२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आकासियो तरकारीको मूल्य

सुनसरी — गत वर्ष यही सिजनमा गोलभेडाको थोक मूल्य ५५ देखि ६० रुपैयाँ थियो । तर यो बर्ष थोक मूल्य एक सय र खुद्रा १ सय २० रुपैयाँभन्दा बढी पुगेको छ । गत बर्ष किलोको ३५ मा पाइएको काउली यो वर्ष ६० रुपैयाँ छ ।

आकासियो तरकारीको मूल्य

सिजनमै तरकारी महगिंदा किलोमा किन्नेहरू पाउमा झरेका छन् । फलफूल तथा तरकारीको मुल्य अक्कासिंदा गृहिणीहरू तनावमा छन् । यी उपभोग्य सामग्रीको मुल्य झन्डै दोब्बर हुँदा आर्थिक भार बढेर बचत गर्न मुस्किल भएको धरान–१९ चौकीबारीकी उर्मिला लिम्बूले बताइन् ।

उनले भनिन्, ‘घिउसिमी, बोडी, टमाटर, बन्दाकोबी, प्याज, कम्तीमा एकएक केजी र एक मुठा साग किनेर ल्याउँछु भनेर बजार जाँदा पाँच सयको नोटले पुग्दैन । एकएक पाउ ल्याउँदा पुग्दैन ।’ उनले अघिल्ला वर्षहरूमा प्रतिकिलो १० रुपैयाँमा पाइने बन्दाको मूल्य ४० रुपैयाँ पुगेको बताइन् । धरान–१५ फूलबारीमार्गकी कोपिला कुलुङलाई पाँचसात जनाको परिवारलाई तरकारीका लागि मात्र दैनिक २ सय रुपैयाँ बढी खर्च गर्दा धान्नै गाह्रो भएको छ । उनकी छिमेकी गृहिणी अञ्जना लिम्बू भन्छिन्, ‘दुई वर्षअघि एक मुठा सागलाई २० रुपैयाँ पर्थ्यो, गत बर्ष त्यति नै सागको मूल्य बढेर ३५ रुपैयाँसम्म पुग्यो, यो वर्ष त ४५ देखि ५० रुपैयाँमा किन्नुपरेको छ ।’

सबैभन्दा महँगो धनियाँ छ । सय ग्राम बराबरको हरियो मुठाको धनियाको मूल्य गत वर्षभन्दा चार गुणाले बढेको छ । गत बर्ष २०–२५ रुपैयाँमा किनेर खाएको धनिया यो सिजनमा सय रुपैयाँ परेको उनले बताइन् । मूल्य बढ्नुमा बेमौसमी वर्षा मुख्य कारण रहेको धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?