कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्वास्थ्यचौकी भवनमा प्राविधिक शिक्षा

विद्यार्थीलाई बासको समेत समस्या
चन्द्र कार्की

तेह्रथुम — पाँचथर फिदिमकी सीमा राई प्राविधिक शिक्षा अध्ययनका लागि तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा खुलेको बहुप्राविधिक शिक्षालयमा भर्ना भइन् । राई कोठा खोज्दै दुर्गम गाउँबस्तीका घर चाहर्दै छिन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर दुई वर्षअघि शिक्षालय सञ्चालनमा ल्याइएको हो । तर यहाँ बास एवं अन्य भौतिक पूर्वाधारको समस्या छ ।

अन्यत्रबाट अध्ययनका लागि आएका ८० विद्यार्थीले दुई वर्षदेखि बसाइ समस्याको सामना गर्दै आएका छन् । शिक्षालय सञ्चालनका लागि आवश्यक आधारभूत भौतिक संरचना निर्माण नगरी कक्षा सञ्चालन गर्दा शिक्षक एवं विद्यार्थीलाई गाह्रो भएको छ । स्थानीय स्वास्थ्यचौकीको पुरानो भवनमा विद्यार्थीले अध्ययन गर्दै छन् ।

तत्कालका लागि शिक्षालयले स्वास्थ्यचौकीको पुरानो भवनलाई प्रयोगमा ल्याएको वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए । कार्यालय सञ्चालनका लागि वडाध्यक्ष भट्टराईले आफ्नै घर भाडामा शिक्षालयलाई दिएका छन् । तेह्रथुमसहित पाँचथर र ताप्लेजुङका विद्यार्थीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शिक्षालयमा अहिलेसम्म भवन बनेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली गत वर्ष फागुन ११ मा आफ्नो जन्मदिन मनाउन जन्मघर इवा आउँदा बहुप्राविधिक शिक्षालय स्थापनाको घोषणा गरेका थिए ।

शिक्षकलाई क्वार्टर र विद्यार्थीका लागि होस्टलको सुविधा नहुँदा कठिन भइरहेको शिक्षालय प्रमुख शिव पाण्डेले बताए । उनले भने, ‘आसपासका गाउँमा पनि बस्ती पातलो भएकाले कोठा पाउनै गाह्रो छ ।’ यो गाउँ विकासमा निकै पछि छ । सुविधा र अवसरको खोजी गर्दै धेरै गाउँले पूर्वी तराईमा बसाइँ सरेका छन् । भएका घर पनि साँघुरा र जीर्ण छन् । भाडामा लगाउने गरी कसैले पनि घर नबनाएकाले विद्यार्थी र कर्मचारीलाई कोठा पाउन समस्या भएको वडाध्यक्ष भट्टराईले बताए ।

पहिले आवश्यक भौतिक संरचना निर्माण गरेर मात्र कक्षा सञ्चालनमा ल्याइएको भए यस्तो अप्ठ्यारो अवस्था भोग्नु नपर्ने शिक्षालय प्रमुख पाण्डेको भनाइ छ । टाढा बसेका विद्यार्थी ओसार्नका लागि गाडी पनि छैन । कक्षा ११ र १२ मा बाली र पशु विज्ञान पढाइ भइरहेको बहुप्राविधिक शिक्षालयको १ नम्बर प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । तर त्यसपछि प्रदेश सरकारले पनि भौतिक संरचना निर्माण गर्नेतर्फ कुनै सहयोग नगरेको स्थानीयको गुनासो छ ।

शिक्षालय सञ्चालनमा आउँदा पहाडी जिल्लाका विद्यार्थी कम खर्चमा गाउँमै प्राविधिक शिक्षा लिने अवसर पाइने भन्दै हौसिएका थिए । तर अहिले अवस्था त्यस्तो छैन । केपी ओली ट्रस्टले शिक्षालयलाई इवाको तीनसल्लेमा भवन निर्माणका लागि ३० रोपनी जमिन उपलब्ध गराएको छ । भवन निर्माणका लागि पहिलो चरणमा ६ करोड ६९ लाख रुपैयाँ बजेट स्वीकृत भएर टेन्डर लागेको छ । तर भवन निर्माण हुन समय लाग्ने वडाध्यक्ष भट्टराईको भनाइ छ । शिक्षालयले भवन अभावमा प्रयोगशालाका सामान जडान गर्न सकेको छैन ।

सीटीईभीटीअन्तर्गत इवामा ५९ औं बहुप्राविधिक शिक्षालय स्थापना भएको हो । कक्षा सञ्चालन भएको पहिलो वर्ष पूर्वका विभिन्न जिल्लाबाट १ सय ३६ बढी विद्यार्थीले भर्नाका लागि आवेदन दिएका थिए । तर दोस्रो वर्ष शिक्षालयले भर्ना आह्वान गर्दा पर्याप्त विद्यार्थी आएनन् । बाली र पशु दुवै समूहमा ८० जनालाई मात्र भर्ना लिने गरेको शिक्षालयले दोस्रो वर्षमा कोटा पूर्ति हुने गरी विद्यार्थी पाउन सकेन । धेरै असुविधा र समस्या भोग्नुपरेकाले यो वर्ष भर्नाका लागि विद्यार्थी कम आएको हुन सक्ने शिक्षालय व्यवस्थापन पक्षको भनाइ छ ।

प्रकाशित : पुस ४, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?