१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बीपीका विज्ञ चिकित्सक नै बेरोजगार

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक र ओपीडी कक्षमा अधिकांश सेवाग्राहीहरूको गुनासो हुन्छ, ‘प्रतिष्ठानमा सहज रूपमा उपचार गर्न पाइएन, मेडिकल उपकरण नभएको र ल्याब टेस्ट हुँदैन भनेर अन्यत्र रेफर गरेर झन् सास्ती मात्र दियो, खर्च पनि बढायो ।’

बीपीका विज्ञ चिकित्सक नै बेरोजगार

प्रतिष्ठान आफैं पूर्वको रेफरल सेन्टर हो । तर प्रतिष्ठानमा ‘सुपर स्पेसियालिटी’ सेवा दिने दक्ष चिकित्सकहरू हुँदाहुँदै पनि व्यवस्थापकीय कमजोरी र पदाधिकारीको बेवास्ताले बिरामी अन्यत्र पठाइन्छ । सेवाग्राहीले गुणस्तरीय उपचार नपाएर उल्टै सास्ती पाएका गुनासा एकातिर छ, अर्कोतिर प्रतिष्ठानमै कार्यरत सुपर स्पेसियालिटी सेवा दिन भनेर आएका विज्ञ चिकित्सकहरूको पीडा झन् धेरै छ ।

रेफरल सेन्टर भनिए पनि बिरामी अन्यत्र पठाइरहेको प्रतिष्ठानले आफैंसँग भएका विज्ञ चिकित्सकलाई उपचार सेवा दिने गरी व्यवस्थापन गर्न सकेको छैन ।

कोही चिकित्सक प्रतिष्ठानकै छात्रवृत्तिमा त कोही आफ्नै खर्चमा, फेलोसिपमा आधुनिक चिकित्साशास्त्रका विभिन्न विषयमा विज्ञ भएर आए पनि समयानुकूल चिकित्सकीय उपकरण एवं भौतिक पूर्वाधार नहुँदा उपचार गर्न नपाएपछि एक प्रकारले ‘बेरोजगार’ जस्ता भएका छन् । मासिक तलबभत्ता सुविधा भने पाइरहेका छन् ।

प्रतिष्ठानमै एमबीबीएस र एमडी गरेपछि प्रतिष्ठानकै छात्रवृत्तिमा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) बाट इन्टरभेन्सनल न्युरो रेडियोलोजीमा डीएम गरेर आएका एसिस्टेन्ट प्रोफेसर डा. निशान्त मिश्रले भने, ‘बीपीमा आएको साढे तीन महिना भयो तर सीप र दक्षताअनुसार काम गर्न नपाएपछि सामान्य भिडियो एक्सरे गरेर दिन बिताउन बाध्य छु, दक्षताअनुसारको काम नपाउँदा छटपटाउँदै बस्नुपरेको छ ।’

छात्रवृत्तिमा पढेकाले उनले पाँच वर्ष प्रतिष्ठानमा सेवा दिनुपर्ने प्रावधान छ । छाडेर गएमा पाँच वर्षको हर्जाना प्रतिवर्षको ५० लाख रुपैयाँका दरले अढाई करोड तिर्नुपर्छ । उनले भने, ‘कुनै निजी अस्पतालका सञ्चालकले मलाई लैजान अढाई करोड रुपैयाँ ठूलो रकम होइन, अफर पनि नआएको होइन तर प्रतिष्ठानको नुन खाएकाले यही सेवा गर्नुपर्छ भनेर बसेको छु ।’

डा. मिश्र टाउकोमा हुने मष्तिस्कघात, टाउकोभित्र रगतको फोका ‘एन्युरिज्म कोइलिङ’ ‘इन्ट्रा आर्टेरियल केमोथेरापी’ र आँखामा हुने ‘रेटिनो ब्लास्टोमा क्यान्सर’को उपचार पद्धति जान्ने सुपर स्पेसियालिस्ट हुन् । तर दुर्भाग्य प्रतिष्ठानले उनको दक्षताअनुसारको भौतिक पूर्वाधारका लागि आवश्यक मेडिकल उपकरण उपलब्ध नगराए पछि सामान्य एक्सरे र भिडियो एक्सरे गरेर बस्न बाध्य छन् । उनले भने, ‘प्रतिष्ठानमा उपचार गर्नुपर्ने खालका बिरामीहरू दैनिक आउँछन् तर बाइप्लान क्याथल्याब भन्ने मेडिकल उपकरण नभएपछि के नै पो गर्न सक्छु र ?’

उनका अनुसार प्रतिष्ठानमा बाइप्लान क्याथल्याब भएमा मस्तिष्कघात भएको ६ घण्टाभित्र ल्याइपुर्‍याए रगतको नसाबाटै तारमार्फत टाउकोमा जमेको रगत निकालेर तीन दिनमा डिस्चार्ज दिन सकिन्छ । उनको विज्ञताअनुसार टाउकाको हड्डी नखोली (नफोरी) मस्तिष्कघात, टाउकोभित्र रगतको फोका ‘एन्युरिज्म कोइलिङ’ ‘इन्ट्रा आर्टेरियल केमोथेरापी’ र आँखामा हुने ‘रेटिनो ब्लास्टोमा क्यान्सर’ को सहजै उपचार गर्न सकिन्छ । रेटिनो ब्लास्टोमा क्यान्सरका लागि पनि रगतकै नसाबाट तारको माध्यमले सही ठाउँमा औषधि पुर्‍याएर उपचार गर्न सक्ने सीप पनि उनैसँग छ ।

प्रतिष्ठानले बाइप्लान क्याथल्याब नराखेसम्मका लागि मस्तिष्कघात भएकालाई मात्र भए पनि प्रतिष्ठानमा रहेको कार्डियोलोजी विभागको क्याथल्याब प्रयोग गर्न दिए हुन्थ्यो भन्ने उनको माग छ । तर सुन्ने कसले ? मस्तिष्कघातसम्बन्धी उपचार गर्ने यो पद्धतिमा उपचार गर्ने नेपालमा उनीसहित तीन मात्र छन् । दुई काठमाडौंका अस्पतालमा छन् ।

नेपालकै एक मात्र न्युक्लियर मेडिसिनका विशेषज्ञ चिकित्सक डा. अरुण गुप्ताको अवस्था उस्तै छ । अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्सबाटै एमडी गरेपछि उनले प्रतिष्ठानकै छात्रवृत्तिमा सन २०१८ मा दक्षिण कोरियाको मेडिकल युनिभर्सिटीबाट न्युक्लियर मेडिसिनमा विद्यावारिधि गरेका चिकित्सक हुन ।

प्रतिष्ठानका छात्रवृत्तिमा विद्यावारिधि गरेकाले फर्केर उनी बीपी प्रतिष्ठानमा आए । उनले भने, ‘बीपीमा फर्केर आएपछि न्युक्लियर मेडिसिन विभाग स्थापना गर्न प्रयास गरें, पदाधिकारीलाई लिखित रूपमा विस्तृत विवरण पनि बुझाएँ, उपकुलपति डा. ज्ञानेन्द्र गिरीले त्यो विस्तृत अध्ययन प्रतिवेदनलाई विभागीय प्रमुखमार्फत ल्याऊ भने, ‘मैले त्यसैगरी बुझाएँ तर कसैले वास्ता गरेनन् ।’

नेपाल सरकारको परमाणु विज्ञान प्रविधि सल्लाहकार समितिका सदस्यसमेत रहेका डा. गुप्ताले सात महिनाअघि जापानमा आयोजित एसियन यङ इन्भेस्टिगेटर अवार्ड कमिटी २०२१ बाट प्रोत्साहन पुरस्कारसमेत पाएका थिए । नेपालमा न्युक्लियर मेडिसिनको आवश्यकता भइसके पनि कतिपयले नबुझेर र बुझेर पनि बेवास्ता गरेर महत्त्वहीन बनाइरहेको उनले बताए ।

उनले भने, ‘रेडियोधर्मी पदार्थ तथा विकिरणको प्रयोगसम्बन्धी मापदण्ड तयार गर्ने नियमनकारी संस्थाको आभावमा नै हाम्रो देशमा विभिन्न प्रकारका क्यान्सरहरूको सही र शीघ्र परीक्षणका लागि चाहिने उपकरणहरू (पेट स्क्यान, स्पेक्ट स्क्यान) र रेडियोन्युक्लाइड थेरापीको पद्धतिद्वारा थाइराइड, प्रोस्टेट, न्युरोइन्डोक्राइन जस्ता जटिल क्यान्सरहरूको उपचारमा प्रयोग हुने अत्यावश्यक रेडियोधर्मी पदार्थहरू इट्रियम, आयोडिन, लुटिसियम, रेहनियम, रेडियम आदि अझै उपलब्ध हुन सकेको छैन ।’

उनको अनुसार पछिल्लो समयमा सम्बन्धित विषयहरूमा स्नातकोत्तर तथा विद्यावारिधि गरेका दक्ष जनशक्तिहरू देशमा भित्रिरहेको भए पनि आवश्यक उपकरण र रेडियोधर्मी पदार्थहरू उपलब्ध नहुँदा एकातिर सेवाग्राहीहरूले आफ्नै देशमा उपचार पाउन सकेका छैनन् भने अर्कातिर त्यस्ता जनशक्तिहरू विदेश पलायन हुन बाध्य छन् ।

प्रतिष्ठानमा न्युक्लियर मेडिसिनबाट कुनै उपचार सेवा नभएपछि उनी अचेल निराश भएका छन् । चिकित्साशास्त्रको ‘हेड एन्ड नेक’ टाउको र घाँटीको शल्यक्रियासम्बन्धी विशेषज्ञता हासिल गरेका डा. दीपक पौडेल मुस्किलले सातामा एक पटक मात्र प्रतिष्ठानको अप्रेसन थिएटरमा बिरामी लिएर छिर्न पाउँछन् । ‘हेड एन्ड नेक’ विषयमा मात्र पढाइ र सिकाइ हुने भेल्लोरको क्रिस्चियन मेडिकल कलेजबाट विज्ञता हासिल गरे पनि प्रतिष्ठानमा उनले पूर्णरूपले काम गर्न नपाउनुको कारण अप्रेसन थिएटर अभाव र भएका पनि गुणस्तरीय नहुनु । उनले भने, ‘हेड एन्ड नेक’ समस्या भएकाको चाप भने अत्यधिक छ । तर प्रतिष्ठानमा पर्याप्त मात्रामा अप्रेसन थिएटर छैन । नौ वर्षदेखि बीपीमा कार्यरत भए पनि आफूले सिकेअनुसारको काम गर्न र उपचारमा संलग्न हुन नसक्दा कहिलेकाहीँ कस्तो संस्थानमा आइएछ भन्ने लाग्छ तर धैर्य गरेको छु ।’

दक्ष जनशक्ति हुँदाहुँदै पनि गुणस्तरीय उपचार सेवा पाउन सकिँदैन भन्ने गतिलो उदाहरण बनेको छ धरानको बीपी प्रतिष्ठान । भएको दक्ष जनशक्ति पनि बर्सेनि गुमाउँदै गएको छ । पछिल्लो समयमा युरोलोजीमा बीपी प्रतिष्ठान र गुजरातको युरोलोजी मेडिकलबाट एमसीएच गरेका बीपी प्रतिष्ठानका डा. सुधीर सिंहले दक्षताअनुसार उपचार सेवा दिने वातावरण नभएको भन्दै राजीनामा दिएर बसेका छन् ।

उनले भने, ‘मैले प्रतिष्ठानका पदाधिकारीलाई दुई वर्षअघि नै युरोलोजी सेवा विस्तार गर्न भनेर पुरै प्रस्ताव राखेको थिएँ, यसमा मुख्य गरी मिर्गौला प्रत्यारोपणको कुरा राखेको थिएँ तर काम गर्ने वातावरण नभएपछि राजीनामा ठोकें ।’ प्रतिष्ठानले मेडिकल उपकरण जडान गरिदिन्छ भने ‘मिर्गौला प्रत्यारोपण यही गर्न सक्छु, सकिन्छ’ भनेर कैयौं पटक व्यवस्थापन पक्ष र पदाधिकारीलाई निवेदन चढाउँदा पनि बेवास्ता गरेपछि प्रतिष्ठान छाडेर हाल घरमा बसेका छन् । प्रतिष्ठानले काम गर्ने वातावरण सिर्जना नगरिदिँदा एक दशकको अवधिमा डा. सुधीरजस्ता २५ भन्दा बढी चिकित्सकहरू अन्यत्र पलायन भएका छन् ।

प्रकाशित : मंसिर २३, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?