१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

युवन्तिकाको हिमाल चढ्ने अभियान

विप्लव भट्टराई

इलाम — बाल्यकालदेखि नै साहसिक काम गर्न रुचाउने इलामको सूर्योदय नगरपालिका–१० की युवन्तिका तामाङको ध्याउन्न यति बेला सर्वोच्च शिखर सगरमाथा चढ्नेमा छ । 

युवन्तिकाको हिमाल चढ्ने अभियान

इलाइट हिमालय एक्सपिट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहेकी उनी भर्खरै मात्र सगरमाथाको लोबुचे पिकसम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण गरेर फर्किएकी छन् ।

‘यही अनुभवका आधारमा पनि म सगरमाथा चढ्न सक्छु भन्ने हिम्मत पलाएको छ,’ तीन महिने थप कोर्सकालागि काठमाडौं जाने तयारीमा रहेकी युवन्तिकाले भनिन्, ‘हिमाल भन्दा टाढा रहेका हामीलाई सहज नभए पनि मलाई यो गर्न सक्छु भन्ने विश्वास छ ।’

विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन तामाङले आगामी अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने भएकी हुन् । साहसिक काम गर्ने सौखसँगै इलामको पर्यटन प्रर्वधनमा सहयोग पुगोस भन्ने उद्देश्यले सगरमाथा आरोहणको अभियानमा जुटेको उनको भनाई छ । सगरमाथा आरोहणकालागि उनी जिल्लाकै पहिलो महिलाकोरुपमा पहल गरिरहेकी छन् ।

सगरमाथा आरोहण गर्ने जस्तो साहसिक काममा लागेकी उनलाई घर परिवार र स्थानीयबाट पनि उत्साह थपिएको उनको अनुभव छ । सगरमाथा आरोहण खर्चिलो हुने भएकाले विभिन्न संघसंस्था र सरोकारवालासँग आवश्यक खर्च व्यवस्थापनकालागि पहल गरिरहेको उनले जानकारी गराइन् ।

यो अभियानमा उनलाई करिव ३५ लाख रुपैयाँको खाँचो छ । ‘जिल्लाबाट पहिलो महिला आरोही बनेर सगरमाथाको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउने हिम्मत लिएको छु,’ सवैको साथ सहयोग पाए अवश्य सपना पूरा हुनेछ ।’

प्रकाशित : पुस १०, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?