थारू संग्रहालयमा अवलोकनकर्ता बढे

संग्रहालयभित्र जन्मदेखि मृत्युसम्मका गतिविधि, गाउँको झल्को दिने परम्परागत घर, देउताघर, इनार, माछापोखरी, थारू संस्कृति र संस्कारलाई झल्काउने सामग्री राखिएका छन्

सुनसरी — पूर्वका थारू चौधरीका इतिहास, कला, संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्न चाहनेहरू सुनसरीको रामधुनी नगरपालिका–२ स्थित शिवनगर बस्तीको थारू संग्रहालय पुग्छन् । यहाँ प्रायः भीडभाड भइरहन्छ । आदिवासी जनजाति समुदायमध्ये पूर्वका थारू, चौधरी समुदायले आफ्नो जीवनशैली झल्काउन संग्रहालय तयार पारेका हुन् ।

थारू संग्रहालयमा अवलोकनकर्ता बढे

संग्रहालय भवन निर्माण र पुराना सामग्री जुटाउन सक्रिय शिवनगर माविका पूर्वप्रधानाध्यापक फागुलाल चौधरीका अनुसार करिब ४ सय वर्षदेखि बसोबास रहेको स्थानमा संग्रहालय निर्माण गरिएको हो । रामधुनी नगरपालिकामा ६० प्रतिशत थारू जातिको बसोबास छ । उनले भने, ‘थारू चौधरीका आधुनिक पुस्ताले पुर्खाहरू कस्ता थिए, तत्कालीन जीवनशैली कस्तो थियो, रहनसहन खानपान, कला सांस्कृतिक, भाषा कस्तो थियो भनेर अध्ययन गर्ने थलोको रूपमा यो संग्रहालय स्थापना गरिएको हो ।’

आधुनिकताको प्रभावले मौलिकता लोप हुँदै गएकाले संरक्षण एवं प्रवर्द्धनका लागि यसको निर्माण गरिएको संग्रहालयका अध्यक्ष फागुलाल चौधरीले बताए । ‘थारू जातिको गरगहना, भाषा, पहिरन, विवाह विधि लोप हुँदै छन्,’ उनले भने, ‘नयाँ पुस्तालाई थाहा दिन संग्रहालय बनाउनुपर्छ भनेर सुरु गरेका छौँ ।’ उनले नयाँ पुस्तालाई पुर्खाको जीवनशैली देखाउन संग्रहालय बनाउनुपरेको बताए । उनले भने, ‘पुराना जीवनशैलीको केही अंशबाहेक सबै मेटिन थालेपछि संग्रहालय निर्माणमा जुटेर यतिसम्म गरेका छौं ।’

निर्माण र पुराना सामग्री संकलनमा थारू समुदायका शिक्षक, कर्मचारी, चित्रकार, मूर्तिकार, राजनीतिकर्मी, स्थानीयलगायतको महत्त्वपूर्ण योगदान छ । चौधरीका अनुसार शिवनगरमा तीन वर्षअघि आदिवासी जनजाति संग्रहालय निर्माण सुरु भएको थियो । समाजलाई नजिकबाट चिन्न र विद्यार्थीलाई समेत सिकाउनका लागि फागुलालले आदिवासी जनजाति (थारू) हरूको संगहालय बनाउने योजना अघि सार्दा स्थानीयले समेत सहयोग गरे ।

सुरुमा आदिवासी संग्रहालय बनाउने योजना भए पनि अहिले भने उक्त स्थान थारू चौधरी समुदायको ऐतिहासिक स्थल भएकाले थारू जातिको मात्र संग्रहालय स्थापना गरिएको हो । संग्रहालयभित्र जन्मदेखि मृत्युसम्मका गतिविधि, गाउँको झल्को दिने परम्परागत घर, देउताघर, इनार, माछापोखरी, थारू समुदायका संस्कृति र संस्कारलाई झल्काउने सामग्री राखिएका छन् । कतिपय सामग्री अर्पाप्य भएकाले इतिहासका अधारमा त्यसलाई भित्तेतस्बिर र चित्रकलामार्फत दर्साइएको छ ।

संग्रहालयमा थारू समुदायले कृषि र यातायातको रूपमा प्रयोग गरेका ६० वर्ष पुरानो गोरुगाडा, सन्दुक (बाकस), माटाका पुराना परम्परागत भाँडाकुँडा, चुलो, जमिन जोत्न र खन्न प्रयोग हुने औजारहरू र ढकियालगायतका परम्परागत वस्तु राखिएका छन् । मुसहर, सरदार र चौधरी जातिले पुज्ने भगवान्को प्रतिमासमेत राखिएको छ । संग्रहालय निर्माणका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ, रामधुनी नगरपालिकाले ७ लाख रुपैयाँ र जनस्तरबाट ८ लाख रुपैयाँ प्राप्त भएको थियो । संग्रहालयमा चित्र स्थानीय चित्रकार हरिशंकर चौधरीले र मूर्तिहरू सुरेशकुमार चौधरीले बनाएका हुन् ।

थारू समुदायका नयाँ पुस्तालाई संस्कृति र जीवनशैली बुझ्न सघाउ पुग्ने आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष रामकुमार माण्डुपाले बताए । आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष धीरेन्द्र चौधरी संस्कृति र संस्कारले मानवीय मूल्य र मान्यतालाई स्थापित गर्ने भएकाले संग्रहालयको महत्त्व नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने बताए । नजिकै वडा समितिको संरक्षणमा रहेको ८ कठ्ठा जग्गा पनि संग्रहालयलाई भोगचलन गर्न दिने सहमति भएको छ । त्यहाँ पूर्वका थारू समुदायको मौलिक खानपान र संस्कृति झल्काउने होमस्टे निर्माणका लागि पनि पहल सुरु भएको छ । फागुलालका अनुसार स्थानीय थारू समुदाय मौलिकता झल्कने अन्य संरचना निर्माणमा जुट्ने तयारीमा छन् ।

थारू समुदायको खानपान, रहनसहन, भेषभूषा र सांस्कृतिक पक्षलाई समेटेर एक गैरसरकारी संस्थाले होमस्टे सञ्चालनमा ल्याउन पहल गरिररहेका छन् । संग्रहालय निर्माणले बाह्य र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको स्थानीय चित्रकार हरिशंकर चौधरी बताए ।

प्रकाशित : पुस १, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?