एक जनामा कालाजार देखिएको थियो । समुद्री सतहदेखि करिब ८ सय मिटर माथिको उचाइमा देखिएको कालाजार अहिले मानेभन्ज्याङ गाउँपालिका क्षेत्रमा फैलिएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा तीन वर्षभित्र ७४ जना कालाजारका बिरामी उपचारका लागि आएका छन् । त्यसमध्ये मानेभन्ज्याङ गाउँपालिकाकै ६४ जनामा कालाजार पुष्टि भइसकेको छ । तीन वर्षअघि १० जनामा कालाजार देखिएकोमा गएको दुई वर्षमा ५४ जना बिरामी मानेभन्ज्याङ गाउँपालिकामा पुष्टि भइसकेका छन् ।

अन्य कालाजारका बिरामीहरू खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको दूधकोसी किनारक्षेत्र र उदयपुरको कटारी नगरपालिकाको सुनकोसी नदी किनारक्षेत्रका छन् । मानेभन्ज्याङ–५ बाट सुरु भएको कालाजार अहिले ७ वटै वडामा फैलिसकेको छ ।

मानेभन्ज्याङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालका अनुसार १ र ४ वडामा मात्र देखिन बाँकी छ । कालाजार बर्सेनि उचाइमा सर्दै गएको दाहालले बताए । प्रदेशस्थित स्वास्थ्य निर्देशनालय बजेटको उपलब्ध गराउने भने पनि हालसम्म बजेट प्राप्त नभएको उनले बताए ।

स्वास्थ्य निर्देशनालय प्रदेश १ का प्रमूख ज्ञानबहादुर बस्नेतले कालाजारलाई सन् २०२५ मा नेपाललाई मुक्त गराउने सरकारी लक्ष्य रहेको बताए । तर पहाडी जिल्ला ओखलढुंगा र कालीकोटमा यो समस्या जटिल भएकोले यस विषयमा केन्द्रीयस्तरमै छलफल भइरहेको उनले बताए ।

बस्नेतले दातृ निकायसँग मिलेर विषादी छर्किने, झुल वितरण गर्ने, चेतनामूलक कार्यक्रम गर्ने प्रस्ताव भएको बताए । ‘यो काम छिट्टै गर्ने गरी हामीले तयार गरिरहेका छौं,’ प्रमुख बस्नेतले भने, ‘सरकारले दिने भनेको यातायात र उपचारबापतको अपुग बजेट पनि केन्द्रमा माग भइसकेको छ ।’

प्रकाशित : पुस १०, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?