१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उहिले मजदुर, अहिले सफल किसान

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिकासँग सीमा जोडीएको धनकुटाको महालक्ष्मी नगरपालिका– १ घुमाउने गाउँका हरेक घरमा उन्नत जातका दुधालु गाई पालिएका छन् । सुरुमा भैंसीपालन गरेका किसान पछिल्लो समय गाईपालनमा आकर्षित भएका छन् ।

उहिले मजदुर, अहिले सफल किसान

घुमाउनेका २ सय बढी घरपरिवार गाईपालन व्यवसायमा लागेका छन । सबैले ग्वाली, गोठ र घरै बनाएर ५ देखि २० माउसम्म पालेका छन् । किसानले प्रतिगोटा ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका गाई पालेको वडा अध्यक्ष टेकबहादुर गुरुङले बताए । अध्यक्ष गुरुङले पनि प्रतिगोटा १ लाख ५० हजार रुपैयाँ पर्ने ८ माउ गाई पालेका छन् ।

यी गाईले दैनिक ३ सय लिटर दूध दिने गरेको उनले बताए । सरोबर गाई फार्म सञ्चालन गरेका गुरुङले उत्पादित दूध बजार र दुग्ध विकास संस्थानसम्म पुर्‍याउन घरमै दूध संकलन केन्द्र सञ्चालनमा ल्याएका छन् । यो केन्द्रमा अन्य गाउँलेले समेत दुध ल्याउँछन । उनी दैनिक १५ हजार रुपैयाँको दूध बिक्री गर्छन् । गुरुङले मासिक रूपमा ४ लाख ५० हजार रुपैयाँको दूध बिक्री गरिरहेको बताए ।

गाईपालनमा लागेका किसानले दुध र पैसाको अतिरिक्त गोबर मलसमेत पाएका छन । कम्पोस्ट मल प्रयोग गरी एक किसानले बर्खामा १५ देखि ३ सय रोपनीसम्मको जग्गामा व्यावसायिक तरकारी खेती गर्छन् । गाई पालनमा लागेका किसानका सबै परिवारले आफ्नै घर र फार्ममा रोजगारी पाएको वडा अध्यक्ष गुरुङले बताए ।

पुर्खाले परम्परागत रूपमा गर्दै आएको पशुपालन व्यवसायको सिको गरेर उनीहरूका सन्तानले गाई र भैंसी पालन गर्ने सीप सिकेको घुमाउनेमै गाई फार्म चलाएका गोविन्द पौडेलले बताए । पौडेलले आफ्नो फार्ममा २० माउ गाई पालेका छन् । उनले पनि बजार र दुग्ध उद्योगसम्म दूध

पुर्‍याउन चिस्यान केन्द्र सञ्चालन गरेका छन् ।

व्यावसायिक गाई र भैंसीपालन व्यवसाय तालिमबिनै होमिएका धेरै किसानले अघिल्लो पुस्ताबाट पशुपालनसम्बन्धी ज्ञान सिकेका हुन् । तातो पानीका लागि घरघरमै सोलार जडान गरिएको छ । एक्लैले पशुपालन व्यवसाय सम्भव नभएपछि परिवारका सदस्यबीच सहकार्य गरी कामको विभाजन गरिएको छ ।

सबै जना काममा सहभागी हुने हुँदा पशुपालन व्यवसायका लागि चाहिने प्राविधिक ज्ञानसमेत सबैले बटुलेका छन् । गुरुङ समुदायको बाहुल्य भएको यहाँका हरेक किसानले दूध बिक्री गरेर मासिक रूपमा १२ हजारदेखि ४ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । ‘यहाँका किसानको आम्दानी देखेर बैंक तथा वित्तीय संस्थाहरू ऋण दिन घरघरमै पुग्छन्,’ वडा अध्यक्ष गुरुङले भने ।

सुरुका दिनमा अरूकोमा गएर ज्याला मदजुरी गर्ने धेरै किसानले अहिले तरकारीखेती र पशुपालनका लागि कामदार राखेका छन् । थोरै जमिन हुनेहरूले थप जोडेका छन् । दूध खरिदका लागि व्यापारीहरू गाउँको संकलन केन्द्रसम्म आउँछन् । पशुपालन व्यवसायमा जोखिम कम होस् भनेर सबै किसानले आफूले पालेका गाईभैंसीको बिमा गराएका छन् । व्यावसायिक तरकारीखेती र पशुपालन व्यवसायलाई सँगसँगै लगेका यहाँका २ सयबढी किसानले कृषि पेसालाई दैनिकीसँग जोडेर अघि बढेका छन् ।

प्रकाशित : मंसिर २६, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?